चौंरीको रगत पिउने मेला लाग्छ मुस्ताङको जोमसोममा। चौंरीको तात्तातै रगत पिउनाले गानोगोला, ग्यास्टिक, कमलपित्त, मर्केको, सुन्नेको र अन्य साना ठूला रोग बिशेक हुन्छ भन्ने विश्वासका साथ हरेक वर्ष यो जात्रा लाग्छ। यो जात्रा हेर्न र चौंरीको तातो रगत पिउन ठूलै भीड जम्मा हुने गर्छ। अहिले मुस्ताङमा यो जात्रा सुरु भइसकेको छ। खासगरी पहाडी र हिमाली भेगको यो जनावरले यार्सागुम्वा, पाँचऔंले, जटामसीजस्ता बहुमूल्य जडीबुटीका बुट्यान खानेहुँदा यिनको रगत पिउनु भनेको ओखती पिउनु हो भन्ने मान्यता छ। मुस्ताङका मान्छेहरु भन्छन्– चौंरीको घाँटीमो सुइरो रोपेर रगत निकालिन्छ र कपमा राखेर दिइन्छ। एककपको १ सयदेखि ३ सयसम्ममा तातो रगत बिक्री भइरहेको छ। यो रगत पिउनका लागि लाममा लाग्नुपर्ने स्थिति रहेको छ।
जिउँदै जनावरको यसरी रगत निकालेर बेच्ने परम्परा हेर्दैमा अमानवीय लाग्छ। तर वर्षेनी यसैगरी मेला लाग्छ र रगत पिउनकै लागि कतिपय बिरामीहरुसमेत मुस्ताङ आउने गरेका छन्। डाक्टर र अस्पतालको खासै सुविधा नभएको मुस्ताङमा चौंरीको तातो रगत पिउने मेलामा राजधानीको अस्पतालमा दिनहुँ देखिने भीडभन्दा बढी भीड लाग्ने गरेको देखिन्छ। राजधानीका अधिकारकर्मीहरुसमेत यो निर्मम तरिकाले रगत झिक्ने र बेच्ने जात्राबारे कहिल्यै केही बोलेको सुनिदैन। न जनावर बोल्न सक्छ, न विवेकशील बोलिरहेका छन्। यो रगतको व्यापार चलिरहेको छ।