Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रअको जंगी जहाजको सनसनी

१० सोमबार , कार्तिक २०७७४ बर्ष अगाडि

काठमाडौं । रअ जंगी जहाजमा आयो, नेपालको राजनीतिमा हल्लीखल्ली छाडेर गयो । सत्तापक्ष, विपक्षभित्रमात्र होइन, सुरक्षाविदहरुसमेत रअसँगको प्रधानमन्त्रीको गुप्तगुलाई षडयन्त्र भनिरहेका छन्, भारतीय हस्तक्षेप निम्त्याएको आरोप लगाइरहेका छन् । केपी ओलीविरुद्ध प्रचण्ड र माधव नेपालको प्रहारलाई निरस्त्र पार्न ओलीले राष्ट्रघात गरेको बताउनेको पनि कमी छैन । यथार्थ के हो, सनसनी जारी छ । मुख खोल्नुपर्छ ।
दुई तिहाइको सर्वशक्तिमान सरकार, नेपाली सार्वभौमिकताका लागि सडकदेखि संसदसम्म आमसर्वसम्मतिको अवस्था । नेपालको लोकतन्त्रको यति बलियो स्थितिमा रअका प्रमुख नेपाल के आएका थिए, हाम्रो राजनीतिमा ‘रअ’ले हलचल नै ल्याइदियो ।
कति कमजोर देखियो लोकतन्त्र, एउटा रअको प्रतिकारसमेत गर्नसक्दैन, रअले हल्लाएर हल्लिएको देखियो ।
यो चियाको कपमा आएको हलचल होइन । राजनीतिमा जुन प्रकारको ध्रुविकरण देखिन थालेको छ, यसबाट सत्तारुढ दल फुटको संघारमा पुगेको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सन्निकट अधिवेशनमा के हुन्छ, यसै भन्न नसकिने भयो । सरकार र लोकतन्त्रको अनुहार धमिलिएर गयो ।
नेपालमा चिनियाँ प्रभाव र दबाब बढेर गएको स्थितिमा भारतको यो नयाँ चलखेलले भारत कुनै पनि हालतमा नेपालमाथिको प्रभाव कम हुन दिने पक्षमा छैन भन्ने सन्देश दिएको छ भने नेपाली भूभाग कालापानी छाड्न तैयार रहेको तर लिम्पियाधुरा, लिपुलेक नछाड्ने भित्री भारतीय प्रस्तावसमेत लिएर रअ प्रमुख आएको भन्ने गाइँगुइँ चलिरहेकै छ । राजनीतिभित्रको राजनीति बुझ्नेहरु भन्छन्– भारत नेपालसँग सम्बन्ध सुधार्ने तर भारतीय सर्तमा सुधार्ने र भारतीय सेनाध्यक्षमाथि अप्रिय घटना नघटोस् भन्ने खबरदारी पनि गरेर गएको विश्लेषकहरु भन्छन् । यसैले बडा दशैंको शुभकामना सन्देश दिँदा प्रधानमन्त्रीले बुच्चे नक्सा प्रयोग गरेको भन्नेहरु पनि बाक्लै देखिन्छन् । असलियत के हो, जनतालाई आश्वस्त पार्ने प्रधानमन्त्रीले हो ।
रअका प्रमुख कात्तिक ५ गते केही घण्टाका लागि जंगी जहाज लिएर आएका थिए । दलबलसहित आएका रअ प्रमुख सामन्त कुमार गोयल किन आए, भारतले मुख खोलेको छैन, बीच बचाउ गर्दै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भनिरहेका छन्– भारतीय प्रम नरेन्द्र मोदीको सन्देश लिएर आएका हुन् । लिखित अनमति माँगेर आएका हुन्, दूत हुन् । यदि सन्देश बाहक हुन् भने प्रधानमन्त्रीसँग २ घण्टा ५५ मिनेटसम्म गोयलले गुच्चा खेलेर बसेका थिए कि गम्भीर छलफल गरेका थिए, सल्लाहकार केही बताउँदैनन् । सबै भनिरहेका छन्– दालमे कुछ काला है । काला है भने त्यो कालो के हो, खतरा त होइन ? देशविरुद्धका कुनै अपवित्र गठबन्धन त होइन ? हत्या, आमहत्या गराउने साजिसमा माहिर रअले कुनै खतरनाक चालबाजी चलिरहेको त छैन ? तर्साएको त होइन ?
के के विषयमा वार्ता भयो, कौतुहलता बढेको छ । दुवै देशवीच समस्या भनेको सीमा अतिक्रमण नै हो । सीमाकै विषयमा भारत र चीन युद्धको अवस्थामा छन्, नेपालसँग भारत वार्ता गरिरहेको छैन । बल्ल बल्ल टेलिफोनमा शुभकामना आदानप्रदान के भएको थियो, एक्कैपल्ट रअ प्रमुख नेपाल आएका छन् र राजनीति नै पल्टाइदिनेजस्तो धमाका गरेर गएका छन् । केही दिनपछि कसैको इसारामा कालापानी, लिम्पियाधुराक्षेत्र आफ्नो भनेर नक्सा जारी गरेको भन्ने स्थल सेनाध्यक्ष रणभणे नेपाल आउँदैछन्, नेपालको मानार्थ महारथी ग्रहण गर्न ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य राम कार्की भन्छन्– भूमि मिचेको र नेपालले जारी गरेको नयाँ नक्साले पनि एउटा राष्ट्रवादको बहस चलिरहेको छ । यो भेटघाटले दक्षिणी छिमेकीको परम्परागत प्रभाव बाँकी नै छ भन्ने पुष्टि गरिदिएको छ । भारत र चीन दुवै विश्व–राजनीतिमा आफ्नो हिस्सा खोजिरहेका राष्ट्र हुन् । यो भेटले सन्तुलनको अवस्था गुम्यो ।
नेपाललाई नुगाएर नेपालबाट केही लाभ लिन सकिन्छ कि भनेर भारतले नयाँ रणनीति अख्तियार गरेको हो भने पनि नेपाल सचेत हुनुपर्ने थियो, यही सचेतता भएन भनेर आमबिरोधको पोखरी ओलीमाथि खनिएको छ । राष्ट्रबाद दह्रो बनाउने विषयमा सोच्न जरुरी छ ।