Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बुढाबुढी, अशक्त, युवा, विद्यार्थी, माष्टरलाई खोप देउ

०४ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

खोप आइरहेको छ, आउनेक्रममा पनि छ । खोपमा हिनामिना व्यापक भएको छ । लुटलाट, आफन्तलाई लगाइहाल्ने चलन संसदबाटै, अस्पतालबाटै पनि भएको देखियो । खोप छ, आएका खोपको भण्डारणको समस्या छ । ७ सय ६१ सरकार र तिनका निकाय छन्, राज्यसञ्जाल र समाजसेवीको पनि कमी छैन । तर व्यवस्थित रूपमा खोप दिन सरकार चुकेको छ । बुढाबुढी, अशक्तलाई घरमै पुगेर खोप दिउँ । युवा, विद्यार्थी, माष्टर, वैदेशिक रोजगारमा जाने, जो जो प्राथमिकतामा पर्छन्, तिनलाई खोप दिन किन ढिलाइ भइरहेको हो ?
उच्च सक्रियता र सावधानी अपनाएर एक डोज दिए पुग्ने मोडर्ना खोप र दुई डोज लगाउनु पर्ने चिनियाँ खोप दिन स्वास्थ्य मन्त्रालय चुकिरहेको छ । सरकार बनेको यतिका दिनपछि पनि सरकार कुहिराको काग बनिरहेछ, युद्धस्तरमा काम गर्न सक्ने क्षमता यसपल्ट पनि प्रम देउवाले देखाउन सकेको देखिदैन ।
जतिबेला पनि सत्ता संघर्ष, शक्ति संघर्ष । संसदमा छिर्की, सडकमा घोचपेच ।  सर्वोच्चमा मुद्दा, फैसलामाथि सेटिङको आरोप । यसरी द्वन्द्व बढ्छ, निकास निस्कदैन । उत्कृष्ठ भनिएको संविधानमा छिद्र नै छिद्र । संविधानले काम गरेन, पद्धति र नेतृत्वमाथि जनअविश्वास । दल विभाजन, नेता विभाजन, झूठमाथि झूठ । भ्रममाथि भ्रम । इमानका साथ भन्ने हो भने यो व्यवस्था असफल भयो । संविधान असफल भयो । ३२ वर्षदेखि नेतृत्व गर्ने पुस्ता असफल भयो । अझै पुस्तान्तरण नगर्ने ?
हो, उमेर ढल्कदैमा असक्षम हुने होइन । उमेरका साथै सोचमा बुढ्यौली आयो भने त्यो सोचले काम गर्दैन । ३० वर्ष अघि पनि उही शेरबहादुर, रामचन्द्र पौडेल, माधव नेपाल, केपी ओली, प्रचण्ड, बाबुराम, महन्थ ठाकुर, अहिले पनि तिनै नेता । पार्टी र सत्तामा तिनकै नेतृत्व । के परिवर्तन ल्याए, के परिवर्तन ल्याउँछन् ? नयाँ सोचको खाका केही छ, केही छैन ? अनि ६१ सिट भएका देउवाले १६५ सांसदको मत पाए, केका लागि पाए ? ४ पल्ट प्रधानमन्त्री बने के गरे ? पाँचौपल्ट प्रधानमन्त्री बनेका छन्, के गर्छन् देउवाले ?
मात्र सत्ता परिवर्तनका खेल भइरहेका छन् । सुधार केही पनि छैन । पहिलो कुरा आचरणमा सुधार हुनुपर्छ । आचरण नै भ्रष्ट भएपछि केही पनि सुधार हुन्न । अहिले राजनीतिमा जे देखिएको छ, त्यो लोकतन्त्रमा कुरूप दृश्य हो ।
अब यो बुढोपुस्ताबाट पुरूतान्तरण हुनुपर्छ, बुढा नेता बोकेर देश अघि बढ्न सक्देन । यिनले विश्राम लिनुपर्छ, नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ । षडयन्त्र गर्न जान्नु लोकतान्त्रिक राजनीति होइन । चटक देखाउनु सक्षम नेता हुनु होइन । ३२ वर्षदेखि जनता यिनै नेता र पार्टीको चटक न हेर्दै आएका छन् । कति हेर्ने चटक ?