Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मुस्ताङ र एयरपोर्टमा हस्तक्षेप

१४ सोमबार , असार २०७८३ बर्ष अगाडि

डा.सुरेन्द्र केसी भन्नुहुन्छ– मुस्ताङ् भनेको चीन र चीनको तिब्बतको सुरक्षा संवेदनशील क्षेत्र हो । चीनको सुरक्षा दायरमा आउँछ । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्यस्तै क्षेत्र हो । मुस्ताङ् र त्रिभुवन विमान स्थलमा सौर्य उर्जा वा अन्य बहानामा भारतलाई सुरक्षा संरचना राख्न दिने भएछ यो सरकार । यो आपत्तिजनक छ । यो नाङ्गो हस्तक्षेप हो । राजाले १८ ठाउँमा, अझ राजधानीको शशी भवनमा रहेको भारतीय चेकपोष्ट हटाए । यिनीहरू अनेक बहानामा सैनिक क्याम्प स्थापित गर्न अनुमति दिदैछन् । सामाजिक सञ्जालहरू पढ्दा लाग्छ, मूर्दाहरूको घरजस्तो भयो देश । न युवा, पार्टी, समाज कोही पनि बोल्दैनन् । 
प्रजातान्त्रिक संविधान होइन यो । हामी पूर्वीय संस्कृतिमा छौं, पद्धतिचाहिं वेष्ट मिनिस्टर जस्तो ल्याएर कसरी चल्छ ?
निरंकूश थियो राजाको शासन, राष्ट्रको निर्माण गरिदिए । पृथ्वीनारायण शाहले विभाजित अवस्थाको यो क्षेत्रलाई एकीकरण नगरिदिएको भए अंग्रेज फर्केपछि नेपाल भारत हुन्थ्यो । त्यो कालखण्डमा राजाले जे गरे, त्यो प्रगतिशील कदम थियो । त्यतिबेला माक्र्स जन्मेकै थिएनन्, कुनै पार्टी थिएनन्, राष्ट्रनिर्माणको प्रकृया नै थिएन । मुलुकको जग पृथ्वीनारायण शाहले राखे, पूर्वाधार राजा महेन्द्रको शासनकालमा बन्यो, निरंकूश हुँदाहुँदै पनि त्यो कदम सही थियो, देशभक्तिपूर्ण थियो । राष्ट्रवाद जगाएको विषयको किन बिरोध गर्ने ? महेन्द्रको १० वर्षे शासनकाल युगान्तकारी थियो । यिनले बेचेर खाएको जनकपुर चुरोट कारखाना, चिनी, कागज, जुत्ता कारखाना, कृषि औजार कारखानाहरू राजाले स्थापित गरेका हुन् । राजाले नेपाली पहिचान स्थापित गर्ने अनेक कार्य गरे । निरंकूशताको विरोध गरे पनि राम्रा कामको विरोध किन ? किन बोल्दैनन् बौद्धिकहरू, कहाँ छन् ? सही कुरा गर्नेलाई प्रतिगामी भनेर भ्रम छर्ने ? उद्योग खोल्ने प्रतिगामी कि बेचिखाने प्रतिगामी ?
०१७ सालको कुरा गर्ने हो भने वीपी पुत्र विराटनगरमा थिए । चिया पसलमा चिया खाँदैगर्दा यो घटना घट्यो । उनी भन्छन्– एकजनाले पनि विरोध गरेनन् । राजाको राजनीति– राजाहरूले समयमा जनताको अपेक्षा सुनेर आवाज दिएका हुन् । अहिलेजस्तै थियो र ०१७ आएको हो ।
मान्छेका लागि जीउभन्दा महत्व अरू हुन्न । अहिले कोभिडले आतंक मच्चाउँदा मान्छेको ज्यानको महत्व घटाएर यिनले निरंकूशता थोपरे । स्वेच्छाचारिता लादे । अब संरचनाका नाममा चेकपोष्ट पुनरावृत्ति हुने खतरा बढेको छ । अमेरिकामा ओलीजस्तै ट्रम्प थिए । अमेरिकी जनताले अभिमतका माध्यमबाट उनका दम्भ, अहंकारलाई निरस्त्र पारिदिए, तह लगाइदिए । जो बाइडेन आए, अहिले गुमेको साख बदलिसकेको छ । यसकारण त नेतालाई आइज अफ दी नेसन्स भनिन्छ ।
