Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सरकार, संसद, सांसद जनतातिर फर्कने कहिले ?

०३ सोमबार , जेठ २०७८३ बर्ष अगाडि

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपत्कालीन सहयोग चाहिएको छ भनेर आवाज उठाएको पनि हप्तौं भइसक्यो ।
यति हुँदा पनि ओली सरकारले स्वास्थ्य आपातकाल लगाएको छैन, सर्वदलीय सहमति गरेर विश्वजगतसँग आपातकालीन सहयोगका लागि आग्रह पनि गर्न सकेन । देशमा ३२ हजार एनजीओ छन्, सयौं आइएनजीओ छन्, झण्डै तीन दर्जन राजदूत, वाणिज्यदूत, सांस्कृतिक दूत, स्थायी प्रतिनिधिहरू छन्, तिनलाई नेपालमा बढ्दो कोभिड १९ को संक्रमण नियन्त्रण र संक्रमितको उपचारका लागि सहयोग जुटाउन सक्रिय पार्न सकेको अवस्था पनि छैन ।
संक्रमण गाउँस्तर सम्म फैलिसक्यो । अहिले जे जति स.क्रमणबारे दुःखद खबर आइरहेका छन् ती अस्पताल पुगेका, उपचार नपाएका, अक्सिजनले ज्यान गुमाएकाको मात्र आइरहेको छ । सदरमुकामकबाट धेरै टाढाका गाउँमा, गुड्ने अथवा उड्ने सवारी साधनबाट अस्पताल पुग्न नसक्ने समुदायमा कोरोना महामारीले के कस्तो उत्पात मच्चाइरहेको छ, कुनै खबर छेन । संघीयता मात्र होइन, सरकार संविधान, संसद, जनप्रतिनिधि सबै असफल भएका छन् ।
काठमाडौं । एमाले २०७५ तिर फर्कनेरे, माओवादी २०६४ तिर फर्कनेरे, कांग्रेस २०१५ सालतिर फर्केला, राप्रपा फर्कने सत्तातिरै हो, मधेसवादीहरू फर्कने पनि सत्तातिरै हो । घरघरमा कोरोना संक्रमणले चित्कार छ, अक्सिजन र औषधिको अभावमा अस्पतालतिर कहालीलाग्दा दृश्यहरू छन्, मूर्दाघरहरू नागरिकका शवले भरिएका छन्, चिहानतिर मान्छे जलाएको हो कि संविधानमा डढेलो लागेको हो, छुट्याउन मुस्किल छ । यस्तो भयावह अवस्थामा सबैले फर्कनुपर्ने पीडित जनतातिर हो । जवाफदेहीता कसैले पूरा गरिरहेका छैनन्, जिम्मेवारहरू निजी स्वार्थका बन्दी बनेको अवस्था देखिन्छ ।
यहाँसम्म कि भूकम्पका बेला दानमा आएका त्रिपाल, अहिले दानमा आएका अक्सिजन सिलिण्डरसमेत घरमा लगेर जम्मा गर्ने सांसद पनि फेला परे । योभन्दा राजनीतिले गरेको जनअपराध के हुनसक्छ ?
यस्तो महाविपतमा छन् मुलुक र मुलुकवासी । जनताप्रति जिम्मेवारहरू जनतातिर फर्कदैनन् । अन्धो हुनु भनेको आँखामात्र नदेख्नु होइन, यी दृश्य देखेर पनि मानवीय संवेदना नपलाउनेहरू पनि अन्धा हुन् । मान्छेमा अन्तरदृष्टि पनि हुन्छ, मुटु हुन्छ, सरकार, सांसद, प्रशासक, उद्यमी, व्यापारी, सामाजिक अभियन्ताहरू सबै अन्धा लाग्छन् । किनकि महाविपतमा फसेको राष्ट्रमा राजनीतिक विभाजन देखिन्छ । एक मत र एक स्वरले, हातमा हात मिलाएर देशमाथि बज्रिएको यो कोरोना बज्रपातविरूद्ध लड्ने एकता पटक्कै देखिदैन ।
लोकतन्त्र चलाउने लोक भएर हो । संविधान, संसद र सांसदहरू चल्ने पनि लोक भएर हो । मुटुलाई चाहिने अक्सिजन नपाएर लोक मरिरहेका छन्, लोकप्रति जवाफदेही, समाजप्रतिको कर्तव्य भएकाहरू सत्ता र स्वार्थतिर फर्किरहेका छन् । जनतातिर फर्कने कहिले ? जनता नै रहेछन् भने लोकतन्त्र, संविधान, उद्यम, व्यापार राख्ने चलाउने कहाँ ? कात्रोमा खल्ती हुँदैन भन्ने मान्छेको अन्तिम सत्य शक्तिका पूजारीहरूले बुझ्ने कहिले ?
