काठमाडौं । प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा देउ, नभए एकपद छाड भन्ने प्रचण्ड र माधव नेपालको जिरह कायमै छ । उनीहरु चिच्याएर थाकिसके र बोलचाल बन्द भएको ५ दिनपछि झलनाथ खनाल र सुवास नेम्वाङको पहलमा आइतवार संवादहीनताको अवस्था तोडिएको छ । अर्थात्, प्रचण्ड गले, केपी ओलीका सामु कर्कलो गलेझैं गले । तथापि भयभित पार्टी र सरकारले जनतालाई कस्तो ढाडस र आश्वस्तता देला ? आश्चर्य छ ।
पुरानोले केही गर्न सकेन, नयाँले के के गर्ने कतै खाका केही देखिन्न, बस सत्ता चाहिएको छ ।
केपी ओलीको दुबैपद नत्याग्ने चट्टानी अडान कायमै छ । प्रचण्डले आइतवार पनि आग्रह गरेका छन्– एकपदबाट राजीनामा दिएर निकास दिनुस् । निकास दिनेगरेर स्थायी समितिको बैठक अगाडि बढाऔं । यता केन्द्रीय समितिका २५ प्रतिशतले केन्द्रीय समिति बोलाउन आग्रह गरेका छन् । ओलीले अर्ली अधिवेशन गरौं भन्दा प्रचण्ड हच्किए र चैतमा मात्र अधिवेशन हुनेभएको छ । प्रचण्ड–माधव नेपाल कित्ता, सर्लक्क ओलीले पद छाडिदिए, पदासीन हुने अवसरको खोजी हो । ओली अधिवेशन र संसदबाट निर्वाचित दुबै पद किन छाड्ने भन्नेमा छन् । ढाडमा हाड नभएका तर सबैतिर बहुमत छ भनेर हल्लीखल्ली मच्चाउने प्रचण्ड र माधव नेपाल ओलीलाई फाल्नसक्ने हैसियतमा अझै पनि देखिएका छैनन् । सकेको भए बाँकी राख्थे र ?
एकाएक वामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारे, गृहमन्त्री रामवहादुर थापाले सरकार बचाउने प्रस्ताव ल्याएपछि प्रचण्ड, माधवको बहुमत चुहिएर अल्पमतमा पुगेको छ । केपी ओलीसँग सहमत भएर कामचलाउ अध्यक्ष र मानसिक रुपमा चर्किसकेको पार्टी एकता बचाउनुको कुनै बिकल्प देखिदैन प्रचण्डसँग ।
नेकपाभित्रको झगडा भुसको आगोजस्तो भएपछि विश्लेषकहरुले भारनढका नामको दुईमुखे पक्षीसँग दाँजेका छन् । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा त्यो दुईमुखे भारनढका पक्षीजस्तै देखिन्छ । यो पक्षीको दुई मुख अरुबेलामा मिलेजस्तो देखिन्छन्, अनि खानकै लागि सधैँ झगडा गरिरहन्छन् । एकदिन एकको मेख मार्न दोस्रोले विष खाइदियो, नतिजा दुबैको ज्यान गयो । पार्टी फुटाउने, नयाँ पार्टी बनाउने, मध्यावधिमा जानेलगायतका बिकल्प बोकेर बसेका ओली १४ वर्षपछि प्रचण्डभन्दा गहुँगा नेताका रुपमा देखापरेका छन् । प्रचण्डको किङपिन स्तरलाई खस्काएर धुलोपिठो बनाइदिए ओलीले ।
खानकै लागि यी दुई मुखवीच मारामार झगडा चर्किरहेको छ । अन्ततः बाध्य भएर प्रधानमन्त्रीले भनिदिए– अध्यक्ष हुने भए अधिवेशन कुर्नु, प्रधानमन्त्री हुने भए चुनावमा जानु । युद्धबिराम भएजस्तो छ, युद्ध सकिएको छैन । नेकपाका नेताहरु संवादहीनता तोडियो, सकारात्मक हो भनेर क्षणिक न्यानो अनुभव गरिरहेका छन् । यद्यपि ओली र प्रचण्ड–माधव कित्ताको बेग्लाबेग्लै जमघट घटेको छैन । कसले कसलाई पछार्ने हो, षडयन्त्र चलिरहेकै देखिन्छ ।


