काठमाडौं । कूटनीति र राजनीतिक बिश्लेषकहरु भन्छन्– जनवादी हुँ भन्नेहरुको धनवाद र सत्ताबादको भीडन्तले लज्जा पनि लज्जित हुनपुगेको छ । यी सर्वहारावादीहरु देश र जनताप्रति रत्तिभर जवाफदेहीता राख्दैनन् भन्ने यिनको दैनिक असभ्य चर्तिकलाले देखाइरहेको छ ।
सचिवालय, स्थायी समिति र केन्द्रीय समितिको धमास सुनेर प्रधानमन्त्री तर्सिएनन् । संविधानले चिनेको संसदीय दल हो, संसदीय दलको बैठक राखेर प्रधानमन्त्री हटाउने साहस प्रचण्ड–माधव नेपाल–झलनाथ खनालले किन गरेनन्, आश्चर्यको घटना हो । प्रम ओलीले अर्ली अधिवेशनको प्रस्ताव गर्दासमेत प्रचण्ड कित्ता तर्सियो । किन ? सत्ता चाहिने, बैधानिक मार्ग अवलम्बन गर्न नसक्नेहरु केपी ओलीसँग सत्ताको भीख माँगिरहेका छन् ।
हरेक दिन अध्यक्ष वा प्रधानमन्त्री पदबाट राजीनामा माँग्ने प्रचण्ड यतिबेला आइसोलेसनमा बसेका छन् । संवाद हुन छाडेको छ । माधव नेपाल पक्ष पनि थकित देखिन्छ । राजनीति बुझ्नेहरु भन्छन्– अव नेकपा फुट्यो फुट्यो । ३ गुट जन्मिदैछ भन्नेहरु पनि छन् । प्रचण्ड दर्ता गरिसकेको माओवादी, ओली दर्ता भइसकेको नेकपा एमाले र माधव–झलनाथको अर्को गुट । जनताले पत्याएका ठूला नेताहरु लड्डु लडे झिल्ली झडेको दयनीय स्थितिमा पुगेका छन् । बिचरा बनेका छन् ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीबिरुद्ध जतिसुकै दाह्रा नङ्ग्रा धसे पनि ओलीको पद सुरक्षित छ । ओलीलाई कसरी साइजमा ल्याउने भनेर प्रचण्ड कित्ता षडयन्त्रको तानाबाना बुनिरहेको छ, ओली पक्ष पनि इटाको जवाफ पत्थरले दिने मोर्चाबन्दी कसेर तम्तैयार बसेकै छ । नेकपाका संसदका प्रमुख सचेतक देव गुरुङ भन्छन्– प्रधानमन्त्री संसद बिघटन गर्ने तैयारीमा जुटेका छन् । मध्यावधिमा मुलुक गयो भने, पार्टी फुट्यो भने माओवादीको हालत के होला ? यसैवीच नयाँ संशय छ, प्रधानमन्त्री राष्ट्रपतिलाई सक्रिय पार्ने विषयमा पनि कानुनी सल्लाह गरिरहेका छन् ।
अर्थात प्रचण्डको हरमोर्चामा हार ।
नेकपाको नेतृत्व पंक्ति यसरी कोरोना र बाढीपहिरोले किचिएका, थिचिएका जनताप्रति, जिम्मेवारहीन हुन्छन् भन्ने कसैले पनि सोचेको थिएन । जनताप्रतिको यो संवेदनहीनताले नेकपालाई जनघृणाको स्तरमा झारिसकेको छ । सर्वहारावादीहरु यसरी पीडित जनतामाथि कर थोपर्ने, जनस्वास्थ्यमा भ्रष्टाचार गर्ने र अत्याचारी, अनुदार हुनसक्छन् भनेर कसैले पनि सोचेको थिएन । तर नेकपा कीर्तिमानी भयावहतामा कीर्तिमानी भ्रष्टाचारी साबित भयो । सत्ता इतरका नेकपा पंक्ति पनि कीर्तिमानी गैह्रजिम्मेवार साबित हुनपुगेको छ ।
कोरोना बिरुद्ध काम गर्ने बेलामा ओली र प्रचण्डप्रति सत्ताको ध्रुविकरण हुनु र ६१ सांसदले एकताका लागि माँग गर्नु आफैमा नेकपा फुटिसकेको संकेत हो । माष्टर फिक्सिट अर्थात जोडनले टालेर कतिदिन चल्छ नेकपा ?


