भारतको असमसँग २६७ किलोमिटर, अरुणाचल प्रदेशसँग २१७ किलोमिटर, पश्चिम बंगालसँग १८३ किलोमिटर, सिक्किमसँग ३२ किलोमिटर समेत ६९९ किलोमिटर सीमा जोडिएको भुटानले यसरी फलामे डण्डीमा ढलान गरेर सीमामा पर्खाल बनाउन थालेको छ । यसरी ठूलो पर्खाल बनाएपछि अतिक्रमणको समस्या सदाका लागि हल हुनेछ ।
अति व्यस्त फुन्चोलिङ् क्षेत्र यही पर्खाल निर्माणका कारणले चकमन्न भएको छ । त्यसो त भारतले अगस्त ८, १९४९ मा दुवै देशबीच शान्ति र हस्तक्षेप नगर्ने नाममा गरिएको सन्धिमातहत भुटानको रक्षा र विदेश मन्त्रालयको जिम्मा भारतले लिएको छ । यही सन्धि अन्तर्गत ३३६ मेगावाटको चुखा जलविद्युत आयोजना भारतको सहयोगमा बनाइयो र भुटानले यस योजनाबाट बढीभन्दा बढी लाभ लिएर आर्थिक उन्नति गर्दै गएको छ । भुटानको वर्तमान परक्यापिटा इन्कम १० हजार ४ सय असी डलर छ । नेपाल विश्वमै दोस्रो ठूलो जलविद्युत शक्ति भएको मुलुक भएर पनि अझै लोडसेडिङको समस्या छ, परक्यापिटा इन्कम ४ हजार ६० रहेको छ । विश्वमै नेपाल–भारतबीच १८८० किलोमिटर खुला सिमाना छ । यही खुला सिमानाका कारणले नेपालको उन्नति हुन नसकेको हो ।
माओवादी जनयुद्ध समाप्त भयो । गृहयुद्ध छैन । लोकतन्त्र छ, संविधान छ, संसद र सरकार पनि छ । कानुन व्यवस्था भने खलबलिएको छ । इमान र नैतिकताको अभाव छ । यसकारण विदेशीले हेप्ने, दख्खल दिने, अनैतिक बन्न बाध्य पार्ने कार्य बढ्दै गएको देखिन्छ । ६६ हजार हेक्टर भूमि अतिक्रमण गरिसकेपछि भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्वाप्पै खाइसक्यो । यति ठूला ठूला क्रान्ति गर्ने पार्टीहरु सत्ता चलाउँछन्, १५ वर्षमा न देश सुरक्षित रह्यो, न नेपालको स्वाधीनता र सार्वभौमिकता नै सुरक्षित रहेको छ । बिस्तारै नेपाल शक्तिराष्ट्रहरुको मल्लयुद्ध गर्ने अखडा बन्न थालेको देखिन्छ ।