Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतीय आतङ्क विरूद्ध संघर्ष

१८ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

भारतीय शासनभन्दा आतङ्ककारी अरू को होला ? तुइनको डोरी काटेर महाकालीमा मान्छे फाल्न सक्ने भारतीय शासनाधिकारीमा अब मानवीयता पनि बाँकी रहेन । हरेक दिन पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका ७२ सीमा क्षेत्रमा नेपालीको इज्जत लुट्न पल्केको भारतीय शासन अब नेपालीलाई मार्न थालेको छ । यतिसम्मको अत्याचार र हस्तक्षेप हुँदा पनि लोकतान्त्रिक नामधारी नाटकीय सरकार, नागरिक समाज, जनप्रतिनिधि कोही बोल्दैनन् । कस्तो दुर्भाग्य ?
काठमाडौं । नेपाली कांग्रेसभित्र नागरिकका सम्बन्धमा कुन हदको संवेदना छ भन्ने सवाल झन टड्कारो देखिएको छ । संविधान घोषणापछि बनेको देउवाको चौथोपल्टको सरकारका बेलामा भारतीय सुरक्षाकर्मीले गोविन्द गौतमलाई गोली ठोकेर मारिदियो । त्यतिबेला प्रधानमन्त्री देउवाले मुखै खोल्न सकेनन् ।
यतिबेला देउवा पाँचौपल्ट प्रधानमन्त्री बनेका छन् । गत शुक्रवार भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपालीलाई महाकालीमा हेलिदिएका छन् । यसपल्ट पनि प्रधानमन्त्री मौन छन्, उनले विरोधसमेत जनाउन सकेनन् । यसबाट थाहा हुन्छ– शेरवहादुर देउवामा नागरिकका प्रति उच्च सम्मान छैन । आमनागरिकको दुःख र पीडा नबुझ्ने देउवा भारतीय हस्तक्षेप र आतङ्क पनि सहन तैयार छन् । देउवाका लागि पद पहिलो प्राथमिकता हो, सार्वभौमिकताप्रति उनी महत्व दिंदैनन् ।
दार्चुलाको मालाघाटमा जय सिंह धामीले तुइन पार गर्दागर्दै तुइन काटेर महाकालीमा खसालेको, मारेको घटनालाई विप्लव कम्युनिष्टले घोर अमानवीय, घोर आततायी घटना मानेको छ । यो घटनालाई भारतीय शासकको नाङ्गो हस्तक्षेप भन्दै तुइन घटनाको कडा शब्दमा निन्दा र भत्सर्ना गरेको छ ।
१६ गते शनिवार बसेको चार कम्युनिष्टपार्टीहरू नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतिको बैठकले पनि निन्दा र भत्सर्ना गर्दै भारतविरूद्ध जनसंघर्ष गर्ने चेतावनी दिएको छ । बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ– दार्चुलाको व्यास गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी भारतको पांगन जाने क्रममा मालाघाटमा महाकाली नदीमा तुइन तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पांगन तिरको तुइन फुत्काउँदा नदीमा खसेर हालसम्म बेपत्ता भएको जनाएका छन् । 
(परिवारले कुशको शव बनाएर जलाएको अवस्था ।)
चार कम्युनिष्टको निष्कर्ष छ– यो घटना नेपाली राष्ट्रिय स्वाधीनतामाथिको भारतीय शासक वर्गको नाङ्गो षडयन्त्र र हस्तक्षेप हो । यो घटनाबाट बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र राहतको व्यवस्था गर्न, दोषीलाई शीघ्रातिशीघ्र कारबाही गर्न विश्वासिलो छानबिन अगाडि बढाउन नेपाल सरकारसँग हामी चार पार्टी जोडदार माग गर्दछौँ । यो तुइन घटना भारतको हेपाहा र षडयन्त्रमूलक भएको भन्दै उनीहरूले आम नेपाली जनतालाई यसको डटेर प्रतिरोध गर्न आह्वान समेत गरेका छन् । संयुक्त विज्ञप्तिको मुख्य बुँदा छ– यथाशक्य घटनाको वास्तविकता नेपाली जनताको बीचमा सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न ढिला गरियो भने हामी चार पार्टी जनसंघर्षमा जान बाध्य हुनेछौँ ।