Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पढाइ हु“दैन स्कूलमा, खाली बस्नुभन्दा सय रूपैया“ कमाइरहेछु

११ सोमबार , आश्विन २०७८३ बर्ष अगाडि

वैतडीबाट विन्दु चन्द, २०७८ असोज ५, बैतडी- - - 
बैतडीः ‘विद्यालयमा खाली बसिरहनुपर्छ, पढाइ हुँदैन कति बस्नु दिक्क लाग्छ । स्कूलमा समय बरबाद गर्नुभन्दा त्यो समयमा त सय रूपैयाँ भन्दा बढी कमाउँछु नि’ यो भनाई हो बैतडीको मेलौली नगरपालिका वडा नम्बर २ का सागर लुहारको । उनी विद्यालय जाने समयमा सडक छेउमा गिट्टी कुटिरहेका देखिन्थे । उनी सलेनास्थित धर्मघर उच्च माविमा कक्षा ७ मा अध्ययनरत छन् । 
उमेरले १५ वर्ष पुगेका उनलाई विद्यालय जान त मनपर्छ तर घर गुजारा चलाउन गिट्टी कुट्नुपर्ने बाध्यता पनि छ । कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि उनी घरकै कामकाजमा व्यस्त थिए । लामो समयपछि विद्यालय त खुले तर पढाइ भने खासै भएन ।  ‘बिहान हाजिर लगाइदियो । त्यसपछि दिनभरी बसिरहनुपर्छ । पढाउन शिक्षक आउँदैनन् । खाली दिनभर बसेर समय बरबाद गर्नुभन्दा त गिट्टी कुटेर सय रूपयाँ त कमाइन्छ’ उनले भने । एक कट्टा गिट्टी बेचेर एक सय रूपैँया लिने गरेको उनी बताउँछन् । गाउँमा कसैले घर, शौचालय लगायतका भौतिक संरचना निर्माण गर्न लागे उनीहरूका लागि गिट्टी कुट्ने गरेको सागरले सुनाए । उनी ग्राहक खोज्न गाउँ–गाउँ जाने गरेका छन् ।
अध्यापन सुरू भए लगातार विद्यालय जाने उनी बताउँछन् । ‘कोरोना माहामारीमा बिदा थियो । खेतीपाती गरें । अब स्कूल खुलिहाल्यो, पढाइ हुन थालेपछि लगातार स्कुल जान्छु’ सागर लुहारले भने, ‘पढन मनपर्छ नि । तर आजभोलि खास्सै पढाइ हुँदैन । यो समयमा दिनमा ५÷६ कट्टा गिट्टी कुट्छु ।’
पछिल्लो समय पहाडी जिल्लामा कतिपय विद्यार्थीहरूले विद्यालय जानै छाडेको शिक्षकहरू समेत बताउँछन् । कोरोना माहामारीले विद्यार्थीहरूमा नराम्रो प्रभाव परेको धर्मघर उच्च माविका प्रधानाध्यापक रामबहादुर चन्दले बताए । धेरैजसो विद्यार्थी पढाइ छाडेर रोजगारीका लागि भारत पसेको समेत उनले जानकारी दिए ।
कोरोना महामारीका कारण आर्थिक समस्या परेपछि घर खर्च चलाउन स्कुले किशोरहरू रोजगारी खोज्न भारत पसेको स्थानीय बताउँछन् । विद्यालय खुलेपछि विद्यालय आउने कतिपय विद्यार्थीहरूले पढाइमा ध्यान समेत नदिने गरेको शिक्षकहरू बताउँछन् ।
नियमन र अनुगमनकारी निकाय के गर्छन् ? विद्यार्थीहरूलाई पढ्ने र स्कूलमा पढाइहुने वातावरण बनाइदिन गर्नुपर्ने के के हो ? यसबारेमा किन अध्ययन हुँदैन ? पढाइनै छाडेर यसरी गिट्टी कुटेर जीवनयापन गर्नुपर्ने, गुजारा चलाउन रोजगारी खोज्दै भारत पस्नुपर्ने कारण र त्यसको निराकरणका लागि राज्य किन बेवास्ता गरेर बसेको छ ? शिक्षकहरू पनि स्कूल जाने, हाजीर लगाउने र पढाउन छाडेर राजनीति गरिरहेका छन् भने यो विकृति रोकिने कहिले ?