Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पहिले आगो, अहिले ‘जागो’

१३ सोमबार , पौष २०७७४ बर्ष अगाडि

संविधान जारी भएपछि बिभेदकारी संविधानमा ‘आगो’ लगाउने मधेशी नेताहरुले संसद बिघटन भएपछि ‘जागो’ भन्दै संविधानको प्रतिरक्षामा निकालेको जुलुस र संविधानमाथि प्रहार गर्न पाइदैन भनेको तीब्र र उग्र आवाजले गजबको रमाइलो दिएको छ । मधेशी राजनीतिमा कुनै सिद्धान्त छैन, मुनाफाको व्यवसायमात्र छ भन्ने दृश्य पनि हो यो, विश्लेषकहरु भन्छन्– अवशरवादको योभन्दा ताजा उदाहरण अरु हुँदैन ।
काठमाडौं । कालो संविधान भनेर संविधानमा आगो लगाउने जनता समाजवादी दल अहिले संविधानको रक्षामा ढाल बनेर उत्रेको छ । संविधान दिवसका दिन २ नम्बर प्रदेशमा मन्त्रीसमेत संविधान जलाउन उत्रेका थिए, त्यो जनता समाजवादीलाई अस्वीकार्य भएको संविधान प्राणभन्दा प्यारो लागेको छ, किन होला ?
महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीमा डा.बाबुरसामको नयाँ शक्ति पार्टी मिसिनासाथ संविधान गायत्री मन्त्र बनेको छ जसपालाई ।
अब संविधान बिभेदकारी रहेन, संविधानको रक्षा गर्न जसपाले यू टर्न लिएपछि सडकमा गजबको दृश्य देखिएको छ । यसैलाई भनिन्छ, ताक परे संविधान, नत्र सडक गान ।
प्रधानमन्त्रीले संसद बिघटन गरेको विषयमा जसपाले भनेको छ– संविधानमाथि प्रहार भयो ।
जसपाका नेता राजेन्द्र महतोले प्रधानमन्त्रीलाई प्रतिगमनकारी भनेर आरोप लगाए– ‘प्रतिगमन गरेर संविधान बनाउने अनि त्यसमा पनि प्रतिगमन गर्ने’ प्रधानमन्त्रीको यो प्रतिगमन धेरै दिन टिक्दैन, प्रधानमन्त्रीलाई फाल्छौं ।्
हजारौं शहीदको रगतले लेखिएको संविधानलाई यति कल्का ढंगले समाप्त गर्न पाइन्न, संसद बिघटन संविधान बिरोधी छ । असंवैधानिक छ । जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई सबैभन्दा बढी आक्रोसित थिए । उनले संविधानको धारा ७६ मा संसद बिशिष्ट अवस्थामा मात्र बिघटन गर्न पाइने प्रावधान हो, प्रधानमन्त्रीको निर्णय र राष्ट्रपतिको स्वीकृति असंवैधानिक छ भनेर जुलुसलाई तताएका थिए ।
जसपाका नेताहरुको अभिव्यक्तिको निस्कर्ष थियो– ‘संविधान बाइबल, कुरान र महाभारत होइन । संविधान परिवर्तन हुने वस्तु हो । त्रुटि, कमी सच्याएर संविधान संशोधन पनि नगर्ने, बाइबल र कुरान बनाइदिने ?’ संविधानमा त्रुटिहरु छन्, संशोधन हुनुपर्छ, यसरी संविधानमाथि प्रहार गर्न पाइदैन । 
ताजा जनादेशमा जाने घोषणा भएपछि पुनः चुनाव जित्न मुस्किल पर्ने, खाइपाइ अहाएको खान्की रोकिने र आफ्नो हैसियत नरहने भयले जसपाका नेताहरु बढी चिन्तित भएजस्तो देखिन्थ्यो । राजधानीमा संविधानको रक्षार्थ ढाल बनेर उभिएका जनता समाजवादीको यो प्रदर्शनले जसपा कुन हदसम्मको अवशरवादी हो भन्ने चाहिं स्पष्ट पारेको छ ।
प्रचण्ड–माधव कित्ताको नेकपा र अन्य तह तप्काहरुसमेत संसद बिघटन गर्न पाइन्न भनेर सडक आन्दोलनमा निस्केका छन् । यही लस्करमा जनता समाजवादी पनि निस्किएको हो । बिरोध त प्रतिपक्षी नेपाली कांग्रेसले पनि गरिरहेको छ । तर यो विवादले राष्ट्रपति, प्रधानमन्त्रीलाई मात्र होइन, गणतन्त्रलाई समेत संवैधानिक संकटको भूमरीमा घुमाइरहेको छ ।