Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मेरो आँखामा कमरेड केपी ओली र एक चीन नीति

०८ सोमबार , भाद्र २०७७४ बर्ष अगाडि

प्रेम सागर पौडेल–
नेपाल र चीनबीचको सम्बन्ध अझ सुमधुर प्रगाढ र प्रभावकारी बनाउनुपर्छ भन्ने उद्देश्य लिएर औपचारिकरुपमा सन १९८७ देखि निरन्तर सक्रिय अभियन्ता हुँ । त्यतिबेला चीनको नाम लिंदा अपहेलित हुनुपर्ने, दबिनुपर्ने र झुठा मुद्दामा फसाइनुपर्ने वातावरण थियो । आजसम्मको यो गन्तव्यमा पात्र र रुप फेरिए पनि अवस्थामा खासै परिवर्तन आएको छैन । विगतमा पनि सरकारले फेस सेभिङका लागि केही मानिसलाई चीनसँग सम्बन्ध राख्न दिन्थ्यो अघोषित नियन्त्रित अवस्थामा । राजाहरु हुन वा परिवर्तनपछि सत्तामा पुगेका राजनीतिक दलहरू सबैको रवैया ब्यवहार र नीति उस्तै उस्तै छ, चीनका सन्दर्भमा । यी सबै वास्तविक हात्ती नभएर हात्तीको नाम भएको हात्ती छाप चप्पल जस्तै हुन । फरक यत्ति छ कि विगतमा चीनमा अध्ययन गर्ने, चीन बुझेका नेपालीको संख्या कम थियो, आज बढिरहेको छ । मिडियामा साधारण नागरिकको पहुँच थिएन । चीनको प्रगति विकास र चिनियाँ जनजीवनबारे जान्न सहज थिएन, आज हरेकजसोका हातमा इन्टरनेट सहितको मोबाईल छ । अर्थात सूचनामा पहुँच सहज छ । कनेक्टिभिटी बढेको छ । थप नाकाहरु खुलेका छन् । विभिन्न राजनीतिक दलका अन्तर्राष्ट्रिय विभागहरु छन् । ती विभागका पदाधिकारीहरुले पनि शक्ति राष्ट्रसँगको सम्बन्धबारे पहल गरिरहेका छन् । त्यसैले, विगतको तुलनामा चहलपहल बढी छ । यद्यपि, समयानुकूल र आवश्यकताअनुसार नेपालमा सरकारीस्तरमा चीनसँगको सम्बन्ध भनौं वा एकचीन नीतिले महत्त्व पाउन सकेको छैन । अझभनौं, नेपालको सरकार र राजनीतिक दलहरू तथा तिनका नेताहरू बोलीमा चीन मैत्री र ब्यवहारमा विरोधी छन् । यसलाई विभिन्न घटनाक्रमले पुष्टि गर्दछन् । यस सम्बन्धमा ब्यक्तिका आ–आफ्ना तर्क हुनसक्छन् । तर, तीतो सत्य यहीँ हो । झण्डै साढे तीन दशकदेखि सक्रिय एक अभियन्ताको जीवन भोगाईको एउटा पाटो यहाँ चर्चा गर्दैछु ।
मेरो आ“खामा कमरेड केपी ओलीः 
मैले पहिलोपटक कमरेड केपी ओलीलाई तत्कालीन नेपाल कम्यूनिष्ट पार्टी माओवादीले सशस्त्र विद्रोह सुरु गरेको दोस्रो महिना २०५२ को चैत अर्थात सन १९९६ को मार्च महिनामा रुकुमको सल्ले एयरपोर्टमा भेटेको थिएँ । त्यसअघि नजिकैबाट देखेको भए पनि प्रत्यक्ष हात मिलाएको थिएन । कमरेड केपी ओली र कमरेड विद्या देवी भण्डारी पार्टीको काममा रुकुम जानुभएको थियो । म त्यतिबेला काठमाडौंबाट प्रकाशित हुने, युगसम्वाद साप्ताहिकको प्रतिनिधि, महिमा साप्ताहिकको स्तम्भकार तथा प्रतिनिधिको रुपमा माओवादी जनयुद्धको वास्तविकता बुझ्न नेपालगञ्जबाट दाङ, सल्यान हुँदै रुकुम पुगेको थिएँ । आफ्नो भ्रमण सकेर रुकुमबाट नेपालगञ्ज फर्कने क्रममा उहाँहरु (ओली र भण्डारी) सँग एयरपोर्टमा जम्काभेट भएको थियो । तत्कालीन एमालेका स्थानीय नेता कार्यकर्ताले उहाँहरूलाई पुष्पगुच्छा र फुलमालाले स्वागत गरेका थिएभने मैले अभिवादन गर्दै हात मिलाएर स्वागत र सम्मान गरेको थिएँ । त्यही थियो कमरेड ओलीसँगको मेरो पहिलो भेट । यसअघि र पछि पार्टी तथा अन्य सार्वजनिक कार्यक्रम आदिमा पटक–पटक भेटघाट भएको हो । 
नेपालको राजनीतिमा उथलपुथल आइरहेकाबीच एकजना कुटनीतिज्ञ र मैले सँगसँगै काठमाडौं लाजिम्पाटस्थित ग्याङजोङ (न्बलनवयलन) होटलमा कमरेड केपी ओलीलाई भेट ग¥यौं । त्यो भेटघाटपछि कमरेड ओलीले अलि फरक ढंगबाट आफुलाई राजनीतिमा सक्रिय बनाउनु भएको मेरो बुझाइ छ । आफुले दक्षिणतर्फ मात्रै सम्बन्ध र सम्पर्क राख्दा जनताको दृष्टिमा नराम्रो देखिनुका साथै विश्व अवस्थालाई राम्रोसँग बुझ्न नसकेको त्यतिबेला स्विकार्नु भएको थियो । हामीले झण्डै दुई घण्टा कुराकानी गरेका थियौं र खाना खाइसकेपछि छुट्टिएका थियौं । मलाई राम्रो सम्झना छ, सन द्दण्ज्ञज्ञ को त्यो डिनर मिटिङमा  चिनियाँ कुटनीतिज्ञले कमरेड केपी ओलीलाई तपाईंको दुईवटा मृगौला खराब छ, जुस पिउनुस् भन्दा पनि ती कुटनीतिज्ञ र मसँग वाईन चियर्स गर्दै कमरेड केपी ओलीले भन्नु भएको थियोेः ‘मेरो शरीर भन्दा ठुलो मित्रता हो । मित्रताको अगाडि मेरो शरीर गौण हो ।’ उहाँले त्यतिबेला भन्नुभएको यो वाक्यांश अहिले पनि मेरो कानमा गुञ्जिरहेको छ । यसबारेमा मैले सन २०१६ मा कमरेड ओली प्रम भएको समय मेरो फेसबुकमा उल्लेख गरेको थिएँ ।
त्यसपछि, तत्कालीन नेकपा एमालेका उपाध्यक्ष कमरेड युवराज ज्ञवालीको सहयोगमा सन २०१६ मा उहाँ प्रधानमन्त्री हुने सुनिश्चित भइसकेको र पदभार ग्रहण गर्नुभन्दा तीन दिनअघि नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा भेटेको थिएँ । उहाँले आफुले प्रधानमन्त्री पदको सपथ खाएपछि प्राथमिकतामा राखेका कामबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री भए लगत्तै मलाई बोलाएर इण्डियन नाकाबन्दीबाट उत्पन्न पेट्रोलियम पदार्थको हाहाकार समाधान गर्न सहजकर्ताकारुपमा मन्त्रीस्तरीय निर्णय गराएर चीन पठाउनुभएको थियो । मैले उहाँको अनुरोधलाई स्विकार्दै आफ्नो निजी खर्चमा चीनको राजधानी बेईजिङ गएको थिएँ । मैले यो कामका लागि नेपाल सरकारबाट एकपैसा पनि लिइनँ । त्यतिबेला नेपाली पदाधिकारीले चीनको उच्च तहमा राम्रो सम्बन्ध स्थापना गर्न र विश्वास आर्जन गर्न नसकिरहेको अवस्था थियो । 
