Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भोकालाई गिज्याउने उत्सव

०५ सोमबार , आश्विन २०७७४ बर्ष अगाडि

काठमाडौं । जनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, स्वतन्त्रताको  प्रत्याभूति गर्ने असोज ३ गतेको छैठौं संविधान दिवस, भोका लोकलाई गिज्याउने दिवस बन्नपुगेको छ ।
कोरोना संक्रमण फैलिन्छ भनेर आमनागरिकमा २५ जना भेला हुन पाइने छैन भन्ने सरकारले प्रहरी, सेना, कर्मचारी र ज्यालाका मान्छेहरुको भीड लगाएर राष्ट्रपतिले सलामी खानुभो, प्रधानमन्त्रीले भाषण गर्नुभो । राष्ट्रपतिले विकासका लागि चुनौतीको कुरा झिक्नुभयो, प्रधानमन्त्रीले राजनीतिमा अस्थिरता ल्याउन योजनावद्ध प्रयासहरु भए पनि परास्त गरेको स्थिरता ल्याएको दावी गर्नुभयो ।
सैनिक मञ्चको उत्तरपट्टी ६ महिनादेखि भोकभोकै भएका श्रमिक बर्गलाई खाना स्वयंसेवी समूह खाना खुवाउँदै थिए, सैनिक हेलिकोप्टरले पुष्पबृष्टि गर्दै थियो, कतिपयको कागजको थालमा उडेर आएका फूलहरु परेका थिए । पछि विशिष्टहरुले नदेखुन् भनेर स्वयंसेवी र भोकाहरुलाई त्रिचन्द्रतिर लेखेटियो । देशका राष्ट्राध्यक्ष र कार्यकारी सरकार सलामी खाएर, भाषण गरेर, सैनिक परेड हेर्दैथिए, यता देशका भोकाहरु पुष्पबृटि हेरेर हेरेर सरापी रहेका थिए ।
नेपालमा संसारमै नदेखिने गणतन्त्रको नमूना दृश्य देखियो ।
सर्वहाराको सरकार पुष्पबृष्टिमा ताली बजाउँदै थियो, यता भोकाहरु स्वयंसेवीले दिएको खाना खाएर आफैलाई बचाउँदै थिए ।
खुलामञ्चमा आंशु र पिडाको सागर थियो, शैनिक मञ्चमा राजनीतिक स्थिरता, समृद्ध नेपाल र सुखी नेपालीका कथा भन्दैथिए ।
देशैभरि कोरोनाको कहरका कारण कामधाम नपाएर भोकाहरुको यस्तै भीड छ, सत्ताधारीहरुको एक हुल हरेक दिन देशलाई लुटिरहेका छन् र यसैगरी भद्दा उत्सव मनाइरहेका छन् । त्यो हेलिकोप्टरले खानाको प्याकेट खसालिदिएको भए ओलीको जयजयकार नै हुनेथियो, सरकार र संविधानको जयकार हुन्थ्यो । साँचो अर्थमा लोकतन्त्र भनेको आम नागरिकलाई नआएको प्रष्ट देखियो ।
एकछाक भात खाने रहर छ भन्दाभन्दै नपाएर गर्भवती महिलाले आत्महत्या गरिन् । हरेक दिन २० जनाले आत्महत्या गर्न थाले भनेर प्रहरी नै समाचार दिन्छ । सरकार सलामी, भाषण र पुष्पबृष्टि गरेर लोकलाई जात्रा देखाउँछ । जनता जागेको दिन के गति होला ?
बाँच्नु त कूलमान घिसिङ भएर बाँच्नु । हजारौं युवा गोली खान तैयार भएर सडकमा निस्किएको छ । ओली सरकारको प्रहरी युवाको टाउको फोड्छ, रगतपच्छे भएर पनि युवा कूलमान कूलमान भनेर सडकमा नारा लगाइरहेको छ । मेरा लागि सडकमा आन्दोलन नगर्नोस् भनेर कूलमान भन्न बाध्य भएका छन् । यो हो बाँच्नु भनेको । जनता भन्दा संविधान माथि होइन, संविधान जनताको हुनुपर्छ ।
कसैले सरकारको पक्षमा सडकमा नारा लगाएको, ओली–प्रचण्ड जिन्दावाद भनेको कसैले देखेको सुनेको छ ? लोक सरकार, दुईतिहाइको सरकार त लोकप्रिय हुनुपर्ने हो । जयजयका हुनुपर्ने हो । भजनेहरुले जतिसुकै भजन गाउन्, २६३ नगरपालिका, ४८१ गाउँपालिका, ७ प्रदेश सरकारहरु, ७७ जिल्ला सरकारहरु सबै नै केपी ओलीजस्तै जनतलाई किरा फट्याङ्ग्रा सम्झनेहरु छन् । तिनले पिर्के, मेच, टेबुलमा उभिएर सलामी खाएको दृश्यले पनि उनीहरुलाई राजा फालेर महाराजा बनेकोमा गर्व लागिरहेको छ । कसैले पनि आफूलाई जनताको सेवक सम्झेको देखिन्न ।
जबसम्म जनताको सम्मान हुँदैन, त्यो लोकतन्त्र हुनैसक्दैन । जुन लोकतन्त्रमा जनताको यसखालको अपमान भइरहनेछ, त्यो लोकतन्त्र धेरै दिन टिकाउ हुनसक्दैन ।