Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेतायुद्धले जनताको बेहाल

०६ सोमबार , बैशाख २०७८४ बर्ष अगाडि

कोरोनाको नयाँ खालको भाइरसले महामारी निम्त्याएको छ । सयौं स्कूले बालबालिकासमेत संक्रमित देखिन थालेका छन् । हरेक दिन कोरोनाका संक्रमण र संक्रमितको मृत्यु संख्यासमेत बढ्न थालेपछि समाजमा सनसनी फैलिरहेको छ । कसरी कोरोनाबाट बच्ने र बचाउने भन्ने दायित्व सरकार, जनप्रतिनिधिको हो । नेताहरू सत्ता फेर्ने खेलमा लागेका छन्, सरकार आफू बच्ने खेलमा छ । नेतायुद्धले संवैधानिक र राष्ट्रिय संकटलाई गाँज्दै लगेको छ । कोही पनि जनताप्रति जवाफदेही देखिदैनन् । यो संविधानले देश र राजनीति व्यवस्थित गर्न सकेन ।
काठमाडौं । नेकपा पुरानै स्थान अर्थात एमाले र माओवादी केन्द्र बनेपछि प्रचण्ड ओलीलाई फाल्न पल पल युद्ध गरिरहेका छन् । एमालेभित्र प्रचण्डतिर लागेका माधवकुमार नेपाल–झलनाथ खनाल गुटबाजी गरेर ओलीलाई कमजोर पार्न विद्रोह गरिरहेका देखिन्छन् । केपी ओली कसरी पदमा टिक्ने र पार्टीभित्र र बाहिरका प्रतिद्वन्द्वीलाई साइजमा ल्याउने युद्धको जवाफ युद्धकौशलबाट दिइरहेका छन् । ओली भन्छन्– माओवादी केन्द्रको समर्थन चाहिंदैन, फिर्ता लगे हुन्छ । एमालेका माधव–झलनाथ विधान र संविधानअनुसार पार्टी फुटाउन सक्दैनन्, पार्टीभित्रै संघर्ष पनि गरिरहेका छैनन् । माओवादी केन्द्र समर्थन फिर्ता लिए प्रधानमन्त्री फेरि मध्यावधिमा जाने खतराले गर्दा अशोभनीय गाली गरेर राजनीति गरिरहेको देखिन्छ ।
यति नै बेला प्रधानमन्त्रीले सभामुखविरूद्ध मुख खोल्दै संसदमा दर्ता भइसकेको एमसीसी विधेयक किन पेश नगरेको भनेर नयाँ युद्धमोर्चा खोलेका छन् । सभामुख अग्निप्रसाद सापकोटा मलाई घेराबन्दी गरिएको छ, दबाब बढेको छ, विवेकले काम गर्छु, जस्तोसुकै खतरा मोल्छु भनेर पत्रकार महासंघको पदस्थापना कार्यक्रममा गएर प्रधानमन्त्रीलाई ओठे जवाफ फर्काएका छन् ।
यता प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले भनेका छन्– एमसीसी पास नभए त हामी अप्ठेरोमा पर्छौं । ओली एमाले र नेपाली कांग्रेसमा एमसीसी पारित गर्नुपर्ने मतो मिलेको छ ।
एमसीसी पास गर्न हुन्न भनेर माओवादी केन्द्र र ओलीविरोधी एमाले कस्सिएर लागेका छन् । जबकि डा.सुरेन्द्र केसीका अनुसार एमसीसीका जन्मदाता प्रचण्ड र वर्षमान पुन हुन्, सही गर्ने कांग्रेसीका पालामा अर्थमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्की हुन् । एमसीसीका कडा विरोधी रहेका भीम रावल स्वयम पनि एमसीसीमा संलग्न थिए । एमसीसीका सम्बन्धमा विगतका ६ सरकार दोषी छन् ।
यता विश्लेषक सौरभ अनुसार एमसीसीले नेपाललाई अप्ठेरोमा पारेर यता न उताको पार्ने खतरा देखाउँछन् । नेपाल कसरी बाँच्ने, कतिसम्म अघि बढ्ने, कति पछि हट्ने, आफैले निर्णय गर्नुपर्ने उहाँको मत रहेको छ । तर राजनीतिको चालामाला हेर्दा लाग्छ– नेपाल न हाँसको न कुखुराको चालमा छ । यसरी हामी पुग्ने बर्बादीमा नै हो ।
प्रधानमन्त्री सभामुखलाई एमसीसी विधेयक पेश गर्न दबाब दिइरहेका छन् । एमसीसी ठूलै कचिङ्लका रूपमा राजनीतिक मुद्दा बनेको छ । प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेर हरेक दिन कोकोहोलो मच्चाउने प्रचण्डदेखि माधव नेपाल, झलनाथ खनाल, भीम रावल जोसुकै हुन्, त्यो विधेयक संसदमा पेश भयो भने कसैले विरोधमा मत हाल्ने हिम्मत गर्नेछैन । तर सडकमा भन्छन्– एमसीसी राष्ट्रघाती छ । राष्ट्रघाती छ भने संसदमा पेश गरेर फेल गराइदिए त भइहाल्यो । त्यो कर्म गर्ने ढाडमा हाड कसैमा नभएरै प्रचण्ड निकट सभामुख अग्निप्रसाद सापकोटा त्यो विधेयक अड्काएर बसेका छन् । अर्थात् नेतायुद्धमा ओली र ओलीविरोधीका लागि ब्रम्हास्त्र बनेको देखिन्छ ।
जुन संविधानले पार्टी राजनीतिलाई नै त्रस्त पारेको छ, अनिर्णयको बन्दी बनाउँछ र निकास दिन सक्दैन । नेताहरूलाई आपसी युद्धमा होम्छ, त्यस्तो संविधानले देश कतिदिन चल्ला ?