सन २०१७ मा चीनको सरकारी तथा प्रभावशाली ग्लोबल टाईम्सका प्रतिनिधि लिएर अन्तर्वार्ता लिन उहाँको निजी निवास बालकोट पुगेको थिएँ । हामीले झण्डै ३ घण्टा कुराकानी गरेका थियौं । उहाँले आफुलाई चीनका लागि नेपालका राजनीतिज्ञहरु मध्ये सबैभन्दा विश्वासिलो मित्र भएको पुष्टि गर्ने प्रयास गर्दै २ घण्टा ३० मिनेट लामो (रेकर्डेड) अन्तर्वार्ता दिनुभएको थियो । जो अहिले पनि मेरा कानमा गुञ्जिरहेको छ । त्यो अन्तर्वार्ताको केही अंश झण्डै एक महिनापछि ग्लोबल टाईम्समा प्रकाशित भयो । जसमा मेरो अन्तर्वार्ता समेत समावेश थियो । कमरेड केपी ओलीको भन्दा मेरो विचारलाई प्राथमिकता अथवा महत्त्व दिएर प्रकाशित भएको थियो । त्यसपछि पटकपटक मैले एक्लै, केही साथीहरूसँग र विदेशी कुटनीतिज्ञ सँगसँगै पनि कमरेड ओलीको निजी निवास बालकोटमा भेटेको र समसामयिक बिषय प्रसँगमा कुराकानी गर्ने तथा उहाँको विचार सुन्ने अवसर पाएको हो ।
मैले राजादेखि विभिन्न राजनीतिक दलका अधिकाँश प्रभावशाली नेताहरूलाई भेट्ने, विचार आदानप्रदान गर्ने अवसर पटकपटक पाएको छु । कमरेड ओली सन २०१६ मा प्रधानमन्त्री हुँदाको समय मैले विभिन्न टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा होस वा महत्त्वपूर्ण राजनीतिक भेटघाटमा कमरेड ओलीलाई सैलुट गरेको छु र मुक्त कण्ठले प्रसंशा गरेको छु । खासगरी, चीनसँग गर्नुभएको दश बुँदे सन्धि(सम्झौताले नेपाललाई थप आत्मनिर्भर बनाउन सहयोग पुगेको मेरो विश्वास छ, यसका लागि । यो महान काम गरेकोमा मैले पटकपटक उहाँलाई धन्यवाद दिनुका साथै सैलुट गरेको हुँ । मैले यसमा अप्ठ्यारो मान्नुपर्ने केही छैन र देख्दिनँ पनि । म कुनै पनि मानिसलाई उसको काम र ब्यवहारका आधारमा मुल्यांकन गरिनुपर्छ भन्ने ठान्दछु । कमरेड ओलीले गरेका मध्ये केही काम देशलाई स्वाधीन, सबल, आत्मनिर्भर र स्वतन्त्र बनाउनेतर्फ उन्मुख देखिन्छन् । तर, उहाँको पछिल्लो गतिविधि हेर्दा गम्भीर शंका उत्पन्न हुन्छ । कतै उहाँ नेपाल र नेपाली विरोधीको योजनामा त चल्नु भएको छैन? वा कुनै अन्तर्राष्ट्रिय माफियाको चंगुलमा त फस्नु भएको छैन । आशंका गर्ने आधार पर्याप्त  छन् । कतिपयलाई मेरो विचार पढ्दा
 चीनतर्फ ढल्किएको हो कि भन्ने लाग्नसक्छ । 
जसले मलाई साढे तीन दशकदेखि नेपाल र चीनबीचको जनस्तरको सम्बन्धलाई अझ सुमधुर प्रगाढ र प्रभावकारी बनाउन सक्रियरुपमा लागेको देखेका छन् । उनीहरूले कहिलेकाहीँ यस्ता आशंका ब्यक्त गरेको पाएको छु । यद्यपि मलाई यस्ता कुराले कुनै असर वा प्रभावित गर्न सक्दैन । मेरो देशभक्तिमा अलिकति पनि कमबेशी हुन वा बनाउन सक्दैनन् यस्ता कुराले । मेरालागि सर्वाेपरी स्वार्थ भनेको देश हो । देश र जनताको स्वार्थका अगाडि मेरो ब्यक्तिगत स्वार्थ गौण छ र हुनेछ । यो मेरो जीवनको अपरिवर्तनीय संकल्प हो ।
एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताः
