Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजनीति कहाबाट कहा पुग्यो

३१ सोमबार , जेठ २०७८३ बर्ष अगाडि

पुणेका नाथुराम विनायक गोड्सेले भारतीय मुसलमानका राजनीतिक मागलाई लिएर जनवरी ३०, १९४८ का दिन गान्धीको छातीमा ३ गोली ठोकेर हत्या गरिदिए । उनलाई अम्बाला सेन्टर जेलमा नोभेम्बर १५, १९४९ का दिन झुण्ड्याएर मृत्युदण्ड दिइयो ।
काठमाडौं, पद्धति मात्र राम्रो भएर हुन्न, पद्धति सञ्चालन गर्ने सीप राजनीति गर्नेहरुमा भएन भने शान्तिपूर्ण राजनीति गर्नेहरुले हिंसाका भाषा बोल्छन्, शान्ति चाहनेहरुले हिंसाका कुरा सुन्नुपर्छ भन्ने ताजा उदाहरण बागमती प्रदेशसभामा देखिएको छ ।
हामीले कस्ता व्यक्तिलाई संसदमा पु¥याएका छौं । संसदले कस्ता व्यक्तिलाई सरकारको जिम्मा दिएको छ । सरकारले संवैधानिक प्रावधानहरुलाई कुन प्रकारले स्वार्थमा परिचालन गरेको छ । यी सबै गल्तीहरुबाट राष्ट्र र जनता कसरी प्रताडित हुनपुग्छन्, हामी नेपालीले भोगिरहेको दैनिकी हो यो ।
हामीसँग साधन स्रोतको कमी छैन तर सीप नभएका व्यक्तिहरुका कारण राजनीति र कूटनीतिक क्षमता गुमाउँदै गएका छौं । छिमेकी र विश्वजगतबाट विश्वसनीयता पनि गुमाउँदै गएका छौं । त्यो अवस्थामा आउने आक्रोश भनेको नरोत्तम वैद्यले बोलेजस्तै हो । स्थिति कति बिग्रिसक्यो, जनजीवन कुन सीमामा खलबलिइसक्यो, यसको अनुमान वैद्यको मनबाट निस्किएको आक्रोशबाट अनुमान गर्न सकिन्छ । उनले बोले, बोली  फिर्ता लिए तर देशको स्थितिमा तात्विक अन्तर आएको छैन । स्थिति झन झन भयावह बन्दै गइरहेको छ ।
राजनीतिक नेतृत्व आफ्नो गुरुत्तर दायित्वबाट चुक्दै गएकाले आमनागरिकमा नैराश्यता बढेको छ । स्थानीय, प्रदेश र संघका कतिपय जनप्रतिनिधिहरुमा पनि कोरोनाको महामारीमा समेत राहत दिन नसकेको र नेतृत्व तह गुट, फुट र सत्ताको खेलमा लागिरहँदा नेतृत्वकै पछाडि दौडिरहनु पर्ने अवस्थाले असहज अनुभूति बढेको छ । स्थिति सामान्य छैन ।
सधैंको यो कचिङ्गल, राष्ट्रपतिले प्रधानमन्त्रीका निर्णयहरुमा आँखा चिम्लेर समर्थक बनिदिंदा राजनीति अन्यौलग्रस्त बन्न पुगेको छ । एउटा पार्टीका सांसद फ्लोर क्रस गरिरहेका छन्, अदालत त्यसैलाई सदर गरिरहेको छ । सत्तामा को बस्ने, को सही, कुन निर्णय बदर हुनुपर्नेजस्ता मामिला अदालत पुगेका छन् । देशको सिङ्गो राजनीति अदालतमा पुगेको छ । अदालतका न्यायाधीशहरुसमेत पार्टीका रङ्मा, व्यक्तिका प्रभावमा परेका आक्षेपहरु अनुभव गर्न सकिने गरी सतहमा उत्रिएका छन् ।
प्रधानमन्त्री केपी ओली सत्ता नछाड्ने, देउवा–प्रचण्ड–माधव–झलनाथ–बाबुराम ओलीलाई सत्ताबाट नउतारी नछाड्ने मर्ता क्या नही कर्ताको फाइनल प्रतिस्पर्धा सर्वोच्च अदालतको फैसलामा टक्क रोकिएको छ । यही सब उकुसमुकुस अवस्थामा राजधानी प्रदेशका सांसद नरोत्तम बैद्यले जेठ २८ गते ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन् । त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुप¥यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु ।’ अचम्म, प्रदेश सभामा सभामुखदेखि कुनै सांसदले बैद्यको अभिव्यक्तिप्रति नियमापत्तिसमेत गर्न सकेनन् । यसबाट थाहा हुन्छ, प्रदेश सभामा कुन स्तरको प्रतिनिधित्व रहेछ ।
नाथुराम गोड्से भारत स्वतन्त्र भएपछि राजनीतिक मागमा मुछिएर महात्मा गान्धीलाई मारेर मृत्युदण्ड भोग्ने व्यक्ति हुन् ।
नरोत्तम बैद्यको आक्रोशका कारण प्रधानमन्त्री मार्ने अभिव्यक्ति संसदमा गुञ्जिन पुग्यो ।
नरोत्तमको यो स्वरले देश विदेशमा प्रभाव पा¥यो । अप्ठेरोमा परेको नेपाली कांग्रेसले शब्द फिर्ता लिन र संसदको रेकर्डबाट आफ्ना अभिव्यक्ति मेटाइदिन आदेश दियो र भोलिपल्टै सांसद नरोत्तम बैद्यले प्रदेश सभामा ‘म महात्मा गान्धी मान्ने मान्छे, वचनले पनि हिंसा हुनुहुँदैन भन्ने मान्छे, तर आवेसमा आएर यस्तो बोलेँ, क्षमा चाहन्छु’ भनेर आफूलाई सच्याए । आत्मालोचना गरे, अभिव्यक्ति फिर्ता लिए, रेकर्डबाट हटाउन सभाध्यक्षलाई आग्रह गरे ।
नरोत्तम बैद्य व्यक्तिगत रुपमा समाजसेवी व्यक्ति हुन् । उनले हिंसाका कुरा गरेको कसैले कहिल्यै सुनेको छैन । तर उनीभित्र कुन प्रकारले असन्तुष्टि गुम्सिएको रहेछ । उनको अभिव्यक्ति ओलीको पतन र आफ्ना पार्टी सभापतिको सत्ता गमनमा मात्र सिमित देखिन्न । उनको अभिव्यक्ति जनताप्रति जनप्रतिनिधिले दिएको अत्याचारको प्रतिध्वनी हो ।