डा.गोविन्द केसीलाई अनसन तोडाउन आफै पुगेका प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्य शिक्षा राष्ट्रिय नीति तर्जुमा गर्न उच्चस्तरीय आयोग नै गठन गरेर प्रतिवेदन बुझेको महिनादिनसम्म (असार १७ गते) पनि उनले त्यो प्रतिवेदन सार्वजनिक गर्न सकेका छैनन्। यसकारण जसरी माधवकुमार नेपालको पालामा खनिया आयोगको प्रतिवेदन कुहाइयो, अहिले केदारभक्त माथेमा आयोगको प्रतिवेदन पनि तुहाइने षडयन्त्र हुनथालेको छ। देशका प्रधानमन्त्री नै यति दयनीय भएपछि प्रश्न उठेको छ– आखिर सरकारभन्दा माफिया नै बलियो रहेछन्। डा.गोविन्द केसी अनसनमा बस्दा मरे मरुन् केसी, मरे हुन्छ भन्ने राजेन्द्र पाण्डे एमालेका धादिङका सभासद हुन्। उनी मनमोहन मेडिकल कलेज, सीतापाइलाका अध्यक्ष पनि रहेका छन्। छिटोभन्दा छिटो संविधान घोषणा गरेर एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने भएपछि एमालेका स्वास्थ्यमन्त्री खगराज अधिकारी र कांग्रेसका मेडिकल माफिया (सिंचाई मन्त्री एनपी सावद) सभासदहरुलाई हात लिएर मेडिकल माफियाहरु माथेमा प्रतिवेदनलाई तुहाउने षडयन्त्रमा लागेका छन्। यसको नेतृत्व ऊँ हस्पिटलका प्रमुख र नेपाल मेडिकल कलेजका अध्यक्ष डा.भोला रिजालले गरेको देखिएको छ।
मेडिकल माफियाहरु सकेजति दबाब सिर्जना गर्न अघि सरेका छन्। यही कारण प्रतिवेदन सार्वजनिक हुनसकेको छैन। प्रतिवेदनलाई संसदको सामाजिक समितिमा पठाएर बैठक नै नडाक्ने नीति एमालेले लिएको छ। माथेमा प्रतिवेदन लागू हुने हो भने भएका मेडिकल कलेज पनि डुब्छ भनेर स्याल हुइया मच्चाउन खासगरी एमालेका नेताहरु संलग्न देखिन्छन्। शिक्षामन्त्री चित्रलेखा यादवले समेत मेडिकल माफियालाई साथ दिएको आरोप लाग्न थालेको छ। सुशील कोइराला विचरा, एक्लो बृहस्पति बन्न पुगेका छन्। भनिन्छ, कांग्रेसका साउद र यादवको केही मेडिकल कलेजमा हिस्सा रहेको छ। मुख्य सचिव लिलामणि पोखरेलले मन्त्रीहरु आफै प्रतिवेदन पढिरहेका छन्, कहिले पास गरेर कहिले पारित गर्ने? केही भन्न सकिन्न भनेबाट थाहा हुन्छ, मन्त्रीहरु यो प्रतिवेदनलाई तुहाउन चाहिरहेका छन्। माथेमा आयोगले शुल्क ३५ लाख र कोटा सय तोकेको छ। अहिले ५० लाखसम्म उठाएर १५० कोटामा पढाइरहेकाहरु रिसाएका छन् भने नयाँ मेडिकल कलेजलाई राजधानीमा बन्देज लगाइएको छ। पिजी फ्री गर्न र पिजी गरेपछि जिल्लामा काम गर्न अनिवार्य व्यवस्था पनि सुझाएको छ। नेपालगञ्ज मेडिकल कलेजका प्रमुख सञ्चालक सुरेश कनौडिया सुशील कोइराला निकट रहेकाले उनैलाई माथेमा प्रतिवेदन फासफुस पार्ने ठेकेदारी दिइएको एक निजी मेडिकल कलेजका प्रोमोटरले बताएका छन्। शेखर कोइराला समेत सुशील कोइरालालाई असफल पार्न माथेमा आयोगको प्रतिवेदनको विरुद्धमा उभ्याइएको छ। सरसर्ती हेर्दा डा.गोविन्द केसी र प्रधानमन्त्री सुशील कोइरालालाई असफल पार्न मेडिकल माफियाहरुले चक्रव्यूहको रचना गरिसकेका छन्। केपी ओली सत्तामा उक्लानासाथ माफियालाई ब्रम्हलूट गर्ने सुनौलो मौका मिल्ने पक्कापक्की छ।
स्वास्थ्य शिक्षानीति शुद्ध पार्न र बिकृति समाप्त पार्न ५ पटक अनसन बसिसकेका डा.गोविन्द केसी फेरि अनसनको तैयारी गर्दैछन्। व्यक्तिगत स्वार्थ नभएका गोविन्द केसीहरुको चिन्ता र चासो लिने आम नागरिकहरु हुन्, यो युद्धमा नागरिकको जित हुन्छ कि माफियाको?