नेपाल र चीनबीचको सम्बन्ध परापूर्वकालदेखि रहँदै आएको देखिन्छ । पद्मसम्भव, फा श्यान, हु यन शान, स्रङचङगम्पो, भृकुटी, अरनिको, खस राजाको छोरी र चीनको तिब्बतका राजाका भाइबीचको वैवाहिक सम्बन्ध वा त्यसपछि शासन सञ्चालन गर्न दिएको घटना वा विभिन्न कालखण्डमा भएका सन्धि सम्झौता आदि आदि । नेपाल र चीनबीचको सम्बन्ध विश्वमा अद्वितीय र विशेष छ । यस्तो सम्बन्ध विश्व इतिहासमा विरलै भेट्न सकिन्छ । जो यहाँ उल्लेख गर्दा निकै लामो श्रृङखला हुनजान्छ । नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको पनि ६६औं बर्षमा प्रवेश गरेको छ । नेपालले औपचारिकरुपमा एक चीन नीतिप्रति गरेको प्रतिवद्धता पनि यति नै भएको छ । तर, नेपालले ब्यवहारमा एक चीनको नीतिलाई भित्री मनैदेखि पालना गर्न सकेको, चाहेको वा गरेको छैन, देखिदैन । 
निरंकुश पञ्चायती ब्यवस्थापछि नेपालमा एक चीन नीति विरोधी र कथित स्वतन्त्र तिब्बत पक्षधर गतिविधि सरकारी संरक्षणमा खुलारुपमा भइरहेको प्रसस्तै घटना प्रमाण भेट्न सकिन्छ । यद्यपि पञ्चायतकालमा यदाकदा नभएका भने होइनन् । नेपालमा हाकाहाकी चीन विरोधी गतिविधि हुन थालेको सन १९९० पछि हो । सन १९९० देखि २००५ सम्म नियन्त्रण गर्न सकिनेस्तरमा चीन विरोधी गतिविधि हुने गरेकोमा सन २००८ देखि सरकारका उच्चपदस्थ कर्मचारी र कतिपय राजनीतिक दलका नेताको योजनामा सरकारलाई चुनौती दिंदै खुलारुपमा हुन थालेको हो । काठमाडौंमा कतिसम्म देखियो भने कथित स्वतन्त्र तिब्बतको नारा लगाउने, चीनको झण्डा जलाउने जस्ता गतिविधि गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने र नियन्त्रणमा लिएको दुई घण्टामा नै सरकारको मन्त्री वा उच्चपदाधिकारीको निर्देशनमा कुनै कार्वाही नगरीकन छोड्ने काम भयो । फेरि त्यही मानिस अर्कोपटक त्यसरी नै समातिने, छाडिने र कथित चीन विरोधी गतिविधि गर्ने सम्ममा लज्जास्पद घटना बारम्बार देखिए । अन्य देशबाट नेपालमा अनाधिकृत प्रवेश गर्नेलाई सम्बन्धित देश फिर्ता पठाउने, तर चीनको तिब्बतबाट नेपाल प्रवेश गर्नेलाई इण्डिया र पश्चिमा देश पठाउने गरियो र अहिलेसम्म पनि यही क्रम जारी छ ।
नेपाल सरकारले चिनियाँ नेता, पदाधिकारी वा कुटनीतिक वार्तामा सधैं एक चीन नीतिप्रति आफ्नो प्रतिवद्धता जनाउँदै आएको छ । तर, ब्यवहारमा पालना गरेको छैन । नेपाली भूमि हुँदै चीनको तिब्बतमा दलाई लामाका मानिसको घुसपैठ होस वा पश्चिमा नागरिकहरु समेत नेपालबाट चीनको तिब्बत लुकीछिपी प्रवेश गरेको अवस्थामा त्यहाँ पक्राउ परेको घटनाहरूलाई सामान्य नै मान्नुपर्छ । काठमाडौंमा हुने चीन विरोधी सार्वजनिक कार्यक्रममा प्रायःजसो पश्चिमा मुलुकका नेपालमा कार्यरत कुटनीतिज्ञहरु समेत मुख्य अतिथिका रुपमा सहभागी भएको