जेष्ठ नागरिक २९ महिनादेखि धर्ना बसिरहेका छन्, यी बा, आमाहरुको आवाज सरकारले सुनेन। विदेश जाने सन्तानहरु नेपालमा बृद्धाश्रम बनाउन चन्दा पठाइरहेका छन्, स्वदेशका सन्तानहरु यिनका सामान्य माग पुरा गरिरहेका छैनन्। यद्यपि सरकारमा सुशील कोइरालाजस्ता वृद्ध छन्, केपी ओलीजस्ता वृद्ध, बिरामीका पार्टी सरकारमा छ र सरकारको नेतृत्व लिन्छु भनेर कम्मर कस्दैछ, प्रतिपक्षी प्रचण्डदेखि मधेसी दलका पार्टीका नेतृत्वमा पनि बृद्ध नै छन्। राजनीतिका सामन्त बृद्धहरुले सामान्य नागरिक बृद्धहरुको मर्का बुझेनन्।
र, यसरी बुढा आमा, बाबुहरु यसैगरी २९ महिनादेखि 'शान्त धर्ना' दिइरहेका छन्। राजनीति र अधिकारकर्मी कसैमाथि पनि विवेक देखिन सकेन। यसैगरी धर्ना बस्दाबस्दै १२ जेष्ठ नागरिकको मृत्युसमेत भइसकेको छ। शासन, प्रशासन, नेता, नेतृत्व, समाज, अधिकारकर्मीमा संवेदना भएन भने बुढाबुढीहरु यसैगरी असरल्ल बनिरहन्छन्, यिनीहरु सडकमा आगो लगाउन सक्दैनन्, त्यसैले यिनको समस्या के हो? भनेर कसैले सोध्दैनन्, यिनको कुरा सुन्ने फुर्सद कसैमा देखिदैन। बुढाबुढीको ८ मागहरु सामान्य छन्– ५ सयको बृद्धभत्ता ३ हजार गरिदेउ। उपचारमा निशुल्क गरिदेउ र यताउता जाँदा ५० प्रतिशत यातायात भाडामा छुट देउ। यति सानो मागका बारेमा राजनीतिक नेताहरुले तत्काल सहमति हुनुपर्थ्यो, सरकारले तुरुन्तै संवोधन गरेर बुढाबुढीलाई सन्तानले हेरे वा नहेरे पनि सरकार छ भनेर आश्वस्त पार्नुपर्थ्यो। यी बुढाबुढीको आन्दोलन जारी छ, यिनले झरी, घाम, भुइँचालो केही पनि भनेनन् र अहिले पनि सडकमा यसैगरी धर्ना आन्दोलन गरिरहेका छन्।
बृद्धहरु भन्छन्– नेता, मन्त्री, प्रधानमन्त्री, उपप्रधानमन्त्री सबैलाई पटक पटक भेटियो, तिनीहरु आएर माग पूरा हुन्छ भनेर आश्वासन पनि दिए, तर हाम्रा माग २९ महिनादेखि संवोधन हुनसकेन। हामीलाई हुन्छ हुन्छ भनेर धोका दिने काममात्र भइरहेका छन्। ६० देखि १०२ वर्षसम्मका आमाबाहरु दैनिक राजधानीको मीनभवनमा धर्नामा बस्दै आएका छन्। यो कस्तो राज्य, यो राज्यका युवाहरु, अधिकारकर्मी, बुद्धिजीवी, सामाजिक अभियन्ताहरुले यिनलाई साथ दिने कर्तव्य सम्झेनन्। योभन्दा लज्जा र गैरजिम्मेवारीको विषय अरु के हुनसक्छ?
जेष्ठ नागरिक संयुक्त संघर्ष समितिका अध्यक्ष छन्– महाप्रसाद पराजुली। उनले विभिन्न जिल्लामा जेष्ठ नागरिकहरुले धर्ना आन्दोलन गरिरहेका छन्। हाम्रा माग पूरा नभए सम्म धर्ना आन्दोलन रोकिन्न भन्छन्। उपाध्यक्ष पूर्णमणि ढकालका अनुसार यातायात छुट दिने भनिए पनि व्यवहारमा लागू हुनसकेको छैन। परिचयपत्र बनाउ हजार लाग्छ, कहाँबाट ल्याउने? बेला बेलामा यस्ता बुढाबुढीलाई पनि प्रहरी लगाएर धरपकड पनि गरिएका घटना पनि भए। धर्नामा बस्नेहरुमा अधिकांश सन्तानले छाडेका, बृद्धाश्रममा फालिएका, छोराबुहारीले घरबाट निकालेका, बेवारिसे अवस्थामा छोडिएका, आफन्त कोही नभएका, बाँच्ने विकल्प केही नभएका र कर्मचारी, नेताका आफन्तजनसमेत रहेका छन्। यस्ता बृद्धबृद्धाले सन्तानले बाबुआमा जिवित हुन्जेल सम्पत्तिमा दावी गर्न पाउनु हुन्न भन्ने माग पनि गरेका छन्। सरकारी अधिकारीहरु मागप्रति राज्य सकारात्मक भएको भनेका छन् तर माग पूरा हुन सकेन।