Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारत र पश्चिमा चासो, चीनलाई छटपटी

०५ सोमबार , माघ २०७७४ बर्ष अगाडि

काठमाडौं । यसपटक नेकपाभित्रको राजनीतिक झगडा बाहिर बाहिर नेताहरुको पाखुरा सुर्कासुर्की देखिए पनि पर्दाभित्र अमेरिका–भारत र चीनको मल्लयुद्ध पो हुनथाल्यो । नेपाली राजनीतिमा १४ वर्षमा नदेखिएको लगौंटी खोलाखोलको दृश्यले माघे संक्रान्तिमा नुवाकोटको चतुरालेमा हुने गोरु जुधाइभन्दा पनि ठूलो रमिता चलिरहेको छ ।
हुँदाहुँदा परिवर्तनकारीहरुले परिवर्तनको हुर्मतमात्र लिएनन्, आफैले परिवर्तनको नाममा नयाँ लुगा भनेर लगाएर नाङ्गै भएको समेत चाल पाइरहेका छैनन् । एउटाले अर्कोलाई नाङ्गो छ भनेर गिज्याउने यो गाईजात्रे कलाले नेपालको परिवर्तन नेपालीले होइन, अरुले नै ल्याइदिएको रहेछ भनेर उनीहरुले नै स्पष्ट पारिरहेका छन् ।
नेकपाभित्र कसलाई लोकप्रिय र कसलाई अलोकप्रिय पार्ने रोष्टर तैयार गर्ने काम अमेरिकी इसारामा भारतले गरिरहेको छ । अखडामा मल्लयुद्ध चलिरहेको छ, विदेशी एम्पायरले कसलाई जिताउने हुन्, भन्न सकिन्न ।
हामी विधिको शासन, लोकतन्त्र, संघीयता, गणतन्त्र भनिरहेका छौं, यो त सब पर्दामा देखिने नाटकमात्र हुन् । असली खेल त अमेरिका र भारत एकपक्ष र चीन अर्को पक्षबीच घम्साघम्सी बनिरहेको छ । चीनको सुरक्षा चासोका कारण छटपटीमा चीन पनि छ । चिनियाँ राजदूत हाउ यान्छी पहिले पर्दा बाहिर र अहिले पर्दाभित्र सक्रिय हुनुहुन्छ ।
 भारतको जगजगी बढेको छ, चीनका राष्ट्रपतिसम्मको दूतको कुरालाई समेत नेकपाका नेताहरुको विदेशी डिजाइनको विभाजनमा काम गर्न सकेन । उत्तरको ड्रागन निराश हुने खालको छैन, यो एमसीसी र बीआरआईको छद्म युद्धको छायाँमा नेपाली राजनीतिले कुन कोल्टो फेर्ने हो भन्न सकिन्न । अमेरिका र चीनवीच शीतयुद्ध छ, भारत र चीनवीच सीमाक्षेत्रमा युद्धकोजस्तो तनाव छ ।  त्यसको खतरनाक छायाँमा नेपाल परेको छ । डुब्दो नेपाललाई सकुशल उतार्ने राजनीतिक र कूटनीतिक गोताखोर देखिदैन । गहन चुनौती हो यो ।
नेपालका नेता भनिएकाहरुमा कम्युनिष्टहरु सत्तामा छन् र सत्ताका लागि मारामार गर्न सडक र सत्ताको शक्ति तैयार भएको देखिन्छ भने भूमिगत शक्तिहरु पनि संगठित आक्रमण गरेर जनतन्त्रका लाग लड्ने आन्दोलनमा जुट्न थालेका छन् । यो देशमा गणतन्त्र त आयो, गणको आज पनि राजनीतिक औजारभन्दा बढी सम्मान हुनसकेन । गण अर्थात जनताले यी नेता र पार्टीका लागि कहिलेसम्म आफूलाई बली चढाइरहनु पर्ने होला ?