Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेकपा फुटे गणतन्त्र, धर्मनिरपेक्षता रहदैन

२२ सोमबार , मंसिर २०७७४ बर्ष अगाडि

काठमाडौं । नेकपा फुटे त्यसको दुस्परिणाम गणतन्त्र, धर्म निरपेक्षता रहँदैन, राजनीतिक स्थिरता पनि हुन्न भनेर नेकपा मसालका नेता मोहनविक्रम सिंहले हाउगुजी देखाएका छन् । र, नेकपाको एकता र एकताको सरकारमा जोड दिएका छन् ।
देश र जनताको आवाजको उपेक्षा गर्दै जनता सडकमा उत्रन थालेकोमा उखरमाउलो भएर हो वा कुनै अदृश्य शक्तिको लहै लहैमा लागेर हो, मोहन विक्रम सिंहले मंसिर २ गते विज्ञप्ति नै जारी गरेर नेकपाको एकतामा जोड दिएका हुन् ।
मोहन विक्रम सिंहले आफ्नो वक्तव्यमार्फत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य लाभको कामना गर्दै राजावादीहरूको सक्रियता, लिम्पियाधुरा–लिपुलेकमा सीमा अतिक्रमण, चीनसितको सम्बन्ध कमजोर पार्ने प्रयत्न, कोराना महामारीको दीर्घकालीन असर र अमेरिकी राष्ट्रपति निर्वाचनको चरित्र विषयमा पार्टीको धारणा सार्वजनिक गरेका छन् । दुई दुई पल्ट अनुरोध गर्दा समेत श्रीमतीलाई मन्त्री बनाउन नसकेका मोहन विक्रम सिंहले जनताको आवाजलाई किन उपेक्षा गरे आश्चर्य छ ।
प्रेसवक्तव्यको मुख्य बुँदाहरु यस्ता छन्–
१. आज हामीले सर्वप्रथम राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीको स्वास्थ्यलाभको कामना गर्दछौँ । 
२. नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखा परेको चरम प्रकारको अन्तरसङ्घर्षप्रति नेकपा (मसाल) ले गम्भीर चिन्ता प्रकट गर्दछ । यदि नेकपाभित्रको अन्तरसङ्घर्षको परिणामस्वरूप नेकपामा फुट हुन्छ वा त्यसको सरकारको विघटन हुन्छ भने त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता र राजनीतिक स्थिरतामा पनि पर्ने सम्भावना रहने छ । त्यस्तो हुन नदिनका लागि हामीले लगातार नेकपाको एकता तथा सरकारको स्थायित्वमा जोड दिएका छौँ र त्यो नीति कायम छ ।
३. जुन तत्वहरूले गणतन्त्र वा धर्म निरपेक्षतालाई खतम गर्न चाहन्छन्, उनीहरू नेकपाभित्र देखा परेको अन्तरसङ्घर्षबाट प्रसन्न नै भइरहेका छन् र, उनीहरूले यो चाहन्छन् कि त्यो अन्तरसङ्घर्षको परिणामस्वरूप नेकपामा फुट होस् र त्यसको सरकारको विघटन होस् ।
४. तत्कालीन एमाले र माओवादी केन्द्रका बिचमा भएको पार्टीएकतालाई हामीले स्वागत गरेका थियौँ ।  हामीले उनीहरूको बिचमा भएको चुनावी सहकार्य वा एकतालाई सकारात्मक रूपमा लिएका थियौँ र, त्यसलाई कायम राख्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।
५. हामीले उनीहरूलाई वा उनीहरूको सरकारलाई पुरै समर्थन गर्दछौँ भन्ने होइन । उनीहरूप्रतिको समर्थन विरोध र सङ्घर्षका बिचको समर्थन हो । उनीहरूका सबै गलत नीति र कार्यशैलीको हामीले दृढतापूर्वक र सम्झौताहीन प्रकारले विरोध गर्दै आएका छौँ र विरोध गर्दै जाने छौँ । 
