Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चुच्चे भागमा जनगणना नहुने

२३ सोमबार , चैत्र २०७७४ बर्ष अगाडि

कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको नक्सामा जोडियो, संविधानमा स्थापित भयो । उपभोग भारतले गरिरहेको भए पनि अब ती क्षेत्रहरू नेपाल हुन् । नेपालको हकभोगमा ल्याउनका लागि समेत ती क्षेत्रका सबै प्रकारका गणना हुनुपर्छ । ती क्षेत्रमा जनगणना होला कि नहोला ? यो विषय दिनदिनै गम्भिर मुद्दा बनेर बहसमा आउन थालेका छन् ।
‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ जेठ २५ देखि असार ८ गते सम्म १२औं जनगणना हुँदैछ । यो राष्ट्रिय कार्य हुँदै गर्दा चुच्चे नक्सामा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना होला कि नहोला ? केन्द्रीय तथ्याङ्क विभागका एक पदाधिकारीका अनुसार सरकारले अहिले सम्म यसबारेमा कुनै निर्देशन दिएको छैन । यो कूटनीतिक विषय भएकाले सरकारले नै निर्णय गर्नुपर्छ । यस सम्बन्धमा भारत सरकारसँग सम्बन्ध सुमधूर हुनुपर्छ, यी भूभागका विवादका बारेमा नेपाल–भारतबीच एउटा सहमतिमा पुग्नैपर्छ ।
संसदमा नेपाली भूभागबारेमा एकमत बनेको हो । ती भूभाग नेपालको हो भन्नेमा कुनै द्विविधा छैन । अनेक प्रमाणहरूले पनि ती भूभाग नेपालकै हुन् । यसकारण नेपालले प्रमाणका आधारमा भारतसँग आवश्यक वार्ता गरेर नेपाली भूभाग नेपालको हकभोग, हैसियतमा ल्याउन जरूरी छ । सीमा सुरक्षा र सीमाभित्रका नागरिकको सुरक्षा सरकारको पहिलो दायित्व पनि हो ।
नक्सा नेपालको हो, यहाँका बासिन्दा पनि नेपाली नै हुन् । तर नक्सामा रहेका यी भूमि भारतको कब्जामा रहेका छन् । दार्चुलाका प्रजिअ सिद्धराज जोशीका अनुसार ती क्षेत्रहरूमा जनगणना हुने नहुने कुनै निर्देशन प्राप्त भएको छैन । अर्थात् सरकारको निर्देशन नभएकाले तथ्याङ्क विभाग नै अन्यौलमा छ । यो अन्यौल छिटोभन्दा छिटो टुङ्गोमा पु¥याएर गणना हुनु आवश्यक छ ।
भारतीय सैनिक र सीमा सुरक्षा बलको कब्जामा रहेका ती नेपाली भूमिमा सरकारले निर्देशन दिए पनि घर घरमा पुगेर जनगणना गर्न सम्भव नभएको जिल्ला प्रशासन बताउँछ । तथापि निर्देशन प्राप्त भए गणक खटाउने प्रजिअले बताए । भूमि र त्यहाँका वासिन्दालाई गणनामा पन्छाएर गणना गरियो भने नेपालको सबै प्रकारका गणनामा सही तथ्याङ्क कसरी आउला ? यसपल्टको गणनामा उद्योग, व्यापार, व्यक्तिगत विवरण, शिक्षा, स्वास्थ्य, सुरक्षा, पशुपन्छीदेखि अनेक विषयमा गणना गरिदैछ । यसकारण पनि यसपल्टको जनगणना पहिले पहिलेको भन्दा बढी महत्वको मानिएको छ । भूभाग र बासिन्दा नै छाडेर गणना भयो भने महत्वपूर्ण कसरी होला यो गणना ?
पदमराज पाण्डे दार्चुलाका गणक अधिकृत हुन्, उनका अनुसार पनि कालापानी, लिपुलेक, लिम्पियाधुरामा गणना गर्न सहज छैन । गणना गर्न कुनै निर्देशन आएको पनि छैन । तोकिएको समयसम्म निर्देशन आयो र सहज वातावरण भयो भने गणना हुनसक्छ । प्रश्न जारी छ– गणना होला कालापानी, लिपुलेक र लिम्पियाधूरा क्षेत्रमा ?