Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ठूला तीन दलभित्रै मारामार

२८ सोमबार , असार २०७२९ बर्ष अगाडि

नेपाली कांग्रेस, एमाओवादी र एमालेका शीर्ष नेतात्रय सुशील कोइराला, प्रचण्ड र केपी ओलीवीच संविधान जारी गर्ने मत मिले पनि यी तिनै पार्टीभित्र मतभेद चुलिएर गएको छ। कांग्रेसभित्र सभासद प्रदीप गिरीले अदालतको आदेश नमान्ने कस्तो लोकतन्त्रवादी हौं भनेर 'ऐनामा अनुहार हेर्न' नेतृत्वलाई सुझाव दिदै विद्रोह छेडेका छन् भने नेता खुमबहादुर खड्का हिन्दूराष्ट्रका लागि महाभियान नै चलाइरहेका छन्। बरिष्ठ नेता शेरबहादुर देउवालाई दिल्लीले साउन १५ मा 'खिर खान' निम्त्याएको छ, अर्का नेता रामचन्द्र पौडेलले पनि जेट एयरबाट दिल्ली जाने टिकट पाएका छन्। कांग्रेसको नेतृत्वको सत्ताको निर्णय र असोजमा सारिएको अधिवेशनमा सभापति को हुने भन्ने निर्णय पनि दिल्लीमा तय हुनेवाला छ। अर्थात भारतको भवानीपुरको भीडबाट ७ दशक अघि गठन भएको नेपाली कांग्रेसका लागि दिल्ली आज पनि निर्णायक थलोकै रुपमा रहेको देखिन्छ। दिल्लीलाई बैकुण्ठ ठान्ने कांग्रेसले लोकतन्त्रको यसरी महिमा मण्डन गर्छ भनेर सार्वभौम जनताले सोचेका पनि थिएनन्। अर्थात कांग्रेसको नेतृत्वतह दिल्लीको गोडा मलेर बक्सिस खाने प्रतिस्पर्धामा लागेको छ।
एमाओवादीका अध्यक्ष प्रचण्ड त आजै दिल्ली हान्निने भएका छन्। आफूमाथि दिल्लीवादी भन्ने दोष नलागोस् भनेर जेठ १ गते भारत र चीनका प्रधानमन्त्रीले नेपालको लिपुलेकलाई व्यापारिक नाका बनाउने सम्झौताको बिरोधपत्र २ महिनापछि बल्ल प्रचण्ड नेतृत्वको एमाओवादीले भारत र चीनलाई पठाएको छ। र, लिपुलेकको कुरा यो दिल्ली भ्रमणमा उठाउने पेरिसडाँडाले हल्ला गरेको छ। बिप्लव र बैद्यभन्दा पनि राष्ट्रियताका मामिलामा चिसो बनेका प्रचण्ड यथार्थमा यसपटक आफूलाई 'दिल्लीवादी हुँ' भनेर प्रमाणित गर्न र संविधान जारी गरेर शान्ति प्रक्रियाको टुङ्गो लगाएपछि आफूलाई नेपालको राष्ट्रपतिमा समर्थन माँग्ने झोलीतुम्बा बोकेर जान लागेका हुन्। जनमत र जनादेशबाट खस्किएका प्रचण्ड भारतादेशबाट राष्ट्रपति बन्न सक्लान्? किनकि राष्ट्रपति कांग्रेसलाई दिने भित्री सहमति भइसकेको छ र सभामुख सुवास नेम्वाङसमेत राष्ट्रपति बन्ने दौडमा अग्रसर भइसकेका छन्। पहिलो संविधानसभाको चुनावपछि प्रचण्ड र गिरिजाका वीचमा झगडा गराएर राष्ट्रपति पद मधेसका कांग्रेसी डा.रामवरण यादवको झोलीमा भारतले नै हालिदिएको थियो। विष्णुले छल गरेर सतीदेवी महादेवको हातमा कन्यादान गराइदिएजस्तो गरेर। यसैवीच असार २७ गते प्रचण्ड, बाबुराम र नारायणकाजीलाई अखिल क्रान्तिकारीले नाचघरको एकै मञ्चमा उभ्याइदियो। बाबुरामले महादेवले सतीदेवीको शव बोकेर हिडेजस्तो गर्दा मातृका, बिप्लव, बैद्यहरु फुटे। यसरी पीठ बनाउँदै जाने कि पार्टीलाई नयाँ बनाउने? भनेर प्रश्न गर्दै प्रचण्डलाई नेतृत्व छाड्न र पार्टीलाई नयाँ बनाउनुपर्छ भनेर प्रचण्डको सातो लिए। के चाहियो प्रचण्डले बाबुरामको तोडलाई मोड दिए र भने नयाँ भनेको गुटबाजी हो? र नारायणकाजीले पनि दुबैलाई व्यङ्ग कस्न पछि परेनन्। प्रचण्डले राजावादी, हिन्दूवादीलाई रोकेर संविधान बनाउने हिम्मत गरेको र छिटै नेपालको राजनीतिक पहलकदमी एमाओवादीको हातमा आउन लागेको स्वाद देखाएर लोभ्याए पनि। कसरी? प्रचण्डले खुलासा गरेनन्। यसरी माओवादीभित्र नेतृत्व विवाद चर्केर गएको छ।
एमालेभित्र ओली र माधव नेपालवीच खेलकुद मन्त्रीलाई लिएर चर्केको विवाद झन बल्झेर गएको छ। झलनाथ खनाल तैपनि राष्ट्रपति बन्न पाइन्छ कि भनेर ढुलमुले चरित्र देखाइरहेका छन्। माधव नेपाल भने ओलीविरुद्ध आफ्नो दरिलो मोर्चाबन्दीमा जुटेका छन्। एमालेभित्र पनि गुट र फुट व्यापक रुपमा बढेको छ। रह्यो, यी तीन ठूला दललाई साथ दिने फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारको। उनलाई मधेसवादीहरुले एक्ल्याईसकेका छन्। मधेसवादीहरु राजधानीलाई नाकाबन्दी गर्नेसम्मको धम्की दिन थालेका छन् र मधेसलाई आन्दोलनका लागि तताउने चाँजोपाँजो मिलाउन कस्सिएर लागेको देखिन्छ। मधेस तताउन सीके राउत र गुप्तासम्मले सघाइरहेका खबरहरु आइरहेका छन्।
संविधान जारी गर्न कस्सिएका ठूला दलहरुभित्र यसरी दलदल सिर्जना भइरहेकाले संविधान जारी भए पनि शान्ति र स्थिरताको पारी सुरु हुने विश्वास कम देखिन्छ। मात्र सत्ता परिवर्तनका लागि राष्ट्रिय सरकारको सगुफा छोडेर संविधान जारी गर्ने तैयारीमा जुटेका ठूला दलहरुसँग अन्य राजनीतिक शक्तिहरुको दूरी बढ्दै गएको छ। संविधान जारी भएपछि सबै ठिकठाक हुन्छ भन्ने भाषण कोरा लाग्न थालेको छ। महाभूकम्पपछि पुनर्स्थापना र पुननिर्माणमा जुट्नुपर्ने चुनौतीको सामना गर्न संविधान, नयाँ सरकार, नयाँ राष्ट्रपति र नयाँ सभामुखका लागि फलामकै च्यूरा बन्ने हो त?