Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजतन्त्र फाल्ने नै राजतन्त्रवादी

१८ सोमबार , आश्विन २०७८३ बर्ष अगाडि

काठमाडौं । राजनीतिक शक्ति भनेका शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर नै हुन् । ससाना पार्टीहरूको शक्ति नगण्य छ । मूल शक्ति वा बैकल्पिक शक्ति यिनै हुन् । अर्को चुनावमा पनि नयाँ वैकल्पिक शक्तिका रूपमा कुनै पार्टी आउने सम्भाबना न्यून छ । राजनीति यिनकै वरिपरि घुमिरहेको छ । कहिले कोसँग को मिल्छन्, कहिले कोसँग कसले सेटिङ मिलाउँछन् । लोकतन्त्र यिनीहरूकै लागि आएको जस्तो छ ।
तर यिनले संविधानअनुसार चलाउन सकेनन् । संविधानलाई खेलौना बनाइदिए । जनादेशलाई उल्लंघन गरिदिए । संसद चलाउन सकेनन्, अदालतले सञ्चालन गरिदिनुप¥यो । संसदले सरकार दिन सकेन, परमादेशले सरकार दिनुप¥यो । यतिबेला यी आफू आफूमै यसरी तातेका छन् कि कसले कसलाई कुनबेला डाम्छ, लतार्छ, पछार्छ भन्न सकिने अवस्था रहेन । हरेक नेता एकदोस्रालाई गाली गरिरहेका छन्, असभ्यताको पराकाष्ठा नाघिरहेका छन् । लोकतन्त्रका अनुशासनमा कोही पनि बाँधिन चाहँदैनन् । छाडा बोलेर क्रान्तिकारी, अग्रगमनकारी हुनसकिन्छ भन्ने पीडा र निराशामा छन् ।
यथार्थमा नेताहरू जे बोलिरहेका छन्, त्यो तिनीहरूभित्रको असफलताको अभिव्यक्ति हुन् । देश बनाउने र लोकतन्त्र मजबुत पार्ने खाका कुनै पनि नेतासँग छैन, जे छ, कसरी सत्तामा जाने र सत्ता हाँक्ने भन्ने महत्वाकाङ्क्षमात्र छ ।
भारतको बिस्तारवाद, अमेरिकाको एमसिसी, चीनको बिआरआई, स्केण्डिनेभियन–युरोपियनको इसाईकरण, शान्ति व्यवस्था खलबलिदै गएको अवस्था । राजनीति र कूटनीतिक क्षमता समाप्त हुँदै गएको छ । नेताहरू असफलता लुकाउन अनेक चलाखी गरे पनि देशको स्थिति दिनदिनै बिग्रदै र भत्कदै गएको छ । कानुनव्यवस्थाप्रति विश्वास घट्ने क्रम रोकिएको छैन । जिम्मेवार र जवाफदेही बन्न कोही पनि तैयार देखिदैनन् । कहालीलाग्दो परिस्थिति देखेपछि देश छान्ने कि परिवर्तन ? देश लथालिङ्ग हुने भयो, वर्तमान राजनीतिले देश हाँक्न नसक्ने भयो भनेर मोहन वैद्यले प्वाक्क भनिदिए– राजा सिंहानुक बन्न तैयार छन् भने सहकार्य गर्न तैयार छौं ।
राजतन्त्र फाल्ने शक्ति सबै अब राजतन्त्रको आवश्यकता देख्न थालेका छन् । पहिले गिरिजाप्रसाद कोइराला बेबी किङ् भन्थे, विप्लवले पनि राजतन्त्रसँग सहकार्य गर्न खोजेकै हुन् । प्रचण्डले अहिलेभन्दा राजतन्त्रका बेलामा मान सम्मान रहेको बताएका हुन् ।
बिरालाको घाँटीमा कसले घण्टी झुण्ड्याउने भन्ने समस्या थियो, त्यो बाटो मोहन वैद्यले फुकाइदिएका छन् । अब मोहन वैद्यले थप प्रष्ट पार्नुपर्छ, भन्न खोजेको के हो ? विवाद हिन्दुधर्म र राजतन्त्रकै हो । जोसँग जनताको साथ छ, त्यो राजनीतिक शक्ति हो । यही यथार्थ हो लोकतन्त्रमा । पूर्वराजामा असिमित आस्था र समर्थन छ जनताको । त्यो आस्था र समर्थनलाई लोकतान्त्रिकरण गर्ने हो भने नेपालको यो बर्बादी अवस्थाबाट पार पाउन सकिन्छ । नेताहरूको बुद्धि बङ्गारो पलाउन थालेको अनुमान गरिदैछ ।