Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देश नै उधार्नेलाई सुधार्ने ?

२६ सोमबार , माघ २०७७४ बर्ष अगाडि

काठमाडौं । देश नै उधार्नेलाई सुधार्ने कसले ? सुधार्ने अन्तिम शक्ति भनेका जनता हुन् । भुइँ जनता हातमुख जोड्ने समस्यामा छन् । बाँकी जनता पार्टी पार्टीमा विभाजित भएका छन् । जनताको आवाज बोल्नुपर्ने नागरिक समाज, अधिकारकर्मी, बुद्धिजीवीहरू पनि दलहरूतिर बाँडिएका छन् । यो कस्तो देश हो, जहाँ देशका होइनन्, दलका बुद्धिजीवी भनेर चिनिन्छन् । हरेक बर्ग, समुदाय बिभाजित छन् । प्रचण्ड–माधवको जुलुसमा जाने पार्टी जनता, ओलीको बज्र बन्ने जनता ।
यस्तो नकारात्मक अवस्थामा सकारात्मक सुधार कसरी सम्भव छ र ? सकारात्मक संकेतहरू नदेखिएसम्म परिणाममा उत्साह कसरी आउँछ ?
विश्लेषकहरू भन्छन्– यी नेताहरूले भन्ने गरेका महान परिवर्तन, लोकतन्त्र, नयाँ नेपाल भन्ने उपलव्धिहरूका मूल भर, बल, स्रोत भनेकै एकदोस्राप्रतिको द्वेष, शत्रुता, झूठो प्रचारवाजी र आफूमात्र ठिक भन्ने भएपछि त्यसको सिकार देश बन्यो, भुइँमान्छे बने ।
देशमा लोकतन्त्र छैन, सेटिङ, सिण्डिकेट, व्यभिचारमात्र पन्पियो । यसका कारक यिनै नेताहरू हुन् जसले नीतिप्रति, आचारप्रति बेवास्ता गरे । यी आफै प्रदूषित भएपछि कार्यकर्ता र शासनव्यवस्थामा प्रदूषण हुनेनै भयो ।
नेपाली कांग्रेस भन्नोस्, भ्रष्टाचार र अनैतिकताको पहाड नै हो । नीति र सिद्धान्तमा बिचलन छ । हिजोको एमाले, माओवादी अर्थात आजको नेकपा पनि अनियमिता र निष्ठाहीनताको बगर नै हो । यिनै हावी छन् राजनीतिमा, सडकमा, सरकारमा । यिनै हावी थिए संसदमा, संसद पुनस्र्थापना भयो अथवा चुनाव नै गरियो भने पनि हावी हुने यिनै नेता र यिनका पिछलग्गूहरू हुन् । उधार्नेलाई सुधार्ने बल जनमतमा थियो, जनमत यिनकै पछाडि दगुर्छ, जयजयकार गर्छ भने नेतातन्त्र नआए लोकतन्त्र कसरी आउँछ ?
राष्ट्रपति विवादमा पर्नुभयो । प्रधानमन्त्री विवादमा हुनुहुन्छ । प्रत्येक दलका हरेक नेताहरू कुनै न कुनै अनियमिततामा जोडिएका छन् ।  स्वच्छ छवि भएका नेता एकजना पनि छैनन् । यस्ता नेताहरूमा लोकसंस्कृत िलोप हुँदै गएको छ । प्रधानमन्त्रीका पार्टीका मान्छेहरू सडकबाटै प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गरिन्छ भनेर हुँकार गरिरहेका छन् । ओलीले गृहयुद्ध नै खोजेको हो त ? भनेर शाकाहारी आन्दोलनले भएन भन्दै हिंसाका भाषा बोलिरहेका छन् । भुइँमान्छे के चाहन्छन्, सुन्न कोही तैयार छैनन् । भुइँमान्छेलाई भेडा बनाएर डो¥याउन, तर्साउन र आफ्ना आकांक्षा लादेर सुनाउन नेताहरू अग्रसर भइरहेका छन् ।
यो व्यवस्था लोकतन्त्र रे ? लोकतन्त्र भनेको सरकार फेर्नुमात्र हो ? एउटालाई गलहत्याएर आफू सत्तामा जानुमात्र हो ? बिगत १४ वर्षमा भएको यही आलोपालो, एउटालाई झार्ने र आफू सत्तामा उक्लने खेलमात्र भइरह्यो । आफू सत्तामा गएपछि सकेजति आफन्त भर्ति गरेर भ्रष्टाचार गर्नुमात्र यिनका लागि लोकतन्त्र भयो ? यस्तै लोकतन्त्र देखिने क्रम रोकिएको छैन र लोकतन्त्रप्रति भुइँमान्छेहरू असन्तुष्ट भइरहेका छन् ।
देश असन्तुष्टिको ज्वालामुखीमा छ । कुनबेला बिस्फोट हुन्छ, कोही भन्न सक्दैन । यस्तो यात्राबाट पुगिने कहाँ हो, त्यो पनि अनिश्चित छ । यसैले राजनीति बुझ्नेहरू चिन्ताग्रस्त छन् ।