Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हामी मर्ने कि बाँच्ने हाम्रै हातमा

१५ सोमबार , भाद्र २०७७४ बर्ष अगाडि

काठमाडौं । कोरोना भाइरसले समाजलाई त्रासदीमय बनँइदिएको छ । समुदायमा कोरोना फैलिएपछि संक्रमित र मृत्यु हुनेको संख्या दिनदिनै बढिरहेको छ र समाज आतंकित छ । विज्ञहरु भन्छन्– यो आतंकित हुने होइन, सावधान हुने र अनुशासनमा बस्ने समय हो ।
चर्चित र सक्षम स्वास्थ्यकर्मी हुन्– शेरबहादुर पुन । उहाँले सुझाव दिनुभएको छ– आफ्नो ज्यान आफैले बचाउने अवस्था हो यो । पत्रकारको जिज्ञासामा पुनले भन्नुभयो– हामी इमान्दार बन्न नसक्दा, कोरोना समुदायमा फैलिएको हो । सरकार र जनस्वास्थ्यविज्ञले हरेक दिन सुझाव दिइरहेका छन्, हरेक मिडियाबाट प्रचार भइरहेको छ । ती सुझावहरु हामीले पालना गरेनौं, त्यसैले महाविपत्ति बढेको हो । सरकारले चाहेर पनि कोरोना संक्रमण शून्य गर्न सक्दैन । भारतमा दिनदिनै फैलिदैछ, हाम्रो खुला सिमाना छ । भारतमा संक्रमण बाँकी हुन्जेल नेपालमा पनि संक्रमण रहिरहन्छ । यसैले हाम्रो स्वास्थ्य हाम्रै हातमा छ ।
उहाँले अगाडि भन्नुभयो– सावधानीबारे थाहा छ, डर पनि छ । कसरी जोगिन सकिन्छ, सबैले बोलेका छन् तर थाहा पाएको कुरा पालना गर्दैनौं । हामी आफै अटेरी हुन्छौं, अनुशासन तोड्छौं । संक्रमण फैलाउँछौं । लक डाउन खुल्यो कि भेडाबाख्राजस्तै हिँड्न थाल्छौं । म जिल्ल पर्छु ।
यो समय भविष्यको कुरा गर्नेभन्दा पनि वर्तमानमा सजग हुनु जरुरी छ । जनस्वास्थ्यकर्मीले सुझाएका संक्रमण हुन नदिने उपाय अवलम्बन गर्नैपर्छ । त्यसप्रति रुचि नहुँदा कोरोना फैलिएको हो । अनावश्यक भीडभाड नगर्नुहोस्, कतै नजानुहोस् भन्यो, मान्छेहरु लुकी लुकी हिडीरहेका छन् । माष्क सही तरिकाले लगाउनुहोस् भन्यो, देखाउनका लागिमात्र लगाएजस्तो देखिन्छ । अझै माष्क लगाउन सिकाइरहनु परेको छ । थाहा छ, तर अटेर गर्छन् । यही अटेरीले समुदायमा कोरोना फैलेको हो ।
भनिरहेका छौं– अत्यावश्यक काम बाहेक बाहिर ननिस्कौं, भीडभाडमा नजाऔं, सकेसम्म अनुहारमा हातले नछोउँ । पटक पटक साबुन पानीले हात धोउँ । माष्क अनिवार्य रुपमा लगाऔं । यही सुझाव नमान्दा लकडाउन खोलेपछि कस्तो परिणाम आयो । फेरि निषेधाज्ञा लगाएको छ, संक्रमित र मृत्यु हुनेको संख्या बढेको छ, सुझाव उही हो । सुझावको अनुशरण गरौं । हाम्रो स्वास्थ्य हाम्रै हातमा छ । इटली, स्पेन र बेलायतमै पनि कोरोनाले पीडित बढे, स्वास्थ्यकर्मी अपुग भयो । यहाँ पनि स्थिति जटिल बन्दैछ । विकासले कोरोना नियन्त्रण हुन्न, अचेतनाले स्थिति गम्भीर हुनेरहेछ ।
सरकारलाई सरापेर मात्र हुन्न, जनस्वास्थ्यका मापदण्ड पालना गर्नैपर्छ, गरिएन भने यसको परिणाम भोग्न तैयार हुनुपर्छ । पछुताएर हुन्न । सरकारले निषेधाज्ञा लागू गरेपछिका हरेक दिन कोरोना संक्रमित र मृत्युको संख्या बढ्दै गएको छ । यो निषेधाज्ञा अघिको नागरिकको असावधानीको परिणाम हो । निषेधाज्ञाको परिणाम आउन थालेपछि संक्रमित घट्नेछन् । जेहोस्, संक्रमण र मृत्युदर बढ्नुको जिम्मेवार नागरिकको असावधानी पनि हो । लापरवाही नै कोरोना बढ्ने कारण हुन् ।