६. नेकपाभित्र व्यक्तिगत रूपमा एकर्कालाई निम्नस्तरका गालीगलौजसम्म गर्ने जुन प्रवृत्ति देखा परेको छ, त्यसका लागि हामीलाई दुःख लागेको छ । यस सन्दर्भमा यो कुुरा पनि स्पष्ट हुनुपर्दछ कि दक्षिणपन्थी, उग्रवामपन्थी, मध्यपन्थी, गद्दार, राजापरस्त, काङ्ग्रेसपरस्त, सोभियत संशोधनवादी, चिनियाँ संशोधनवादी, भारतपरस्त आदि राजनीतिक शब्द हुन् र, तिनीहरूलाई व्यक्तिगत गालीगलौज वा चरित्रहत्याका आक्षेपको रूपमा लिनु सही हुने छ्र्रैन । 
७. नेकपाभित्र चलेको अन्तरसङ्घर्षको मुख्य कारण यो हो कि त्यसमा एउटा कम्युनिस्ट पार्टीको जस्तो कुरा परै छ—त्यो कम्युनिस्ट पार्टी नै नभएको कारणले त्यसले त्यस प्रकारको पद्धति अपनाउन नसक्ने कुरा प्रष्ट छ—एउटा बुर्जुवा प्रजातान्त्रिक पार्टीको जस्तो सङ्गठनात्मक पद्धति पनि अपनाउन सकेको छैन । बाँकी ७ पृष्ठमा
८. नेकपाभित्रका हद नाघेर आपसमा सङ्घर्ष गरिरहेका पक्षले आपसका अन्तर्विरोधभन्दा बढी यो कुराप्रति ध्यान दिनुपर्दछ ः उनीहरूको बिचमा फुट भयो भने त्यसबाट देशको राजनीतिमा कुन प्रकारका दुष्परिणाम हुने छन् ? राजनीतिमा मात्र होइन, त्यो स्थितिमा स्वयम् उनीहरूका लागि पनि साङ्घातिक प्रकारले ठुलो क्षति पुग्ने छ, सायद पुनः कहिल्यै उठ्न नसक्ने गरेर । त्यसप्रति उनीहरूको ध्यान जानुपर्ने आवश्यकता छ ।
९. आज देशका अगाडि भएका गम्भीर र जटिल समस्याप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । प्रथम, देशमा राजावादीहरूको सक्रियता बढेर गएको छ । बताइरहनुपर्ने आवश्यकता छैन कि उनीहरूले गणतन्त्र र धर्म निरपेक्षतालाई समाप्त गरेर राजतन्त्रको पुनस्र्थापना गर्न र नेपाललाई हिन्दू राष्ट्र बनाउन चाहन्छन् । त्यसका पछाडि भारतीय साम्राज्यवादी वा त्यहाँका कट्टर हिन्दूवादीहरूको सरकारले पनि मद्दत गरिरहेको कुरा बुझ्न गाह्रो पर्दैन । द्वितीय, हाम्राअगाडि लिपुलेक, कालापानी र लिम्पियाधुराको समस्या गम्भीर रूपमा देखा परेको छ । भारतले त्यो भूमिलाई आफ्नो भएको दावी गरेको छ र, त्यसको पक्षमा नेपाल सरकारलाई पनि झुकाउन पुरै दबाब दिने कुरा अनुमान गर्न गाह्रो पर्दैन । तृतीय, भारतीय साम्राज्यवादले चीनसितको नेपालको सम्बन्धलाई कमजोर पार्नका लागि पुरै दबाव दिने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । चीन पनि साम्राज्यवादी देश हो । तैपनि भारतीय साम्राज्यवादका हस्तक्षेपका विरुद्ध सन्तुलन कायम गर्नका लागि त्यससितको मैत्री सम्बन्धले हाम्रा लागि रणनीतिक महत्व राख्दछ । चतुर्थ, देशमा कोरोना भाइरसले महामारीको रूप लिँदै गइरहेको छ । त्यसले तात्कालिक रूपमा मात्र होइन, दीर्घकालीन रूपमा पनि ठुलै नोक्सान पुर्याउने कुरा स्पष्ट छ । त्यो अवस्थामा नेकपा वा त्यसको सरकारले यी वास्तविकताप्रति ध्यान दिएर पनि आफ्नाबिचका अन्तरविरोधबारे वस्तुगत र सन्तुलित दृष्टिकोण अपनाउनुपर्ने आवश्यकतामा हामीले मैत्रीपूर्ण सल्लाह दिन चाहन्छौँ ।
१०. अन्तमा हामीले अमेरिकाको राष्ट्रपतिको चुनाव ः पाश्चात्य प्रजातान्त्रिक प्रणाली वास्तवमा कति खोक्रो रहेछ ? त्यो प्रष्ट भएको छ ।