बारम्बार देखिएकै छ । यी सबै नाङ्गो आँखाले देखिएका घटना र सरकारको संरक्षणले के पुष्टि हुन्छ भने नेपाल चीन विरोधी अन्तर्राष्ट्रिय शक्ति केन्द्र र माफियाको स्वर्ग हो । यही यथार्थलाई बुझेर गत असोज अर्थात अक्टोबरमा नेपालको राजकीय भ्रमणमा आउनु भएका महामहिम चिनियाँ राष्ट्रपति सी चिन फिङले सम्बोधन मार्फत चीनका शत्रुको हड्डी पसुली फुटाइदिने सन्देश दिनुभएको थियो । यद्यपि, नेपालले चिनियाँ राष्ट्रपतिको विचार र उद्देश्यलाई सहीरुपमा बुझ्न र कार्यान्वयन गर्न फिटिक्कै चासो देखाएन । बरु ठीक उल्टो चिनियाँ राष्ट्रपतिले आफ्नो राजकीय भ्रमण सकेर फर्किएको सात दिनमा छ वटा चीन विरोधी गतिविधि खुलारुपमा गर्न सहयोग र संरक्षण गर्याे । जसको बारेमा डाँफे टिभी डटकमले सार्वजनिक गर्याे । नेपाल टुडे र काठमाडौंबाट प्रकाशित हुने गोरखा एक्सप्रेस साप्ताहिकले 
(अक्टोबर २२, २०१९) मा पहिलो पेजको आधा पेज सचित्र विस्तृत समाचार प्रकाशन गर्याे । यी प्रतिनिधि घटना मात्रै हुन । यस्ता सयौं घटनाहरु छन् । जसलाई यो सानो लेखमा समेट्न कठिन छ । भविष्यमा उपयुक्त समयमा क्रमशः सार्वजनिक हुने नै छन् ।
नेपालमा चिनिया“ र कम्पनीको अवस्थाः
चिनियाँ जहाजको ब्यापार प्रक्रिया शुरु भएको झण्डै पच्चीस बर्षपछि सम्पन्न भयो । खासगरी, वामपन्थीको नेतृत्वको सरकार भएको र अर्थमन्त्री बर्षमान पुन भएको समय चिनियाँ जहाजको ब्यापारले मान्यता पाएको हो । मैले सुनेअनुसार ती जहाजहरु नेपालमा परिवर्तन आएको अवसरमा चीनको तर्फबाट उपहारस्वरूप प्रदान गर्न खोजिएको थियो । उपहार ग्रहण गर्दा कमिशन नपाइने र पश्चिमाको ब्यापारमा धक्का लाग्नेगरी चिनियाँ जहाज नेपाल भित्रिने देखेर, यसलाई रोक्न र जनस्तरमा बदनाम गराउने योजना अनुसार खरीद गरिएको जस्तो देखिन्छ । नेपालले चिनियाँ जहाज सिधै खरिद गरेको नभइ सस्तो ब्याजमा ऋण लिएर दुई सय गुणा मुल्य बढाएर खरीद गरेको देखाइएको छ । यस्तो अवस्थामा चौबिसै घण्टा जहाज उडेको अवस्थामा पनि खरिद मुल्य नउठ्ने पक्का छ । एकातिर अवस्था यस्तो छ भने अर्काेतर्फ पश्चिमाहरुको निर्देशनमा जहाजको उडान र मर्मत आदि नगरीकन यसलाई थन्क्याउने काम भएको छ । थ्ज्ञद्द भ् मोडेलका जहाज विश्वका झण्डै पच्चीस देशमा निर्वाध उडिरहेका छन् । नेपालमा किन उड्न सकेन र थन्क्याइयो ? यसैभित्र लुकेको छ वास्तविक रहस्य ।
