Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यही हो जनताप्रतिको जवाफदेहीता ?

२२ सोमबार , भाद्र २०७७४ बर्ष अगाडि

काठमाडौं । संसदको नीति तथा कार्यक्रम वाचन गर्दा राष्ट्रपतिले बोलेकै हो– कोही भोकै बस्नु पर्दैन । प्रधानमन्त्रीले पनि पटक पटक भनेकै हो, खानको लागि चिन्ता गर्नुपर्दैन, सरकारले व्यवस्था गर्छ । के व्यवस्था ग¥यो सरकारले ?
खुलामञ्चमा मात्र होइन, प्रचण्ड र ओलीको चुनाव क्षेत्र चितवन र झापामा पनि सामाजिक संघ संगठन, युवाहरुले चन्दा उठाएर गरिखाने बर्गको भोक मेटाउने प्रयत्न गरिरहेका छन् । पसिना बगाएर खान नपाएपछि गरिखाने बर्ग यसरी लाम लाग्न र माँगी खाने स्थितिमा पुगेका छन् । कतिपयले भोककै कारण आत्महत्या गर्न थालेका छन् । कहाँ छ सरकार, सरकार किन यो कहालीलाग्दो स्थिति देख्दैन र कमिशनमा मात्र डुबिरहेको छ । विश्व बैंकबाट १ अर्व २५ करोड अनुदान लिन्छ र झलनाथ खनाल फाउण्डेशनलाई सर्प पाल्न १ अर्व ३२ करोड अनुदान दिन्छ । लोककल्याणकारी, सर्वहाराको सरकार यस्तै हुन्छ ?
कोरोना भाइरसको महामारी छ, यो महाविपतबाट जनताको ज्यान जोगाउनु छ । जोगाउने कसरी ? सरकारले विज्ञ विशेषज्ञसँग छलफल गरेर गर्नुपर्ने सारा कर्म गर्नुपथ्र्यो । कोरोनासँग लड्नु सानो तिनो समस्या होइन । यो विश्व महामारीबाट भारतमा दैनिक ९४ हजारसम्म संक्रमित देखिन थालेका छन् । चीन र भारतवीच तनाव छ, युद्धको स्थिति छ, भारतले चीनका सामु गोर्खा सैनिकलाई ढाल बनाइसक्यो, अतिक्रमित नेपाली भूभाग फिर्ता ल्याउनु छ, सरकार भने माफियाको जालोलाई सफलताको साँचो बनाएर आफैवीच बाझाबाझ गरेर बसेको छ । सत्ता र शक्ति नै नेकपाको प्रमुख ध्येय देखिएको छ, जनतामा व्यापक नैराश्यता आइसकेको छ ।
सरकार चुनाव हारेकालाई सांसद बनाउने काम गर्छ । अहिले पनि चुनाव हारेका दर्जनौं सांसद छन् र ५५ श्रीमान श्रीमती देशको नीतिनिर्माण गर्ने संसदमा छन् । तिनका नातेदार राज्य सञ्जालका ठूला ठूला पदमा आसीन छन् । यही हो लोकतन्त्र ?
लकडाउन र निषेधाज्ञाका कारण बन्द, व्यापार बन्द छ, रोजीरोटी कहाँबाट आउँछ । व्यवसायी त मरिरहेका छन्, गरिखाने बर्ग भोकभोकै टोलाइरहेका छन् । राष्ट्रपति र सरकार जनताको भोकप्यासमात्र होइन, रोगबाट भइरहेको छटपटीसमेत हेरिरहेको छ । जनताको छटपटी त सरकारको लागि लुट्ने अवसर बनेको छ । सरकारको मुख्य ध्यान नै जनताका नाममा खरिद गरिने स्वास्थ्य सामग्रीदेखि कुनै पनि खरिद र देशमा विकासका नाममा गरिने कुनै पनि टेण्डर, ठेक्कामा आउने कमिशनमा देखिन्छ ।
सडकमा हुँदा कम्युनिष्टको सरकार भन्न पनि लाज लाग्छ, विहान बेलुका माफियासँग हातेमालो गर्ने र दिनभरि भ्रष्टाचारमा लाग्ने सरकार पनि कम्युनिष्टको हुन्छ भन्ने घनश्याम भुसाल कृषि मन्त्री बनेपछि उनीनै ठेकेदारको जालोमा झिँगा बन्नपुगे ।
जनतामाथि धेरै अन्याय भइरहेको छ । जनता र राष्ट्रको जीवनसँग खेलबाड भयो । संविधानले काम गरेन, गर्नसकेन ।