Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सल्क्यो बलात्कारको महामारी

१२ सोमबार , आश्विन २०७७४ बर्ष अगाडि

काठमाडौं । यति धेरै बलात्कारका घटनाहरु भइरहेका छन् कि न राष्ट्रिय मानवाधिकार आयोग बोल्छ, न त सडकमा दबाबमूलक प्रदर्शन नै हुन्छ । राजनीतिक झण्डा बोकेर हिड्ने एउटा समुदाय छ, जसले राजनीति बगारिरहन्छ, न्यायको आवाज कसैले उठाउँदैनन् ।
गंगामायाँ अधिकारी अनसनमै छिन्, उनको चासो हुन छाडेको छ । यो बलात्कार होइन ? न्याय माँगेर मर्नुपर्ने यो कस्तो लोकतन्त्र हो ? न्याय त सर्वसुलभ हुनुपर्नेमा न्याय महँगो हुँदै गएको र अन्याय बढेर गएको छ ।
सरकार सुन्दैन, प्रहरीमा सेवाभाव भन्दा व्यापारिक प्रवृत्ति बढेर गएको छ । राजनीति व्यवसाय बन्यो । सबैको चासो राजनीतिमा छ, कानुन व्यवस्था भताभुङ्ग भएर जाँदोछ, तैपनि मानिसहरुको विश्वास अदालतमै छ तर अदालतभित्र बढेको व्यभिचारले भर र भरोसा, विश्वास कायम हुननसक्नुको मुख्य कारण राजनीतिकरण नै हो । राजनीति अपराधिकरण भएकाले समाजमा विकृति हदैसम्म बढेर गएको रहेछ ।
जनताले विश्वास गरेका, आशा र आस्था राखेकाहरुले सत्ताको बलात्कार गरे, संविधानको बलात्कार गरे, माटोको बलात्कार गरे, अव त यस्ता ससाना बालबालिकाको बलात्कार ह्वात्तै बढेर गएको छ । बझाङमा बलात्कारको घटनामा मिलापत्र गराइयो, उसैले अर्की बालिकाको बलात्कार ग¥यो फेरि । सप्तरीकी किशोरीको बलात्कारमा मिलापत्र गराएपछि उनले आत्महत्या नै गरिन् । २०७५ साउन ११ गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारमा प्रहरीले नै प्रमाण मेटाएको भिडियो सार्वजनिक हुँदा पनि बलात्कारपछि हत्या गर्ने पक्राउ परेको छैन । अन्तर्राष्ट्रिय रुपमा समेत निकै चर्चा पाएको थियो यो घटनाले । एक नम्बर प्रदेशका मुख्यमन्त्रीविरुद्ध कार्यकर्ता बालिका खड्काले श्रीमती कायम गरीपाउँ भनेर मुद्दा नै हालिन्, भित्री रुपमा मिलापत्र भएपछि उनले अरुले उक्साएर मुद्दा हालेको भनेर मुद्दा फिर्ता लिइन्, अदालतले दुबैलाई कारवाही गरेन । प्रत्येक दिन बलात्कार, हत्या भइरहेका छन् र करीव २० जनाले बलात्कारसहितका बिबिध कारणले आत्महत्या गरिरहेका छन् । यो कहालीलाग्दो तथ्याङ्क हो, तर किन कसैले पक्का सुधारको आवाज उठाइरहेको छैन ?
कुनै दिन नमिता सुनिता बलात्कार, हत्याकाण्ड भएको थियो, छोपछाप पारियो । अहिले निर्मला पन्त, सम्झना विकजस्ता बालिकाहरुको बलात्कारी, हत्यारा पक्राउ हुन सकेनन् । उता सुनसरीको बराहक्षेत्र नगरपालिका– १ कटहरेकी १२ वर्षीया बालिका मिना राई लाई सोही ठाउँका १५ वर्षीय रञ्जीत राईले बलात्कारको प्रयासपछि हत्या गरेको खुलेको छ । साना उमेरदेखि ९० वर्षसम्मका छोरीजाति त एक्लैदुक्लै देख्नै नहुने भयो । बलात्कार भइहाल्ने । हाम्रो समाज किन विवेकहीन भएर जाँदो छ । यसको कारण कडा कारवाही नहुनु र जस्तोसुकै अपराधमा पनि मिलापत्र गराएर, ढाकछोप गर्नुले भएको हो । प्रहरी प्रशासन पनि उजुरी नलिने, घटनालाई सकभर गुपचुप राख्न मिलोमतो गर्ने, अनुसन्धान अघि नबढाउने चरित्र पनि जिम्मेवार छ । अदालतले पनि परेका उजुरीमा कानुनअनुसार कडा रुख नअपनाउनु गैरजिम्मेवारी पनि हो । जसले गर्दा बलात्कारीलाई उक्साहट पारिरहेको छ ।
अव त अति भयो, समावमा न्यायको प्रत्याभूति हुनसकेन । १२ वर्षकी दलित बालिका बलात्कारपछि मारिइन् । कहाँ छन् अधिकारकर्मीहरु ? नागरिक समाज ? चेत भएका बुद्धिजीवीहरु ?