Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लोक रुदा लोकतन्त्र यसरी हास्छ

१९ सोमबार , आश्विन २०७७४ बर्ष अगाडि

काठमाडौं । जहाँ जनता जनताजस्ता छैनन्, जनतामा स्वास्थ्य, शिक्षा, गाँस, बास, कपासको कुनै बन्दोबस्त छैन, त्यो देशमा किन राजा चाहियो, किन रानी चाहियो ?
७७ जिल्ला, ७ प्रदेशमा राजारानीहरु छन् । ७६१ सरकार छ, सबै सरकारमा राजारानीहरु छन् ।
कतिले चुनाव हारेका छन्, तिनलाई पनि राजारानी बन्नु छ । कति चुनाव जितेर पनि राजारानी बन्न पाएका छैनन्, तिनलाई पनि राजारानी बन्नुछ । सत्तारुढ दलका सप्पै कार्यकर्ता राजारानी । कोही टोले राजारानी, कोही झोले राजारानी । गणतन्त्र नेपाल भनेको त राजारानीको देश पो बन्यो ।
पहिले राजाले ८ करोड वार्षिक भत्ता खान्थे, शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा ५८ करोड चाहिन्छ भनेर छुट्याइदिए । अहिले त ३० अर्वभन्दा बढी खर्च गरेर ल्याएको संविधानले पनि धान्न छाड्यो । कति राजा, कति रानी । टोलदेखि सिंहदरवार, शितल निवास, गाउँ–नगर–राष्ट्रियसभा, प्रतिनिधिसभा जताततै राजैराजा, रानी रानी ।
स्वयंसेवीले कहिले भात बाँड्लान र खाउँला भनेर देशका चउर चउरमा गरीवहरु लाइन लागिरहेका देखिन्छन् । सत्ताधारी र चउरमा बाँडेको भात खान पाइन्छ कि भनेर आश गरेर बस्नेहरु सबै हाडमासुले बनेका मान्छे हुन् । तर विभेद कति ठूलो छ । एकथरि थोरै प्रभावशालीहरु लुटिरहेका छन्, काजु खाएर ¥याल काढिरहेका छन्, अर्काथरि धेरै दीनहीनहरु बाँडेको भात पर्खिरहेका छन् । दुखीहरु, गरीवहरु अस्पतालमा उपचार पाइरहेका छैनन् । शिक्षा, बास कता हो कता ? कोही पहिरोले थिचिएका छन्, कोही बाढीले बगाएका छन्, बाँचेका रोइरहेका छन् ।
रोएर बाँच्ने निरीह, कोही नहुने बेसहाराको सरकार हुनुपर्ने हो, न्यायालय हुनुपर्ने हो, सरकार कहाँ छ ?
सुकिलो मुकिलो सरकार, नेता, प्रशासकहरु नाङ्गै छन् जस्तो लाग्छ । यति अस्लिलहरु लोकतन्त्रका सञ्चालक हुँदा रहेछन् ? यस्तो दिन पनि देखियो ।
लोक यिनीहरुप्रति दया गरिरहेका छन्, घृणा गरिरहेका छन् । यिनीहरु कसैलाई लज्जाबोध भइरहेको छैन ।
संविधानविद भीमार्जुन आचार्य सोध्छन्– पहिलोपल्ट राज्यको ढुकुटी घाटामा गयो । कहाँ गयो त्यो धन ? सदुपयोग भएको भए कहाँ भयो ? म नागरिक प्रश्न गर्छु– सुख सुविधा, खानपान केही पनि कटौति गर्न टसमस गर्न नहुने ? लोक मरिरहेका छन्, अलिकति पनि नैतिकता बाँकी रहेन ।
ठूलासाना पत्रपत्रिकाहरुमा समाचार आइरहेका छन्– सुत्केरीले पेटभरि भात खान नपाएर आत्महत्या गरिन् । बच्चा च्यापेकी महिलाहरु पेटभरि भात खान पाए हुन्थ्यो भनेर पिलपिलाइरहेका देखिन्छन् । हरेक दिन २० जनाभन्दा बढी आत्महत्या गर्छन् भनेर सरकारको प्रहरी भन्छ । कहाँ छ लोकसरकार ?
धन, शक्तिभन्दा बलवान कोरोनाको महामारी फैलिएको छ । यो समय मानवता बचाउने समय थियो । तर ओली नेतृत्वको सरकारले भ्रष्टाचारभन्दा बढी केही गरेन । अव त प्रष्टै देखिनेगरी शासक प्रशासकहरु भ्रष्टाचार गरिरहेका छन् । लोक थरि थरिका महामारी, प्रकोप पीडित छन्, शक्तिशालीहरु यस्तो महामारीलाई कमाउने अवसर बनाइरहेका छन् । विश्वशक्ति अमेरिकाका राष्ट्रपतिका जोडी नै आइसोलेसनमा पुगिसके, ह्वाइटहाउस अस्पष्ट सूचना दिइरहेको छ । यो अवस्था आइसक्दा पनि गरीव मुलुकका राजारानीहरु आफ्नै सुखसयलमा चिन्तित छन्, भोकभोकै परेका लोकको चिन्तामा छैनन् । यो समाजवाद कि लोकतन्त्रको कलंक ? विश्लेषकहरुको प्रश्न हो यो ।