Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेताहरू यस्तो दुर्भाग्य किन देख्दैनन् ?

११ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

काठमाडौं । मेनपावरको ठगी, वैदेशिक रोजगार विभाग र वीमामा ठगी, भीसामा ठगी, एयर टिकटमा ठगी, विदेश पुगेपछि रोजगार दाताबाट ठगी, केही समस्या पर्दा दूतावासका कर्मचारीबाट ठगी, दलालबाट ठगी, विदेशमा पाइला पाइलामा ठगी । ठगिदा ठगिदा सिद्रा भएका रोजगारीमा गएकाहरूले श्रम र यौनसमेत वेचेर पठाएको रेमिटान्सबाट नेपाल सरकार चल्छ, राज्य चलाउँछ ।
आफ्नै घरगाउँ, सहरमा केही गरौं भन्यो, जता पनि पैसा नखुवाए कामै हुँदैन । कर तिर्न जाँदासमेत घुस दिनुपर्ने देशका शासकहरू नयाँ उद्योग खोल्दैनन्, रोजगारी सिर्जना गर्दैनन् । युवा निकासी गरेर डलर आर्जन गर्छन्, गणतन्त्रले ठूलै प्रगति गरेको कागजी घोडा दौडाउँछन् । नेपालको भविष्य उज्ज्वल छ भनेर हावादारी गुड्डी हाँक्छन् ।
यथार्थमा नेपाल भारत, अमेरिका, चीनको शक्ति सन्तुलनको खेल मैदानमात्र बनेको छ । नेपाल चेपिदैछ । जुन देशका युवाहरू विदेश निर्माण गर्न जान्छन्, नेताहरू स्वदेशलाई मदिरालय, वेश्यालय बनाउँछन्, त्यो देशको उन्नति कसरी सम्भव हुनसक्छ र ? त्यसै विश्व वैंकले २० वर्षपछि नेपाल बुढाबुढी र केटाकेटीको देश बन्ने रिपोर्ट सार्वजनिक गरेको होइन । तैपनि हामीमा चेत छैन ।
जहानबच्चा पाल्नै प¥यो । बुढा आमाबाउको हेरचाह गर्नैप¥यो । धन कमाउने कसरी ? स्वदेशमा गरिखान नपाएपछि रोजगारी खोज्दै स्वदेशदेखि विदेशसम्म घूस ख्वाउँदै खाडी मुलुक पुगेका युवाहरूको कथा कहालीलाग्दो छ । जापान, कोरिया अथवा अन्य मुलुकमा भन्दा खाडी मुलुकमा बढी जोखिम छ, मृत्युदर बढी छ । सबैभन्दा बढी कुबेत, कतार, युएई, मलेसियामा नेपाली युवाहरूले ज्यान गुमाएको रेकर्ड छ सरकारसँग । किन यसरी युवाहरू मर्छन्– तिनले पठाएको रेमिटान्स गन्ने र रेमिटान्सले राज्य धान्नेहरू कसैले अध्ययन गर्दैनन्, संरक्षकको धर्म निर्वाह गर्दैनन् ।
वैदेशिक रोजगारीमा गएका युवाहरूमध्ये गतवर्ष एक हजार ७३ ले ज्यान गुमाए पनि औसत वर्षको ७ सयले ज्यान गुमाउँछन् । कतिपय वेवारिसे र जेलमा पनि मर्छन्, कतिको रेकर्ड नै हुँदैन । कोरोनाले मरेकाको शव उतै व्यवस्थापन गरिन्छ । गत शनिवार एकै दिन मलेसियाबाट २४ जनाको शव यसरी बाकसमा प्याक भएर आयो । वैदेशिक रोजगार वोर्ड भन्छ– मलेसियामा अरू २४ शव छन्, अन्य मुलुकमा गरी ५६ शव नियमित उडान नभएकाले विदेशमै रोकिएका छन् । गत शनिवारको दिर्न एयरपोर्टमा जुन कहालीलाग्दो दृश्य देखियो, त्यो दृश्यले हरेक मान्छेको मन रोयो । दलालहरू के छुन्थ्यो ?
मृत्यु र जीवनबीचको यो दृश्यले सांसद, सरकार, प्रधानमन्त्री, मन्त्री, प्रशासक, वैदेशिक रोजगारमा पठाउने एजेन्सी कसैको चित्त दुःखेन । कसैले यो समाचारलाई वास्ता गरेनन् । हाम्रो समाज कति संवेदनहीन भएर गएछ ।
युवाहरू केही कमाई गरेर फर्कने सपना बोकेर विदेशिन्छन् र यसरी बाकसमा फर्कन्छन् । बालबचेर, बाबुआमाको चिच्याहट, चित्कारपूर्ण रोदनले एयरपोर्ट नराम्ररी घन्किन्छ तर त्यो आवाज सत्ताका लागि मरिहत्ते गर्नेहरू सुन्दैनन् । आफन्त मर्दा कस्तो हुन्छ, कहिले मर्नुपर्दैन भन्ठान्ने सत्ताका पिपासुहरूले अनुभूत नै गर्दैनन् ।
रोजगारीमा गएका युवाहरू कतिले मेहनत गरेर कमाएका छन्, कतिले राम्रो काम पनि पाएका छन् । कतिले एउटा काम भनेर उता लगेर अर्कै काममा खट्नुपर्दा ज्यान फालेका छन्, कतिले बेचिनु परेको छ । श्रम र जवानी बाध्यतावश बेच्नुपर्ने दर्दनाक कथा कम पीडादायी छैन नेपाली युवाहरूको ।
जब राम्रो लुगा, मीठो पापा, आफन्तका लागि केही न केही कोसेली बोकेर आउने लाहुरे बाकसमा शव बनेर आउँछ, तिनका लालाबाला, बृद्ध बाबुआमाको मन कति रून्छ होला ? खाडीमा दिनमा चर्को गर्मी, एसीको चिसो रात, तिनको शव आउँदा बगेको आँसु ।
नयाँ नेपाल बनाउँछु भन्नेहरूले युवा निकासी गरेर देशलाई हरितन्नम बनाउने भए । सबैलाई थाहा छ, मान्छे बेचेर मुनाफा हुनसक्छ, विकास हुनसक्दैन । यत्ति विवेक लोकतन्त्रमा देखिएन ।