यस्तो महामारीमा पनि प्रधानमन्त्रीले शपथ खाएको भएन, ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द छुटाएकाले र राष्ट्रपतिलाई ‘त्यो पर्दैन’ भनेकाले संविधानको उल्लंघन भयो, फेरि शपथ खानुपर्छ भन्ने बहस चलेको छ । सांसद नभएका सात मन्त्रीहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी, दावा तामाङलगायतलाई बर्खास्त गर्नुपर्छ भनेर सर्वोच्चमा रिट पनि हालेको देखियो । राष्ट्रको, संविधानको अपमान भएको जिकिर गरिएको छ । प्रधानमन्त्रीलाई काम गर्न गराउन रोक्नुप¥यो भन्ने रिटमा आजै बहस हुने तिथि तोकिएको छ । अदालतले तत्काल उपचार व्यवस्था मिलाउ भन्न छाडेर यस्ता मुद्दाको किनारा लगाउनु छ ।
प्रधानमन्त्री ओली भन्छन्– हामीमा इम्युनिटी शक्ति छ, यस रूपमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइन ।
वन मन्त्रीले भनेछन्– शव जलाउन दाउराको कमी नहोस्, शव जलाउनेलाई एक हजार भत्ता बढाइदिन्छु ।
जसपाका उपेन्द्र यादव भन्छन्– सरकारले नियुक्त गरेको ११ राजदूतहरूमा मधेशी, आदिवासी जनजाति, महिला, दलित, थारू लगायतका समुदायहरूलाई उपेक्षा र विभेद गरियो ।
डा.बाबुराम भट्टराई भन्छन्– प्रम ओलीलाई बालुवाटारमै भेटेर राष्ट्रिय सरकार गठन गरौं भनेकै हो ।
प्रधानमन्त्रीसँग झगडा गरौंला, संविधान उल्लंघनका विषयमा पनि बहस गर्न सकिन्छ । सरकारका नीति, निर्णयहरू किन गलत भइरहेका छन्, यसमा पनि विषद छलफल हुनुपर्छ । सरकारलाई सही ट्याकमा ल्याउने जिम्मेवारी सबैको हो । भ्रष्टाचारविरूद्ध आन्दोलन हुनुपर्छ, भ्रष्टाचारीलाई कडा कारवाही गर्नुपर्छ । तर यति नै बेला किन ? अकालमा मरिरहेका जनतालाई कसरी बचाउने, सही सुझाव दिएर र एक भएर पहिले जनता बचाउने कि सत्ताप्राप्तिकै झगडामा लागिरहने ?
जनता सडकमै, एम्बुलेन्समै, ट्रक–टेक्टरमै, बेड र अक्सिजन नपाए मरिरहेका छन् । तिनलाई बचाउने कसरी ? अक्सिजन, औषधि र खोप छिटो ल्याउन आआफ्ना हैसियत र सामुहिक प्रयत्न गरिहाल्नुपर्ने हो । संसद, सरकारले सामुहिक रूपमा विश्वलाई गुहारेर यो महाविपतबाट बच्न बचाउन प्रयास गर्ने बेलामा पनि सरकारको आलोचना, सत्ताको लोभ र खुट्टा तानातान । यस्तो पनि राजनीतिक धर्म हुन्छ ? लोकतान्त्रिक गरिमा यही हो ?
प्रम केपी ओलीले जे जति गल्ती गरेका छन्, त्यसको बहीखाता खोलेर दण्डित गर्ने असामान्य स्थिति सामान्य भएपछि हो । यो असामान्य स्थितिमा राजनीतिक सत्ता झगडालाई थाँती राख्नुपर्छ । खुट्टा तान्ने प्रवृत्ति रोक्नुपर्छ । जनसेवामा जुट्नुपर्छ । यो समय कोरोना संक्रमण रोक्न, संक्रमित जनतालाई बचाउन प्रयास गर्ने समय हो । एक भएर नलागे यो कोरोना डढेलोले न सत्तामा रहेका, न सत्ताको चाहना राख्ने, सबैलाई खरानी बनाउने निश्चित छ ।