नेपाल बिआरआईमा सन २०१५ मा विधिवत प्रवेश गरेको हो । बिआरआईलाई स्विकार गरेको पाँच बर्ष बितिसक्दा पनि यसलाई अगाडि बढाउने गम्भीर पहल भएको छैन । यस्तै, बुढी गण्डकी जलविद्युत परियोजना चिनियाँलाई दिने क्रममा पनि गलत बाटो अपनाइयो । सरल र सोझो कानुनी बाटोबाट नदिएर यस्तो गलत बाटोबाट चिनियाँ कम्पनीलाई दिनुको पछाडिको कारण खुलिसकेको छ । जसको पछाडि चीनलाई जनस्तरमा बदनाम गराउने, चिनियाँहरु भ्रष्टाचारी हुन्छन्, ब्यापार बाहेक अरु कुरा चिनियाँको प्राथमिकतामा पर्दैन भन्ने देखाउने गम्भीर षड्यन्त्र लुकेको छ । सकेसम्म चिनियाँलाई कुनै पनि परियोजना नदिने, रोक्नै नसकिने अवस्था भयो र फेस सेभिङ गर्नुपर्ने भयो भने गलत तरीकाबाट वा बदनाम गराउने वा सफल हुन नदिने षड्यन्त्र रचेर मात्रै दिने गरिएको छ । एउटा दुईवटा स(साना परियोजना बाहेकका सबैमा यही नीति अपनाइएको छ । चाहे त्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल होस वा अन्य परियोजना । चिनियाँहरुले नेपालमा घाटा सहेर पनि आफ्नो उपस्थिति देखाउन र चीनको उज्यालो छवि बचाइराख्न काम गर्न बाध्य पारिएका छन् ।
यसैगरी, नेपालको पर्यटन बर्ष सफल बनाउन आएका चिनियाँ पर्यटक विना पूर्वसूचना सरकारले लकडाउन गरेपछि यतै रोकिन बाध्य भएका थिए । धेरै दिन परदेशमा बस्नुपर्दा बेखर्ची भएका उनीहरू घर फर्काउन माग गरिरहेका समय षड्यन्त्रपूर्ण तरीकाले प्रहरीले जनस्तरमा चीन र चिनियाँ विरोधी भावना फैलाउने शैली अपनाएर पक्राउ गरियो । पीडामा भएका छिमेकीलाई सहयोग गर्नुपर्नेमा प्रहरीले नै लकडाउनको गम्भीर उल्लंघन गर्दै ठमेलबाट सिंहदरबार लगेर हातपात गर्ने, लाठीले शत्रुलाई जसरी प्रहार गर्ने काम मात्रै गरेन गम्भीर मानवअधिकारको उल्लंघन गर्दै पक्राउ गर्याे । यसले नेपालको सुरक्षा निकाय कसरी चीन विरोधीबाट प्रभावित रहेछ भन्ने पुष्टि भयो । नेपालमा ब्यापार ब्यवसाय गरेर बसेका चिनियाँलाई ब्यापार ब्यवसाय दर्ता, नवीकरण गर्दा होस वा अरु समयमा सताउने दुख दिने गरिएको छ ।  नेपाल सरकारले चिनियाँ नागरिक र चिनियाँ परियोजनालाई सास्ती दिएर नेपाल उनीहरूका लागि सुरक्षित छैन भन्ने सन्देश दिइरहेका छन् ।
एक चीनको नीति मान्ने स्वतन्त्र ब्यक्ति माथि अघोषित प्रतिबन्धः
वास्तवमा खुलेर लेख्ने हो भने नेपालमा एक चीन नीति मान्ने स्वतन्त्र ब्यक्तिलाई अघोषित प्रतिबन्ध नै छ । एक चीनको नीति मान्नेलाई सुरक्षा अधिकारी, सरकारी कर्मचारी, प्रो(इण्डियन वा प्रो(वेष्टर्न भनेर चिनिनेहरुले जेजस्तो ज्यादती वा अत्याचार गर्याे भने उसलाई कानुनी कार्वाही गरिंदैन, बरु सरकारले सम्मान गर्छ र संरक्षण दिन्छ । यस्ता दर्जनौं घटनाहरु उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ । उदाहरणका लागि सन १९९६ को शुरुमा ‘द मेसेञ्जर साप्ताहिक’ का सम्पादक–प्रकाशकलाई चीनको पक्षमा समाचार लेखेको कारणबाट बिना वारेण्ट तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गुप्ताले गैरकानुनी पक्राउ गरेर लगातार १४ घण्टा यातना दिएका थिए । यस घटनाका सम्बन्धमा वामपन्थी नेता हिरण्यलाल श्रेष्ठले प्रतिनिधिसभामा सम्बन्धित पदाधिकारीलाई कानुनी कार्वाहीको माग गर्नुभएको थियो । तर, तत्कालीन सरकारले कार्वाही गर्नुको साटो उपसचिवमा बढुवा गरेर कृषि मन्त्रालयमा पदस्थापन ग¥यो । 
