Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

जनतालाई ज्यानमारा सास्ती

२२ सोमबार , भाद्र २०७७६ बर्ष अगाडि

काठमाडौं । नेकपालाई झण्डै दुई तिहाइ मत दिएर यसैगरी लाम लागेर मतदान गरी गरी जिताउने जनता यिनै हुन्, जो आज १० किलो मलका लागि कोरोनाको महामारी लागे लागेस् भनेर यसरी घाममा टट्टिएका छन् ।
दुई तिहाइको नेकपाको सरकार र पार्टीलाई लज्जाबोध हुँदैन, न त प्रतिपक्षी कांग्रेसले मुख खोलिरहेको छ । साँच्चै देश सिण्डिकेट, सेटिङ र कमिशनतन्त्रमा गइसक्यो । यसरी लोकतान्त्रिक शासन चलेको छ, चल्दो रहेछ ।
कोरोनाको महामारी भएको बेलामा १० किलो मल पाउन १० घण्टा लाइनमा बसेका किसानहरुको लाईन हो यो । कृषि मन्त्री घनश्याम भुसाल भन्छन्– अव मल आउँछ, मलको समस्या हुँदैन, मल भण्डारण पो कता गर्ने ?
मलको अभावमा यसपाली समयमै लगाएको धानबाली नष्ट भइसक्यो, सरकार बंगलादेशसँग मल पैँचो माँग्दैछ, ३ पछि मल आउला, लगनपछिको पोते, त्यो मल कहाँ हाल्ने ? सायद यही बुझेर होला कृषि मन्त्रीले मल भण्डार गर्ने समस्या देखाएका ?
किसानको यस्तो बेहाल समस्या समाधान गर्न छाडेर कृषिमन्त्री भुसाल विदेशमा भएका नेपालीलाई पनि मतदानको व्यवस्था गरिने आश्वासन बाँड्न थालेका छन् । ल्हासा जाने कुतीको बाटो भनेको यही हो ।
दलाल पुँजीवाद नसकी समाजवाद आउँदैन, सरकार दलालहरुसँग साँझा विहान उठबस गरिरहेको छ भनेर आरोप लगाउने भुसाल मन्त्री भएर के गरे ? यिनको क्रान्तिकारी दर्शन, सिद्धान्त र चर्को कुरा प्रचण्डको घरबेटीले मलको ठेक्का लिएर मल ल्याएन, कमिशन खाइदियो, यिनले पनि कमिशन पाए होलान् । नेकपाको सिद्धान्त र प्रतिवद्धता भनेको सत्ता र सम्पत्ति रहेछ, प्रष्ट भयो ।
झापामा मल कारखाना खोल्ने १० वर्ष अघिको योजना अहिले पनि कागजमा छ । १० वर्षमा २८ अर्वको मल किनियो र यसको कमिशन छ्याकन यिनै सत्ताधारी र प्रतिपक्षले हजम गरे, हाजमोला खाएर पचाए । अझै समय छ कृषिमन्त्रीसँग । भारत, चीन, बंगलादेशसँग सहकार्य गरेर मल कारखाना खोलेर वर्षेनी हुने मल हाहाकार अन्त्य गर्न सकिन्छ । समस्या भयो भन्ने होइन, नैतिकता भए कि गर्नु कि हट्नु । भुसालजस्ता धेरै छन्, जो लल्लरी गाएर सत्तामा छन् ।