भदौ २५ गते विधिवत रुपमा राजेन्द्र क्षेत्री प्रधानसेनापतिमा पदासीन हुनेछन्। उनको यो कार्यकाल नयाँ संविधान, संघीय संरचनागत पद्धतिका कारण अग्निपरीक्षाभन्दा कम हुनेछैन। क्षेत्रीको काम भूकम्पग्रस्त छाउनीहरुको पुननिर्माणबाट सुरु हुने भए पनि पुननिर्माण प्राधिकरणका कार्यकारी डा.गोविन्द पोखरेलले साउन ३० गते भनिसके– मुलुकभरिको पुननिर्माणमा पैसाको अभाव छैन तर त्यो पैसा खर्च गरेर पुननिर्माण गर्दा नेपाली सेनाको महत्वपूर्ण भूमिका हुनेछ। यसकारण पनि नयाँ प्रधानसेनापति राजेन्द्र क्षेत्रीका लागि राष्ट्रिय सुरक्षा र निर्माणतिर पनि चुनौती हुनेछ।
भनिन्छ, नेपाली सेनाभित्र गौरवशमशेर जबराले निकै धुलोमैलो पारेर गएका छन्। उनले सुरु गरेका बढुवाका फास्ट ट्य्राकले पारेको दुस्प्रभावलाई पनि निर्मलीकरण गर्दै सेनाको व्यवसायिक संगठनलाई अझ संगठित पार्ने दायित्व पनि यिनकै काँधमा आइसकेको छ। यसबाहेक पीआर, ग्रीनकार्डवाला सैनिक अधिकृत, सिपाहीदेखि सैनिक जर्नेलसम्मका नक्कली नागरिकता र योग्यताका प्रमाणपत्रहरुको छानबिन गरेर नेपाली सेनालाई दुरुस्त पार्ने दायित्व कम दुरुह हुनेछैन। खासगरी योग्यहरुलाई माथिल्लो दर्जासम्म पुग्ने सहज ढोका खोल्नु क्षत्रीको कार्यकालको सबैभन्दा महत्वपूर्ण काम हुनेछ। नेपाली सेनाभित्र उर्जाशील सकलदर्जा क्षत्रीबाट बढुवासहितको सक्षम सैनिक संगठनको पुनर्संरचनाको अपेक्षा गरिरहेका छन्, जुन स्वभाविक पनि हो।
सैनिक संगठनभित्र अन्याय भयो भनेर सर्वोच्च अदालतसम्म पुगेका घटनाहरु पनि प्रमाण छन्। यो प्रमाण भनेको सेनाभित्र पनि बेथिति छ भन्ने हो। बढुवाको आधार बरिष्ठता कि कार्यक्षमता? भन्ने गम्भीर प्रश्न छ। किनभने कार्यक्षमता भनेको जो कसैलाई आशीर्वाद दिन सकिने भ्वाङ् हो। २०६९ माघ १० को सैनिक नियमावलीले धेरै सक्षम र बरिष्ठहरुलाई अन्यायमा पारेको छ। सैनिकले नै अन्यायवोध गर्नुपर्यो भने जनताको नमक खाएको र देशको सुरक्षामा अहोरात्र खट्नुपर्ने नेपाली सेनाको अर्थ र औचित्यमाथि दाग लाग्छ, यस्तो स्थिति हुनुहुन्न भन्ने पक्षधर क्षत्रीका विचारका सगोत्री हुनसक्छन्। पूर्वरथीहरुसमेत सैनिक संगठनभित्र नमिलेका र बहुसैनिक हितायका लागि ऐननियम संशोधन गर्नुपरे पनि गर्नुपर्छ भन्छन्। प्रधानसेनापतिका लागि सबै समान छन् भन्ने भावना विकसित गर्न अत्यावश्यक देखिन्छ। प्रधान सेनापतिमाथि थुप्रै शक्तिका दबाब पर्नु स्वभाविक हो, ती अनुचित दबाबहरुलाई निस्तेज पार्नु कम चुनौतीपूर्ण हुनेछैनन्।
प्रधानसेनापतिका लागि नयाँ कारखाना खोल्नु, अस्पताल र अन्य लगानीहरुमा सैनिक कल्याणकारी कोषको सदुपयोग, दुरुपयोग हेर्नु सबैभन्दा महत्वपूर्ण कार्य हो। किनकि कल्याणकारी कोष वैंकमा जम्मा गर्नु पनि कमिशनको खेल हुने गरेका छन्। ६ पुस्तादेखिको सैनिक परिवारका सदस्य राजेन्द्र क्षत्री क्षमतावान र इमानदार सिपाही हुन्। क्षत्रीले त्यो छवि धुमिल पार्छन् भनेर कसैले पनि विश्व्ास गरेका छैनन्। विचार विवेकशील मानिने क्षत्री नेपाली सेनामा ठूलै तरङ्गका रुपमा उदाएका छन्। क्षत्रीको चमक, उनको कार्यकाल र क्षमताले आन्तरिक र बाह्य दुबै क्षेत्रलाई छोएको देखिन्छ।
यिनलाई सेनाभित्रका कूतत्वहरुले आफ्ना कूप्रभावमा पार्न गाह्रै छ। सेनाको संगठनलाई राम्ररी बुझेका र आवश्यक थुप्रै तालिम गरेका क्षत्री शान्ति प्रक्रिया निष्कर्षमा पुग्नै लागेको बेलाका प्रधानसेनापति क्षत्री ऐतिहासिक हुनेछन् र उनले ऐतिहासिक काम गर्नु इतिहास निर्माण गर्नु हुनेछ। राष्ट्रिय सुरक्षा, रक्षानीति, नागरिक सरकार र सेनाको सम्बन्ध कस्तो हुनुपर्छ, यसैमा क्षत्रीको सफलता मापन हुनेछ।