Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेकपाको झगडा भागबण्डा रहेछ

०१ सोमबार , भाद्र २०७७६ बर्ष अगाडि

काठमाडौं । भागबण्डा मिलाउन प्रचण्ड, ओली र माधव नेपालका २–२ जना जनार्दन शर्मा र पम्फा भुसाल, विष्णु पौडेल र शंकर पोखरेल, भीम रावल र सुरेन्द्र पाण्डेको कार्यदल बनेपछि झगडा शान्त भएको छ ।
यो कार्यदलले अर्ली महाधिवेशनमा प्रचण्ड एक्लो उमेदवार हुनुपर्ने र अध्यक्ष सर्वसम्मत गराउनु पर्ने, ओलीलाई आमनिर्वाचनसम्म सरकार चलाउन दिने र माधव नेपालका मान्छेहरुसमेत प्रदेश सरकारमा राखिने सूत्र निकालिएको छ । रह्यो वामदेव गौतमको कुरो, उनलाई राष्ट्रिय सभामा लैजाने र सरकारमा रोज्जा मन्त्रालय दिएर मनाइनेछ । अर्थात नेकपाभित्रको विचार, सिद्धान्त, पद्धतिको जतिसुकै झ्याली पिटे पनि अन्ततः सत्ता भागबण्डामा गएर नेकपाको सबै झगडा मत्थर हुनेछ । सबैलाई सत्ता चाहिएको रहेछ भन्ने अव हलेदो भनेपछि कोट्याइरहनु पर्नेछैन । सबै पहेलपुर रहेछन् ।
ओली सरकारले भ्रष्टाचार बढायो, अपराधिकरण ग¥यो, संविधान मिच्यो, जनताप्रति जवाफदेहीपूर्ण काम गर्न सकेन भन्ने जति पनि कुरा थिए, ती नेकपाभित्रका जनताको आँखामा भ्रम छर्ने धूलोमात्र रहेछन् । सत्ता नपाए कि तँ छैनस्, कि म छैनको जुन पार्टी फुट्नेसम्मको बिबाद थियो, प्रचण्ड र केपी ओलीले आफ्ना मान्छे अघि सारेर पार्टी समेत दर्ता गरिसकेका थिए, ती सबै सत्ताको दाउपेचमात्र रहेछन् । नेकपाभित्र कुनै पनि नेताले देश र जनताप्रतिको उत्तरदायित्व निर्वाह गरिरहेका रहेनछन्, उनीहरुवीच कसरी सत्तामा पुग्ने भन्ने प्रतिस्पर्धामात्र रहेछ भन्ने अव खुलस्त भइसकेको छ ।
कार्यदल गठन गरेपछि मन्त्रिमण्डल हेरफेरको गृहकार्य सुरु भएको छ । अर्थमन्त्रीको म्याद नथपिने र वामदेव राष्ट्रियसभामा मनोनित भएर मन्त्री बन्नेछन्, वामदेव देखि प्रचण्ड माधव नेपालका गुटका सांसदहरु मन्त्री हुनेछन्  अनि नेकपाको झगडाको कारण र निराकरणको पटाक्षेप यसैहप्ता हुनेछ ।
यो भागबण्डामा प्रचण्ड, माधव नेपाल, केपी ओली र वामदेवले ठूलै भाग पाउनेछन् । भीम रावल, अष्टलक्ष्मी अथवा राजेन्द्र पाण्डेले पनि ठूलै भाग पाउने छन् भने हिस्स बुढी खिस्स दाँत हुने झलनाथ खनालमात्र हुनेछन् । यद्यपि उनले समेत आफ्ना २ मन्त्री हुनुपर्ने माँग गरेका छन् । झलनाथले मन्त्रीमा सिफारिस गरेको को रहेछन् भन्ने कुरा खुलेको छैन । मन्त्रिमण्डलको हेरफेरसँग प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुसमेत फेरिने छन् । र, प्रचण्ड कसरी महाधिवेशनमा सर्वसम्मत अध्यक्ष हुने भन्ने उनको रणनीति कामयाव हुँदैछ । तर पूर्व एमालेका एक प्रभावशाली नेताका अनुसार एकताको महाधिवेशन चैतमै होस् अथवा अलि पर सरेर होस्, प्रचण्ड अध्यक्ष बन्नेछैनन् । अहिले सर्वसम्मत रुपमा कार्यदलले सुझाव दिएर पार्टी फुट्नबाट बचाए पनि मानसिक रुपमा एमाले र माओवादी केन्द्रका रुपमा गुटबाजी धेरै अघि बढिसकेकाले माटोको भाँडोजस्तो नेकपाको एकता डा. फिक्सिटले टालेको ढलानको घरजस्तै हो, केही समयपछि पक्कै चुहिन्छ, विश्लेषकहरु भन्छन् ।