Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महानगरले गरीब लुटेर ५९ लाख कमायो

११ सोमबार , आश्विन २०७८३ बर्ष अगाडि

सय दिनमा सय काम गर्छु भनेर महानगरका मेयर जितेका विद्या सुन्दर शाक्यले साँढे चार वर्षमा पनि कुनै काम गरेनन् । महानगरका गोष्ठीसमेत रिसोर्ट होटलमा गर्ने, कोरोना लाग्यो भनेर सोल्टी होटलमा बस्ने, महानगरलाई भ्रष्टाचारको दलदलमा भास्ने कुकर्ममात्र गरेका महानगरका महामेयरले महानगरवासीलाई कुनै सुविधा दिएका छैनन् ।
महानगरले पार्किङ्, तरकारी बजार, सडकपेटीका खुद्रे व्यापारमात्र होइन, कुनै पनि व्यवस्था गर्न सकेनन् । हरेक दिन महानगरका गुण्डा चरित्रका सुरक्षाकर्मी लगाएर गरीबले दुईचार पैसा कमाएर पेट पाल्ने जोहोलाई लुटेरा शैलीमा लखेट्ने, लुट्ने, सामान जफत गर्ने, जरिवाना तिराउने, थुन्नेसम्मका कुकर्म गरिरहेको छ । अहिले आएर महानगरले नाक फुलाएर भनेको सुनियो– फुटपाथका सामान जफत गरेर काठमाडौं महानगरले कमायो ५९ लाख कमायो ।
महानगरले भन्न सकेन– जनताप्रति जिम्मेवार महानगरलाई व्यवस्थित पारियो । खुद्रा पसलेहरूलाई व्यापार गर्ने स्थान तोकियो । महानगरकमा सिमान्तकृत र गरिखाने बर्गका लागि यस्तो काम गरियो । गरीब लुटेर कमाउनका लागि महानगरवासीले विद्या सुन्दर शाक्यलाई मेयरमा जिताएका हुन् ?
कति आमाहरू काखमा नानी च्यापेर चिया बेचिरहेका छन् । कतिले मकै पोलेर गुजारा गरिरहेका छन् । ठेलागाडामा तरकारी र अन्य सामान बेच्नेहरू पनि छन् । तिनले गरिखाने ठाउँ तोक्न नसक्ने अनि तिनलाई सुरक्षाकर्मी लगाएर लुटेको सम्पत्ति जफत गरेर बेच्ने ? महानगरले गर्ने काम दुःख दिनेमात्रै हो ?
सडकको फोहर महिनौं उठाउन नसक्ने, फोहर फाल्ने ठाउँ पहिचान गर्न नसक्ने र महानगरवासीलाई रोगव्याधिमा पार्ने मेयरले पटक पटक पर्यटकलाई नाक खुम्च्याउन पर्ने स्थिति सिर्जना गरेर महानगरमात्र होइन, देशकै बेइजतसमेत गरेका छन् । यिनको कार्यकालमा महानगरका समस्या के के हुन्, यी समस्याको समाधान के कसरी गर्न सकिन्छ भनेर कहिले नागरिक र विज्ञहरूसँग छलफल चलाए ? महानगरको काम लुट्ने, जफत गर्ने, जरिवाना गर्ने होइन, तिनलाई व्यवस्थित गरेपछि पनि अटेर गरेमात्र सजाय दिने हो ? आमनागरिक महानगर र नगरप्रहरीको ज्यादतिका बारेमा चौतर्फी आलोचना भइरहेको छ । गैंडाका छालाजस्ता यी मेयर जनताको आलोचनालाई कुनै महत्व नै दिदैनन् । निर्लज्ज लाग्छन् ।
भन्नलाई महानगर प्रहरी प्रमुख धनपति सापकोटा सहरको सौन्दर्य कायम गर्न र पैदलयात्रुलाई सहज पार्न फुटपाथे व्यापार उठाउने गरेको हो । हाम्रो काम बाटो खुला र सफा पार्ने हो, उठाउने हो, उठाउँछौं । महानगरका बाटो कति कुहिगन्धे छ, महानगर कति सुन्दर छ, महानगरवासीले दिनदिनै भोगिरहेका छन् । तिनको बिग्रेको स्वास्थ्यको जिम्मा महानगरले लिनुपर्ने हो, जवाफदेही हुँदैनन्, अदालत पनि दण्ड दिंदैन । अचम्म त के छ भने यसरी गरीबको सामान लुटेर भएको आम्दानी कहाँ खर्च हुन्छ भन्ने प्रश्नमा महानगरका कुनै पदाधिकारी कता खर्च हुन्छ ‘भन्न नसकिने’ बताउँछन् ।