Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

५ सय अपराधीलाई छोडिदैछ, नक्कली भारु काण्डमा गृहमन्त्री नै

०७ सोमबार , असार २०७२९ बर्ष अगाडि

गणतन्त्र दिवसका नाममा राजनीतिक स्वार्थपूर्तिका लागि गम्भीर अपराधीहरुलाई पनि छाडियो। अव भूमिगत सशस्त्र समूहलाई मूलधारमा ल्याउने नाममा हतियार, खरखजाना, आगजनी, मानव वेचबिखन, बलात्कार, ज्यानमारा, अपहरण, डकैतीजस्ता गम्भीर अपराधमा जेल सजाय भोगिरहेका ५ सय अपराधीलाई दण्ड होइन, छुटकाराको पुरस्कार दिइदैछ। देशले नयाँ संविधान र अपराधीले दण्डसजाय माफी पाउने गजबको साइत जुर्दैछ। दलहरुको सहमतिमै कार्य हुँदैछ।
नक्कली भारु काण्डमा गृहमन्त्री नै
नक्कली भारु काण्डमा शेख जावेद इकवालको आतंककारी, तस्करीको जालोमा नेपाल प्रहरीका एआइजी रमेश शेखर बज्राचार्य मुछिएपछि उनलाई जोगाउन कांग्रेस र एमालेका नेतृत्व सुशील कोइराला र वामदेव गौतम लागिपरेको खबर सार्वजनिक भइरहेको छ। इकबाल भारतमा पक्राउ परे र उनले बयानमा नेपाल प्रहरीका थुप्रै व्यक्तिको वर्षौंदेखि साथ र सहयोग पाइरहेको उल्लेख गरेपछि भारतले गृहमन्त्रालयमा के हो यो? भनेर प्रश्न गरेको थियो। नेपालमा छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनु पर्नेमा प्रधानमन्त्री र गृहमन्त्री नै नक्कली नोटको र्‍याकेटमा संलग्न भनेर आरोपित एआइजीलाई बचाउन लागिपर्छन् भने यस्तो सरकारको नियत र लोकतान्त्रिकतामा शंका उठ्नु स्वभाविक हुन गएको छ।
एआईजीको प्रभावमा आइजीपी उपेन्द्रकान्त अर्यालसमेत परेका छन्। यी आइजीपी र एआईजीले सर्वोच्च अदालतको परमादेशको उल्लंघन गरेकाले ४ डीआइजीहरुसमेत अन्यायमा परेको खबर छ। एक खबरअनुसार– 'जालीनोटको कारोबारमा मुछिएका एआईजी वज्राचार्यलाई काखी च्याप्ने गृहमन्त्री वामदेव गौतम र आईजीपी उपेन्द्रकान्त अर्याल सर्वोच्च अदालतको समेत अवहेलना गर्नतर्फ उन्मुख भएको विगतको घटनाक्रमले देखाएको छ। यसमा प्रधानमन्त्री सुशील कोइराला समेत मौन देखिएका छन्।'
घटनाक्रमअनुसार नेपाल प्रहरीमा ७ जना एआइजीको दरवन्दी थियो। तर गृहमन्त्रीले २ विशेष पदसिर्जना गरेर ९ डीआईजीलाई एआईजीमा बढुवा गरिदिए। नेपाल प्रहरीभित्र यो घटना कलंकका रुपमा रहेको छ। किनभने सिनियरलाई हटाएर जुनियरलाई बढुवा गरियो। सिनियर रहेका डीआईजीहरु  यादव अधिकारी, विश्वराज सिंह शाही, सुशीलवर सिंह थापा र परशुराम खत्रीले सर्वोच्च गुहारे, सर्वोच्चले अन्याय भएको ठहर गरिदियो तर त्यो आदेश नेपाल प्रहरीले आजसम्म कार्यान्वयन गरेन।

आइजीपी र गृहमन्त्रीको साँठगाँठ चिर्न प्रम सुशील कोइराला असफल भए। यिनै सुशील कोइराला सुशासन र बहुलवादको धक्कु लगाएर भाषण गरेको सुनिन्छ। अव यिनै गृहमन्त्री वामदेव गौतममाथि जालीनोट र सुन तस्कर काण्डका नाइकेहरुलाई बचाउन लागिपरेको आरोप छ। आफ्नो गृहमन्त्रीत्वमा प्रश्न नउठोस् भनेर एक सहसचिवमार्फत छानविनको नाटक गराउने आदेश गृहमन्त्रीले दिएका छन्। तर २३ लाख नक्कली नोटका बारेमा भारत चुप लागेको छैन। पक्राउ परेका शेख जावेद इकवालले आफूलाई ती नोट बज्राचार्यले वीरगञ्जमा दिएको र उनकै गाडीमा भैरहवा भन्सारसम्म ल्याएको बयान दिएपछि नेपाल प्रहरी सहजै चोखिन सक्ने र गृहमन्त्री र आइजीपीले एआइजीलाई चोख्याउन सक्ने स्थिति कमजोर देखिन्छ। यो खबर मे २२ को हिन्दूस्तान टाइम्समा पढ्न सकिन्छ। यी तिनै गृहमन्त्री हुन् जो ०५४ सालमा पनि गृहमन्त्री थिए र सुन र नक्कली भारु तस्करी बढाउन र कमिशन खान एयरपोर्ट नै ठेक्कामा लगाएको आरोप लागेको थियो। वामदेव गौतम स्वच्छ छविका थिएनन्, अव झन उनीमाथि प्रश्नहरु उठ्नु एमालेको दुर्भाग्य हो।