Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जनविद्रोहबाट एकाएक यसरी आयो शान्ति

२४ सोमबार , फाल्गुण २०७७४ बर्ष अगाडि

काठमाडौं । २०७७ साल फागुन २१ गते नेपालको राजनीतिक इतिहासमा उज्यालो दिनका रूपमा लिन सकिन्छ । यही दिन विद्रोही विप्लव माओवादी राष्ट्रिय सभागृहमा प्रधानमन्त्री र गृहमन्त्रीका साथमा प्रकट भए र देश बचाउन र जनजिविकाका लागि शान्तिपूर्ण राजनीतिमा आएको उद्घोष गरिदिए ।
यो सबै राजनीतिक नेताहरूका लागि अचम्मको घटना हो । कसैले सोचेका थिएनन् कि वम बोकेर विद्रोह गरिरहेका विप्लव यति सहज तरिकाले शान्तिपूर्ण राजनीतिक मूलधारमा आउनेछन् ।
तर आए, विप्लव प्रतिस्पर्धात्मक राजनीतिमा आए पछि प्रचण्डले पासा फ्याँके, उनी आफूसँग सहकार्य गर्न आउने प्रतिक्षमा छु । प्रचण्डले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन कुनै मेहनत गरेनन् । मेहनत गरे ओली र रामवहादुर थापाले, मेहनत गरे विप्लवका सहयोगी नेताहरूले र देशमा शान्तिपूर्ण राजनीतिको प्रारम्भ हुनगयो । राष्ट्रिय सभागृहबाट घोषणा भयो– अब देशमा विद्रोह छैन, आतंक छैन, शान्तिमात्र छ ।
हो, प्रधानमन्त्रीले कतिपय निर्णयहरू गलत गरेका छन् । आफ्ना मान्छेहरूलाई अन्धाधुन्ध नियुक्ती दिने अतिचार पनि गरेका छन् । भ्रष्टाचारीलाई च्याप्ने र अपराधीलाई खोकिलामा लुकाउने कार्य पनि गरेका छन् । उनलाई विधिको शासनका लागि सही मार्गमा ल्याउन नसकेको उनकै पार्टीका सहयोगी र संसदले हो । के गरून् ओलीले, भ्रष्टाचारी देख्यो कि टपक्क टिपेर फाल्छु भनेकै हो, आफ्नै दलका नेताहरूले खुट्टा तानेर बस्नै, उठ्नै र केही गर्नै नदिएपछि उनी संसद बिघटन गर्ने अवस्थासम्म पुग्न बाध्य भए । अझ आशंका थियो, आपातकाल र राष्ट्रपति शासनको । धन्न ओलीले अदालतको आदेशको पालना गरे, संसद डाके, संसदमा पहिलो दिन नै आफ्नै दलका नेता र विपक्षीले विरोध गर्दा भोलिसम्मका लागि स्थगित भयो । अदालतको नेकपा नाम ऋषि कट्टेललाई दिएपछि ओलीको हैसियत नेकपा एमाले र प्रचण्डको हैसियत नेकपा माओवादी केन्द्र बन्न पुगेको छ । अब के हुन्छ, भन्न सकिन्न ।
जेहोस्, विप्लवले बम, बन्दुक परित्याग गरे । जनताका सामु देश बचाउन र एकताका लागि शान्तिमार्गमा आएको घोषणा गरे, यस कार्यको सबैतिर स्वागत भएको छ । प्रशंसा भएको छ ।
नक्सा संविधानमा समेटिनु, सीके राउनपछि विप्लवलाई मूलधारमा ल्याउनु ठूलो काम हो ।
गृहमन्त्री रामवहादुर थापा बादलले नेपवहादुर कुवर विवेकको सहयोगमा विप्लवसम्म पुगे र वार्ताको वातावरण बनाए । यसका खास कडी थिए विप्लवका कमाण्डर उदयबहादुर चलाउने दीपक । विप्लव र सरकारवीच पुलको काम गर्ने अर्का हस्ती थिए ओमप्रकाश पुन । नभन्दै नतिजा निस्क्यो । विप्लव र सरकारवीच वार्ता भयो र विप्लव मूलधारमा आए ।
सुरूमा अनेक बुँदामा वार्ता भए पनि अन्ततः ३ बुँदामा सहमति बन्यो । आश्चर्य के पनि छ भने यी वार्ताका प्रसङ्गहरूको सुइँको प्रधानमन्त्री र गृहमन्त्रीबाहेक कसैलाई पनि थिएन । राष्ट्रिय अनुसन्धान विभागलाई पनि केही थाहा थिएन । यसबाट के थाहा हुनछ भने यो विभाग नेताका कार्यकर्ता भर्तिकेन्द्रमात्र हो ।