Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

स्वास्थ्य सावधानी अपनाऔं

१३ सोमबार , बैशाख २०७८४ बर्ष अगाडि

काठमाडौं । दोष सरकारलाई मात्र दिएर कोरोनाको बाढी रोक्न सकिने अवस्था छैन अब । कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न नागरिक, स्थानीय सरकार, जनप्रतिनिधि र राज्यसंयन्त्र सबै लागेमा मात्र संक्रमणको जोखिमलाई कम गर्न सकिनेछ ।
मर्ने मार्ने कि बच्ने बचाउने, यो बेलाको अहं प्रश्न यही हो । यही प्रश्नमा राजनीतिक झगडा रोकिनुपर्छ, सबै खालका विवादहरू थाँती राखिनुपर्छ र सबैको सामुहिक प्रयत्नबाट कोरोनाको बढ्दो संक्रमण रोकेर महाप्रलयसँग जुध्नुपर्छ । अन्यथा हाम्रो असक्षमताले हामी आफैलाई सखाप पार्नसक्छ ।
भारतमा हप्तादिनमा १६ हजार बढीको मृत्यु भइसक्यो । पहिलो चरणको कोरोनाबाट बच्न घर फर्केकाहरू रोजगारी र खानाको अभावमा पुनः रोजगारीका लागि भारत पसेका थिए । भारतमा महामारीको प्रलय नै आउन थालेपछि भारतमा रोजगारीमा गएकाहरू, अन्य मुलुकबाट समेत दैनिक हजारौं घर फर्किरहेका छन् । उनीहरू चेकजाँचमा कोरोना संक्रमण देखिए पनि घरघर गइरहेका छन् । यहीकारण कोरोनाको संक्रमण समाजमा भूसको आगोझैं फैलिन गएको छ । डाक्टरहरू भन्छन्– अझै नियन्त्रणमा ल्याउन सकिन्छ, सिंगो मुलुकको प्राथमिकता कोरोना संक्रमण रोक्नतिर लगाउनु प¥यो । भारतसँगका १८५० किलोमिटर खुला सीमा छ । जतिसुकै नियन्त्रण गरे पनि चोरबाटोबाट आवतजावत बाक्लिदै गएको छ । त्यसमाथि सीमापारीका बजारमा सस्तो पाइन्छ भनेर किनमेलमा जाने र फर्कनेको लर्को घटेको छैन । संक्रमणलाई रोक्नका लागि जनप्रतिनिधिहरू उदासीन हुनु अचम्म छ । कोरोनाले सांसदसमेत चपाइसक्दा चेत आएको छैन । नेपालमा दैनिक २८ जना मर्न थालिसके । भेरी अस्पतालका डाक्टर भन्छन्– कोरोना संक्रमितको भार थेग्न नसकिने गरी बढेको छ । सबैभन्दा बढी कोरोना संक्रमित राजधानीमा देखिन थालेका छन् । फेरि लकडाउन गर्ने कि स्वास्थ्य सावधानी अपनाउने ? भन्ने विषयमा व्यापक बहस सुरू भएको छ ।
अर्थात, समाज आतंकित भइसकेको छ । दोस्रो चरणको कोरोना भाइरसले बालबालिकालाई बढी आक्रमण गर्न थालेको विज्ञहरू बताउँछन् । यहाँसम्म कि कोभिड–१९ को जोखिम केही हप्तामै उच्च विन्दुमा पुग्नसक्छ भनेर स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिकाको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनले नेपालमा अबको ३ महिनामा २ लाखभन्दा बढी संक्रमित थपिनसक्ने प्रक्षेपण गरेको छ । त्यस्तै मृतकको संख्या दैनिक १५० पुग्नसक्ने पनि जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको सावधानीका ५ उपायहरू यस्ता छन्– १. स्वघोषित लकडाउन र सामाजिक दुरी कायम गर्ने, २. शंका लागेमा समयमै कोभिडको जाँच गर्ने, ३. होम आइसोलेसनको सुधृढीकरण गर्ने, ४. स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको तयारी गर्ने, ५.समुदाय र सम्बन्धित निकायको तयारी गर्ने । 
स्वास्थ्य मन्त्रालयले होम आइसोलेसनमा बस्नेले नआत्तिन, लक्षणहहरूको नियमति निरीक्षण  गर्न,  अक्सिजनको मात्रा जाँच गरी ९२ प्रतिशतभन्दा कम भएमा अस्पताल जान या कल सेन्टरमा सम्पर्क गर्न, स्थानीय तह र समुदायस्तरबाट सार्वजनिक स्थलहरूलाई आइसोलेसन सेन्टरको रूपमा व्यवस्थापन गरी अक्सिजनको जोहो गर्न भनेको छ । यही हप्ताभित्र यी तयारीहरू अघि बढाए समुदायस्तरमा संक्रमण नियन्त्रण हुनसक्ने सरकारको भनाइ रहेको छ ।
स्वास्थ्य साधनस्रोतको कमी भएको नेपालमा यस्तो प्रक्षेपण मात्र पनि सुनामी नै हो । यो सुनामीसँग लड्न सरकारले अब पार्टीगत र राजनीतिक मुद्दाहरूलाई थाँती राख्नुपर्छ । हरेक पार्टीले स्थानीयदेखि केन्द्र सरकारसम्मलाई साथ दिनुपर्छ । यो समय खेलाँची गर्ने समय होइन । यो समय राजनीतिक शक्ति प्रदर्शन गर्ने समय पनि होइन । तत्काल उद्घाटन, शिलान्यास र सबै प्रकारका बिबाद र बहसलाई ब्रेक लगाएर कोरोनाको कहरबाट बच्न र बचाउन सबैले साथ दिनु राजनीतिक र मानवीय धर्म पनि हो । राष्ट्रिय उत्तरदायित्व पनि हो । आमनागरिकले पनि कोरोना संक्रमण फैलिनबाट रोक्न आफ्नो कर्तव्य पूरा गर्ने समय यही नै हो । केही समय राजनीति गर्न छाडिदिउँ ।