काठमाडौं । अराजकता बढ्दै गएपछि सेना मूकदर्शक बनेर बस्न नसक्ने ताजा घटना नेपालजस्तै गरीव मुलुक मालीमा घटेको छ । सेनाले नागरिक सरकारका लागि चुनाव गराउने वाचासहित सत्ता आफ्नो हातमा लिएको छ ।
जातीय हिंसा, जिहादी आक्रमण र अराजक राजनीतिले अति गरेपछि अन्ततः अफ्रिकी देश मालीमा सेनाले राष्ट्रपति र देशलाई नियन्त्रणमा लियो । राष्ट्रसंघको सुरक्षा परिषदले संवैधानिक व्यवस्था कायम गर्न समेत सरोकार देखाएपछि सेनाले भनेको छ– सेनालाई राज्यशक्तिमा चाहिएको होइन, नागरिक सरकार गठन गरिनेछ । नयाँ चुनाव हुनेछ । सत्ता जनप्रतिनिधिलाई हस्तान्तरण हुनेछ । सेनाले कब्जा गरेपछि २०१८ मा दोस्रो कार्यकालका लागि चुनाव जितेर बनेका राष्ट्रपति इब्राहिम बुबाकार केयटाले राजीनामा गरेर जिम्मेवारीबाट पन्छिएका थिए । यिनले भ्रष्टाचार, आर्थिक अव्यवस्था र विवादित चुनावलाई लिएर ठूलो सडक प्रदर्शन र बिरोधको सामना गर्दै आएका थिए । नागरिक विरोध बढेपछि सेना अग्रसर भएको हो ।
अमेरिका र फ्रान्स दुबै भिटो शक्तिले योघटनाको निन्दा गरे पनि सेनाले देशप्रतिको जिम्मेवारी छाडेन । सेनाले भनेको छ– अराजकता रोक्नका लागि सेनाले यस्तो कदम चालेको हो ।
अचम्म त के छ भने सैनिकले सत्ता हातमा लिएपछि अराजक राष्ट्रपतिको विरुद्धमा जनताले विजय जुलुस निकालेका छन् । यो घटनापछि धार्मिक नेता महमुद डिकोले राजनीतिबाट पछि हट्ने जनाउ दिइसकेका छन् ।
मालीको बाछिटा नेपालमा पनि देखा परेको छ र चिन्ता व्यक्त भएका छन् ।