Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यिनको झगडाले देश हार्नेभयो

१९ सोमबार , माघ २०७७४ बर्ष अगाडि

काठमाडौं । महाभारतमा भीमका नाति, घटोत्कचका छोरा बर्बरिक यस्ता महाबली पात्र थिए जसले कमजोर पक्षबाट युद्ध लड्ने बचन दिएका कारण श्रीकृष्णले बर्बरिकलाई चण्डीलाई आत्मबलि दिन प्रेरित गरे । उनका दुई इच्छा थिए– उनको शवलाई श्रीकृष्णले जलाउनु पर्ने र महाभारत युद्ध प्रत्यक्ष हेर्ने । त्यसपछि उनको शिरलाई पहाडको चुचुरोमा राखेर श्रीकृष्णले १८ दिने महाभारत युद्धको प्रत्यक्षदर्शी बन्ने सौभाग्य दिएका थिए । युद्ध समाप्तिपछि उसलाई सोधियो– यो युद्ध जित्नुमा पञ्चपाण्डवमध्ये कसलाई श्रेय जान्छ । बर्बरिकको जवाफ थियो– अहंकार सबै पाँचै पितामहमा थियो । नियम सबैले तोडेकै हुन् । महाभारतमा निर्णायक कोही थियो भने श्रीकृष्ण र श्रीकृष्णको सुदर्शनचक्र मात्र थियो । नेपालमा श्रीकृष्ण र सुदर्शनचक्र चलाउने को रहेछ ?
काठमाडौं । घमासान युद्ध चलिरहेछ । सत्ताधारी दलभित्रका सत्तामा रहेका ओली र सत्ता खोस्न अघि सरेका प्रचण्ड–माधवबीचको यो युद्धमा कसले जित्ला ?
राजनीतिमा चासो राख्नेहरु भन्छन्– अब के होला ? सबैको ध्यान अदालततिर छ, ओली र प्रचण्डतिर पनि छ । ओलीले हिन्दुधर्म र राजतन्त्र पुनस्र्थापना गर्ने भए भन्ने कोकोहोलो प्रचण्ड कित्ता मच्चाइरहेको देखिन्छ भने अब चुनाव त भयो भयो भन्छन् ओलीपक्ष । खुट्टा कमाएको प्रचण्ड–माधवपक्ष जबरजस्ती संसद डाकेर ओलीलाई बर्खास्त गर्ने धम्की पनि दिइरहेको छ ।
सत्ता ओलीको हातमा छ, बहुमत ओलीको हातमा छ, सडकमा ओली एकतिहाइ हुन् भनेर प्रचण्ड–माधव सत्ताका लागि मुख मिठ्याइरहेको देखिन्छ । बैधानिक रुपमा फाल्न नसकेपछिको यिनको भय भनेको प्रधानमन्त्रीले अध्यादेशबाटै संघीयता खारेज गरिदिने हुन् कि भन्नेसम्ममा देखिन्छ । हुन पनि प्रम केपी ओली जुनसुकै हदसम्म जानसक्ने संकेत दिनदिनै दिइरहेका छन् । सरकार नै सरकारवादी दलको विरुद्धमा सडकमा उत्रिएको र सबै प्रतिपक्षीहरु यता कि उता भन्ने स्पष्ट नभएको अन्यौलता बढेर जाँदो छ ।
दुबैथरिका युद्ध मैदानमा जनताको भीडको कमी छैन । भीड आँखा चिम्लेर यी नेताहरुको पछि लागेका छन् । यहाँसम्म कि ओलीका पछाडि लाग्ने जनता ताली पिटेर फर्कन्छन्, प्रचण्ड–माधवका पछि लाग्ने भीड ‘संविधान बिघटन गर्न आएको’ भनेर हँसाउँछन् । जनतालाई थाहा नै छैन, किन यी नेताका पछाडि लागेको भनेर ? आजका जनता हुस्सु बनेका हुन् कि बनाइएका ?
बजारमा चर्चा छ, दैनिक ज्याला कमाउन यो भीड नेताको मेला भर्न आएको हो । आफ्ना कार्यकर्ता, झोले पछि लाग्नु बुझ्न सकिन्छ, नेपाली समाजलाई यसरी खेताला बनाएर राजनीतिक उल्लू सिधा गरेको देखिनुले यी नेताहरु सत्तालोलुप धृतराष्ट्रमात्र हुन्, यिनमा देश र जनतालाई हेर्ने स्वच्छ दृष्टिकोण नै छैन । अहिले शक्ति प्रदर्शन र गालीगलौजको लाज पनि लज्जित हुनेखालको जुन नेकपाको गाईजात्रा चलिरहेको छ, सत्तारुढ दलको झगडा मैदानमै उत्रिएर न्वारानको बल झिक्दै हानाहान र मारामार चलिरहेको छ, यसले संविधान च्यात्ने र देश असफल पारेर विदेशी रणनीतिलाई सफल पार्नेमात्र उद्देश्य निहित देखिन्छ ।
किन प्रचण्ड–माधव खराव हुन्, किन ओली असफल र असक्षम हुन्, अब देशलाई र जनतालाई कसरी ससम्मान सवल बनाउने भन्ने एजेण्डा दुबैथरिका लडाकासँग छैन । मात्र एकदोस्रालाई हराउन वाणमाथि वाण हानिरहेका छन् । वाक वाण बिस्तारै पानीका फोहरा, लाठीबाट अश्रुग्यास, गोली, वम बिस्फोटतिर उन्मुख हुनेवाला छ । अन्ततः हार्ने जनताले हो, सकस जनतालाई हो, असफल हुने देश हो । यो कुरालाई बुझाउन भन्दा यिनकै भातभान्छाको झगडामा बल पु¥याउन नागरिक समाज, बुद्धिजीवी, अधिकारकर्मी लाग्नु आश्चर्यलाग्दो माखेसाङ्गलोमा च्यापिएर देश संकटबाट संत्रस्त बन्न पुगेको छ ।