Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतका कारण सार्क मर्नेभो

०९ सोमबार , चैत्र २०७७४ बर्ष अगाडि

काठमाडौँ । नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । सार्कको सचिवालय पनि नेपालमा छ । तर सार्क निस्तेज भएको ६ वर्ष लाग्यो । सुतेको सार्क कहिले ब्यूँझन्छ, कि यत्तिकै समाप्त हुन्छ, स्थिति स्पष्ट छैन ।
नेपालको कूटनीति असफल भयो । दक्षिण एसियामा प्रभावी रहेको भारत सार्कमा पनि प्रभावी रह्यो, भारतकै अनिच्छाका कारण सार्क सम्मेलन हुनसकेको छैन । केही समयअघि प्रधानमन्त्री ओलीले एक अन्तर्वार्तामा भन्नुभयो– भारत र पाकिस्तान ‘दुई छिमेकी मुलुकको असमझदारीले’ सार्क सम्मेलन आयोजना हुन नसकेको हो ।
१९औंसार्क सम्मेलन पाकिस्तानमा हुने पालो थियो । पाकिस्तान तैयार छ तर भारत मौन बसेर अनिच्छा देखाएकाले सम्भव भइरहेको छैन । पाकिस्तानलाई एक्ल्याउने रणनीतिमा लागेको भारतले सार्क सम्मेलन असम्भव बनाइरहेको छ ।
यो समय क्षेत्रीय स्थिरता, कोरोनाको महामारी, सीमापार आतंकवाद र जलवायु परिवर्तनका मुद्दासँग एकताका साथ मुकाविला गर्नुपर्ने थियो, भारत–पाकिस्तानको दुस्मनीको कालो छायाँ सार्कमाथि प¥यो । हरेक वर्ष आलोपालो सार्क सम्मेलन गर्ने प्रस्तावमा सही गरेको भारत सार्क छोड्न पनि सक्दैन, सक्रिय पार्न पनि चाहिरहेको छैन । अन्तिमपल्ट सार्क शिखर सम्मेलन २०७२ साल मंसिर १० गते नेपालमा भएको थियो ।
भारत पाकिस्तानको उरी र पठानकोठमा १७ सैनिक मारिएपछि भारतले सार्कको बारेमा बोल्न छाडेको हो । भारतले अफगानिस्तान, बंगलादेश र भुटानलाई साथ लिएर २०७३ को सार्क रोकपछि अगाडि बढ्न सकेको छैन । यतिबेला मिलेर सार्कले प्रभावकारी काम गर्ने बेलामा भारतले अवरोध गर्न नहुने सदस्य राष्ट्रहरू बताइरहेका छन् ।
पाकिस्तानमा राजदूतको भूमिका सफलतासाथ पूरा गरेर फर्कनु भएकी सेवा लम्साल यतिबेला परराष्ट्र प्रवक्त हुनुहुन्छ, उहाँ भन्नुहुन्छ– ‘नेपालले उपयुक्त मञ्चबाट सार्कलाई अघि बढाउनुपर्छ भनेर पहलकदमी गरिरहेको छ, हामी चाँडोभन्दा चाँडो जिम्मेवारी अर्को मुलुकलाई हस्तान्तरण गर्न चाहन्छौं र सबै तहबाट प्रक्रिया अघि बढिरहेको छ ।’ कूटनीतिज्ञहरू भन्छन्– अध्यक्ष र सचिवालय समेत रहेको नेपालले प्रभावकारी कूटनीतिक पहल गर्न नसकेकै हो । कोरोनाको महामारीलाई न्यूनिकरण गर्नसमेत सार्क अध्यक्ष नेपाल चुकेको छ ।
स्थिति अब भारत र पाकिस्तानको सहमति कहिले बन्छ र सार्क सम्मेलन र क्षेत्रीय स्थिरताको वातावरण बन्ला भनेर सबैले चिन्ता प्रकट गरिरहेको सुनिन्छ । मुख्य सवाल पाकिस्तानलाई एक्ल्याउन भारतले खडा गरेको बिमस्टेक हो । भारत बिमस्टेकलाई सार्कको विकल्प बनाइरहेको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि खाडी राष्ट्रहरूको समूह (बिमस्टेक) सक्रिय रहेको छ । नेपाल यसको सदस्य छ ।
यसैवीच भारतको सुरक्षा महानिर्देशक सुजन आर चिनआइका अनुसार पाकिस्तानलाई बाहिर राखेर सार्कलाई अघि नबढाए सार्क सक्रिय हुँदैन । यो अर्थपूर्ण अभिव्यक्ति हो ।