चीनका राष्ट्रपति सी चिनफिङतिर हेरौं । उनी कति सौम्य, शान्त छन् । उनका लागि देश र जनता प्राथमिकता हो । हाम्रा पूर्व प्रधानमन्त्री प्रचण्ड ७० जनाको सुरक्षाघेरामा हिड्छन् । सत्ताको कुरा गर्छन्, जनताको कुरा गर्दैनन् । अरू नेता पनि त्यस्तै हुन् । देशैभरि ९ सय भन्दा बढी सांसद छन्, ७६१ सरकार छ, टोलैपिच्छे मन्त्री भेटिन्छन् । यिनका लागि बजेट खर्च गर्नुपर्छ अनि कसरी जीवनस्तर उठ्छ ? यस्तो दासत्वबाट उन्मुक्ति कहिले ? जनताले उन्मुक्ति खोज्नुपर्छ ।
ओली नाङ्गाबाबा हुन् । के गर्छन् ओलीले ? राज्यका कुनै निकायले कुनै निकायलाई टेर्दैनन् । कसैले कसैलाई नटेर्ने भनेको असफल राष्ट्र हो ।
५ पूर्व प्रधानमन्त्रीले विदेशी चलखेल भयो भनेर आन्दोलन सुरू गरेका छन् । यो कौवाले आफ्नै नाम काढेजस्तो हो । पद नपाएको रोदन हो । माइतीघरमा बसेर हामी यहाँ छौं भन्ने यिनै हुन् । दिल्लीमा बसेर जनयुद्ध गर्ने यिनै हुन् । १२ बुँदे दिल्लीमा गर्ने यिनै हुन् । लोकतन्त्रको मर्यादा नराख्ने, हुर्मत लिने यिनै हुन् । ओलीलाई शत्रु मान्ने जसपाका नेता महन्थ र राजेन्द्र महतोबीच किन मिलाप छ, हृदयस त्रिपाठीजस्ता नेता किन ओली गुटमा छन्,  सर्वहारावादको विकल्प छैन भन्ने बाबुराम मधेशवादमा पुगे । भारतलाई कम्फर्टेबल हामी हौं भन्ने यिनै हुन् ।
रंजीत रे, एसडी मुनी, प्रणव मुखर्जी, श्यामशरणले भारतको चक्रतामा तालिम दिएको, हामीले पालेको माओवादीमार्फत नेपालमा परिवर्तन ल्याएको भनेर लेखिरहेका छन्, अलजजिराबाट बोलेको रेकर्ड पनि छ । अहिले आएर बाबुराम आफ्नी श्रीमतीले लेखेको किताव पढ्नु भन्छन् । त्यसो भए विवेक शाहले लेखेको किताव के हो ? किताव हिसिला यमीले मात्र लेख्छिन् ? यी तिनै हिसिला यमी हुन्, जसले पर्यटन मन्त्री हुँदा सन २००७ मा नेपालको एयरपोर्टमा आउने भारतीय विमानमा मार्शल राख्न अनुमति दिएकी थिइन् । यो विदेशी हस्तक्षेप होइन ? एमसीसी गर्ने यिनै हुन् । लाज छैन आज आएर राष्ट्रपतिभन्दा राजा ठीक भन्न ? बिम्बकै रूपमा प्रयोग गरेको भए पनि यो नेतृत्व गर्नेहरूको असक्षमता हो । त्यतिबेला प्रणाली निरंकूश थियो, कहीं न कहीँ विधि थियो । अहिले प्रणाली लोकतान्त्रिक छ, विधि कतै छैन । गुण्डागर्दीको अखडा बालुवाटार भन्न थाले । लोकतान्त्रिक बनाउन कुनै नेतृत्व तैयार देखिदैनन् । सत्ता व्यवस्थापनमा चीन, भारत, पश्चिमा खेल्नेमात्र हो ? 
पुर्षाले घुयत्रो हानेर अंग्रेजलाई सिन्धुलीगडीबाट लखेटेर जोहो गरेको देशको अवस्था हेरौं त, कस्तो भयो ? चीनलाई लागेको छ– नेपाल तिब्बतविरोधी हव बनिरहेको छ । भारतलाई नेपाल चीनको पकडमा गइरहेको छ भन्ने आशंका छ । पश्चिमा शक्ति रणनीतिक रूपमा खुट्टा टेक्दैछ, यही मौकामा अमेरिका खुलेर आइदियो भने...? सरकार र राजनीति दिग्भ्रमित हुँदा राष्ट्रपति र सेनाले खबरदार भनिदिएको भए मात्र पनि यस्तो भोग्नुपर्ने थिएन ।
देशको अवस्था सुधार्ने औजार राजनीति नै हो । कमाण्डमा लिन सक्षम राजनीति, सही नेतृत्व निर्माण, प्रतिनिधित्व दलहरूमा देखिनुपर्छ ।