Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हामी विश्वकै विश्वासिलो शान्ति सेना - प्रधानसेनापति

०२ सोमबार , चैत्र २०७७४ बर्ष अगाडि

काठमाडौं । फागुन २७ गते महाशिवरात्रि, सेना दिवस । यसपल्टको सेना दिवस नेपालकै लागि विशेष रह्यो । कारण, प्रधानसेनापति पूर्णचन्द्र थापाले भन्नुभयो– हामी विश्वकै विश्वासिलो शान्ति सेना हौं ।
हो, सोल्जरमा यस्तो गौरव हुनुपर्छ । गौरव देश उठाउने उर्जा पनि हो । व्यवसायिक बनाउने उत्साह पनि हो । यस्तो गौरव प्रत्येक नेपालीले स्वतः स्फूर्त रूपमा गर्नसक्नुपर्छ । यसका लागि नेपाली सेनाले राजनीतिबाट यसैगरी टाढा बस्नुपर्छ तर राष्ट्रियतालाई छातीमै टाँस्नुपर्छ । जो कसैले राष्ट्रियतामाथि धावा बोल्छ, उसको नलीहाड फुटाइदिन सेना पछि पर्नु हुन्न । नेपाल छ र नेपाली छन्, नेपाली छन् र नेपाली सेना छ । यसकारण प्रधानसेनापतिको गर्विलो अभिव्यक्ति देशको आवाज हो, सबैले सुन्नुपर्छ ।
नेपालमा अन्तिम आस्था र भरोसाको शक्ति नेपाली सेना हो । विश्वमा विश्वशान्तिका लागि नेपाली सेनाको योगदान हो । नेपालमा अब्बल सेना, राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरूमध्ये सैन्य कूटनीतिमा नेपाल अब्बल छ । 
सन् १९५५ डिसेम्बर १४ मा नेपाल संयुक्त राष्ट्रसंघ सदस्य भएको हो । १९५८ मा सैन्य पर्यवेक्षकहरू क्याप्टेन बाधेन्द्रबहादुर रायमाझी, अर्जुन नरसिंह राणा, कनकशम्शेर जबरा, टीकाशम्शेर जबरा, गंगाबहादुर बिष्टबाट सुरू भएको नेपाली सेनाको शान्ति सेनामा भूमिका आज झन बढेर गएको छ । बलिदान पनि गरेका छन् । नेपाली सेनाका अनुसार सेवाको क्रममा ६६ जनाले ज्यान गुमाए, ६८ जना अंगभंग हुने गरी घाइते भए ।
यी र यिनै विषयमा अन्तर्वार्ता दिंदै प्रधानसेनापतिले भन्नु भएको छ– नेपाली सेनाका १ लाख ३० हजारले सेवा गरेर राष्ट्रसंघको विश्वासिलो सैन्य साझेदार भएको छ ।
नेपाली सेना प्राप्त उपलब्धिहरूमा खुशी छ । शान्ति सेनामा नेपाली सेनाको बढ्दो संख्याले व्यावसायिकता, र विश्वसनीयता झल्किाएका, नेपालको विश्वचित्र सकारात्मक तथा परराष्ट्रका उद्देश्यहरू प्राप्त भएका छन् ।
अहिले नेपाली सेनाको मार्च ७ (फागुन २३) सम्मको तथ्यांक अनुसार विश्वका विभिन्न १२ मिसनहरूमा ५ हजार १३९ सैनिक कार्यरत छन् । जसमा १८७ महिला छन् । राष्ट्रसंघले मागेको अवस्थामा शान्ति मिसनको संख्या दोब्बर बनाउन नेपाली सेना तयार छ ।
प्रधानसेनापति थापाले भन्नुभएको छ– नेपालको भू–राजनीतिक वास्तविकताको कारणले पनि संयुक्त राष्ट्रसंघले गर्ने आमन्त्रण र प्रयोजनमा बाहेक नेपालले आफ्ना फौज कहीं कतै पठाउनु हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालले आफ्नो तटस्थताको नीति कायम राख्नुपर्छ । जसबाट नेपालको शान्ति कार्य मिसनमा वैधानिकता मिल्छ ।
हो, नेपाली सेनाको यही र यस्तै गौरव गर्न लायक चरित्रका कारण पनि आन्तरिक र वाह्य दुबै रूपमा सफल रहेको छ । कहिले कहिले राजनीतिक स्वार्थका लागि नेपाली सेनालाई विवादमा तान्ने र राजनीतिक दल तथा नेताहरूजस्तै देखाउने प्रयत्नहरू भएका छन् । यसैले त नेपाली सेनाले सकल दर्जामा समान व्यवहार र विभेद तथा निषेधको अन्त गर्दै नैतिकहीन चरित्र देखाउनेहरूलाई कारवाहीको श्रृङ्खला पनि चलाउँदै आएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापा देशको स्थितिको आँकलन गर्दै नेपाली सेनालाई अनुशासित र मर्यादित बनाउन प्रयत्न गरिरहनु भएको देखिन्छ । प्रचारमा आउन नचाहने र काममा विश्वास गर्दा उचाइ बढेको छ ।