सन १९९९ मा नेपाल प्रहरीका प्रहरी उपरीक्षक धनबहादुर रानाले बाँके जिल्लामा चीनको पक्षमा कुनै पनि कार्यक्रम सञ्चालन गर्न, लेख्न र बोल्न अघोषित प्रतिबन्ध लगाए । त्यसको विरोध गर्दा उनले एक चीन पक्षधरलाई अपहरणको शैलीमा पक्राउ गरेर जंगलमा लगेर यातना दिए । पछि फष्ट राईफल गणका प्रमुख सेनानी राजेन्द्र बहादुर कार्कीले दबाब दिएपछि तीन दिनपछि छोडियो । सम्बन्धित पीडित ब्यक्तिहरुले निजका विरुद्ध कार्वाही माग गर्दा उनलाई पुरस्कृत गर्दै नेपाल प्रहरीको मानवअधिकार सेल काठमाडौंमा ल्याइयो । उनीमाथि कुनै कानुनी कार्वाही गरिएन र स्पष्टीकरण सम्म मागिएन ।
सन २००६ मा नेपाल(चीन पारस्परिक सहयोग समाजको कार्यालयमा अनाधिकृत प्रवेश गरे र त्यसका अध्यक्ष लगायतलाई गालीगलौंज, हातपात गरे र कार्यालयको ढोका लगायतमा लात्ती मुक्काले प्रहार गर्दै बहालवाला भारतीय गोर्खा सैनिकका हवल्दार भीम रानाले धम्की दिए । निजका विरुद्ध पटकपटक कार्वाही माग गर्दा पनि आजसम्म कार्वाही हुन सकेको छैन । यसबीचमा उनले मौखिक उजुरी दिएको आधारमा दुईपटक प्रहरीले उल्टै मैत्री संघका पदाधिकारीलाई दुख दिएको छ । यी र यस्ता थुप्रै घटनाहरु जनस्तरमा रहेका छन् । भने सरकारको उच्चस्तरमा समेत चीन मैत्री भएको कारणबाट तत्कालीन सभामुख कृष्णबहादुर महरालाई सुनियोजित ढंगले फसाइयो र बदनाम गर्ने काम भयो । शायद, आजसम्मका चीनका लागि राजदूत भएका मध्ये अब्बल देखिएका तत्कालीन चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई अपमानजनक ढंगले समयावधि नपुग्दै केही महिनाअघि फिर्ता बोलाईयो । जसबारे मैले राजदूत पौड्यालका विरुद्ध षड्यन्त्र हुँदैछ भनेर केही महिनाअघि नै लेखिसकेको थिएँ । केही दिनअघि नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउने षड्यन्त्र प्रधानमन्त्रीको सक्रियतामा रचियो । स्मरण रहोस् किशोर श्रेष्ठ नेपाल–चीन मिडिया फोरमका अध्यक्ष हुन् । नेपाली पत्रकारलाई चीनका बारे बढीभन्दा बढी जानकारी होस् भन्नका लागि चीन भ्रमणमा पठाउन सक्रिय भूमिका खेलिरहेका थिए । नेपालमा सरकार कसको ईशारा र स्वार्थमा प्रो–चाईनिज भनेर चिनिनेहरु र जनस्ततरमा नेपाल(चीन सम्बन्ध सुमधुर प्रगाढ र प्रभावकारी बनाउन सक्रिय अभियन्ताकाविरुद्ध योजनावद्ध रुपमा लागिरहेको छ? सबै छर्लङ्ग छ ।
पछिल्लो समय, नेपालमा रहेका चीनका वास्तविक नेपाली मित्रहरू र जनस्तरमा रहेको चीनप्रतिको विश्वास अनि भरोसा यी दुईवटा पक्षलाई निमिट्यान्न पार्न पश्चिमाको ईशारा र स्वार्थमा सरकार नै सक्रियरुपमा लागेको अब कुनै रहस्य वा लुकेको विषय रहेन ।
