Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उद्योगीले उद्योग चलाउने कि पार्टी राजनीति ?

१६ सोमबार , चैत्र २०७७४ बर्ष अगाडि

काठमाडौं  । उद्योगी, व्यापारी–व्यवसायीले उद्योगव्यापार चलाउने कि राजनीति ? अचम्मको दृश्य देखियो बालुवाटारमा । प्रधानमन्त्री खादा ओढाएर उद्योगीलाई एमाले प्रवेश गराइरहेका थिए, उपप्रधानमन्त्री टीका लगाइदिएर पार्टीमा स्वागत गरिरहेका देखिन्थे । नेपाली राजनीति सेवा होइन, व्यवसाय उद्योगमा परिणत भयो ।
प्रश्न उठेको छ, उद्योगीहरूलाई किन र कसले धमाधम एमाले पस्न बाध्य पा¥यो ? कि व्यापक धाँधली गर्न पाइने भएर उद्योगीहरू एमाले प्रवेश गरेका हुन् ? जे भए पनि अर्थतन्त्रको थप विनासको पूर्वदृश्य हो यो । उद्योग, व्यवसाय राजनीतिले चौपट पार्नेभयो । अचम्म, जुन जुन उद्योगीहरू राजस्व छलीमा थिए, मुद्दा चल्नेवाला थिए, गम्भीर आरोप लागेकाहरू थिए, ती सबै एमाले प्रवेश गरेका छन् । कतै यो छुट भैयाहरूको चोचोमोचो मिलाएर देश लुट्ने साजिस त होइन ?
धेरैको प्रश्न छ– पहिले मन्त्री र अहिले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार बनेका मोतिलाल दुगडले झण्डै २ सय ठूला उद्यमीलाई एमाले प्रवेश गराएर एमालेलाई अब आर्थिक संकट छैन, आउने चुनावमा मजाले पैसा खर्च गरेर चुनाव जित्न सकिने वातावरण बनाइदिएका छन् । दुगडले भनेका छन्– अरू १ सय पचास उद्यमी एमाले प्रवेश गर्ने साइत कुरेर लाइनमा बसेका छन् । प्रधानमन्त्री ओलीले उद्योग र व्यवासयीका कुरा राम्ररी बुझेका हुनाले नेपालका उद्यमी, व्यवसायी एमाले बन्दैछन् । अर्थात नेपालको उद्योग, व्यवसाय पुरै एमालेमय बनेको छ । यतिमात्र होइन, एकजना व्यवसायीले त एमाले कार्यालय राख्न थापाथलीमा ५ वर्षका लागि घरनै उपलव्ध गराएका छन् ।
केपी ओली प्रधानमन्त्री भएपछि उद्योगी र व्यापारीमाथि चन्दा आतंक बन्द भएयो, बन्द–हड्ताल अन्त्य भयो, लगानीको वातावरण बन्यो, विश्वको राजनीतिमा ठूला व्यापारी र उद्योगपतिले जे गरेका छन्, नेपालका व्यापारी उद्यमीले पनि त्यसैगरी, त्यही ट्रेन्ड फलो गरेर एमाले प्रवेश गरेका हुन् । मोतिलाल दुगड आफ्नो सफलतामा यसो भन्दै थिए– आफूले व्यवसायीका कुनै पनि सरकारी काम तीन दिनभित्र सकिने वातावरण निर्माण गरेकाले पनि निजी क्षेत्रका उद्योगी र व्यवसायी एमालेमा आकर्षित भएका हुन् । यस्तो अवस्था कुनै पनि सरकारको पालामा नभएको पनि दुगडको दावी छ ।
एमाले प्रवेश गरेका उद्यमी, व्यवसायीहरू भन्छन्– निजी क्षेत्रको समस्या समाधानमा सरकार सकारात्मक देखेकाले एमाले प्रवेश गरेका हौं । कुनै पनि व्यक्ति कुनै पनि विचार राख्न सक्छ, पार्टीमा संलग्न हुनसक्छ । तर यसरी लामवद्ध भएर पार्टीमा लागेको नेपालको उद्योग, व्यवसायको इतिहासमा पहिलो पल्ट हो । यसकारण प्रश्न उठेको छ– निजी क्षेत्रको काम फत्ते गराउनका लागि सरकारमा रहेको पार्टी प्रवेश गर्नैपर्छ ? राजनीतिक संरक्षण बिना नेपालमा उद्योग, व्यवसाय गर्न सकिने वातावरण छैन ? उद्योग चलाउन सत्तासँग जोडिनै पर्छ ?