किन नेपालमा रहेका चीनका वास्तविक नेपाली मित्रहरू र जनस्तरमा रहेको चीनप्रतिको विश्वास अनि भरोसा निमिट्यान्न पार्न खोजिदैछ ? यसले नेपालमा के प्रभाव पार्नसक्छ? भन्ने प्रश्न उठ्नु स्वभाविक छ । यसतर्फ सर्सर्ति दृष्टि दिउँ । 
नेपालमा जनस्तरमा सबैभन्दा बढी लगानी इण्डियाको छ । त्यसपछि एनजीओरआईएनजिओ मार्फत पश्चिमाको लगानी छ । यद्यपि नेपाली जनतामा चीनप्रतिको विश्वास र भरोसा बढी छ । किन ? पछिल्लो समय पश्चिमाले यसै विषयमा अध्ययन गर्न करोडौं डलर खर्चिरहेको छ । जबसम्म नेपाली जनतामा रहेको चीनप्रतिको विश्वास र भरोसा तोड्न सकिंदैन । तबसम्म नेपाललाई अस्थिर, अलगथलग र नियन्त्रण गर्न सकिंदैन भन्ने ईण्डो(पश्चिमाले राम्रोसँग बुझेको छ । नेपालमा रहेका चीनका वास्तविक नेपाली मित्रहरू र जनस्तरमा रहेको चीनप्रतिको विश्वास अनि भरोसा यी दुईवटा पक्षलाई निमिट्यान्न पार्नका लागि पश्चिमाको लगानीमा उच्चस्तरीय केही नेताहरू, पदाधिकारी तथा अन्यलाई योजनावद्ध परिचालन गरिएको छ । यसबारेमा अर्कोपटक छुट्टै थप चर्चा गरौंला ।
अन्त्यमा,
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारबाट यसक्षेत्रको स्थिरता, शान्ति, विकास र समृद्धिको आशा गर्नु भनेको हुटिट्याउले आकाश थाम्नसक्छ भनेर विश्वास गर्नुजस्तै हो । यो सरकार नेपाल(चीन सम्बन्धको विरुद्धमा छ । फेस सेभिङका लागि केही गरेकोलाई देखाएर जनतालाई झुक्याउने काम भइरहेको छ र हुनेछ । यो सरकारले देशको विकास गर्ने, क्षेत्रीय स्थिरता कायम गर्ने र नेपाल–चीन सम्बन्धलाई अझ सुमधुर र देशहितमा परिचालन गर्ने विश्वास गर्न सकिने अवस्था छैन । कतिपयले केपी ओली जति अडान लिने अरु कुनै नेता नभएको तर्क गरिरहेका छन् । अडान लिनु भनेको देशभक्ति होइन । जो नेता आफुले स्विकारेको सिद्धान्त पद्धतिलाई ब्यवहारमा लागु गर्न सक्दैन त्यो उसको र सिङ्गो देशका लागि पनि घातक हो । एउटा नेपाली लोककथा जस्तै ः ‘कालापार गएको भाइको श्रीमती अर्थात भाइ–बुहारीलाई तीजमा माईत छोड्न जाँदै गर्दा बाटोमा खोला पर्ने रहेछ । पहाडको खोला तर्दातर्दै बिच्चमा पुग्दा एक्कासी बढेछ । भाइ–बुहारीलाई पौडन आउने रहेनछ । उनलाई खोलाले बगाउन थाल्यो । भाइ–बुहारीले जेठाजु बचाउनुस् भन्दै कराउँदै हात हल्लाइरहिन । तर, जेठाजुले भाइ–बुहारीलाई छुन नमिल्ने भएकोले बचाउन सकेनन् । जेठाजुका अगाडि भाइ–बुहारीलाई खोलाले बगायो । भाइ–बुहारीलाई माईत छोड्न गएका जेठाजु रित्तो हात रुँदै घर फर्किए ।’ यस्तै हुनसक्छ । बेलैमा सचेत जिम्मेवार र गम्भीर बनौं ।
(नेपाल चीन म्यूचुअल कोअपरेशन सोसाइटीका अध्यक्ष हुनुहुन्छ पौडेल)