काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूमि फिर्ता ल्याउन छाडेर प्रधानमन्त्रीले राम जन्मभूमिको बहस छेडेका छन् । नक्सा आयो, भूमि कता छ ?
त्यसो त नक्सामै भएको सुस्तालगायतका ६१ स्थानका ६० हजार हेक्टर भूभाग भारतले अतिक्रमण गरिसकेको छ । वर्षा भइरहेछ र भारतले सिमानामा निर्माण गरेका अग्ला सडक, बाँधका कारणले नेपाली भूमि जलमग्न दह बनेका छन् । तराई चुर्लुम्मै डुबेको छ । भारत नेपालका लागि समस्यामाथि समस्या थपिरहेको छ । यी समस्याको प्राविधिक, कूटनीतिक, राजनीतिक र कानुनी हल खोज्न छाडेर प्रधानमन्त्री राम जन्मभूमि नेपाल हो भन्न थालेका छन् । यो कुन उद्देश्यप्रेरित विषयान्तर हो ?
अतिक्रमित भूमि फिर्ता लिन अघि बढ्नुपर्ने प्रधानमन्त्री अयोध्याकाण्डतिर पो लागेका छन् ।
भानु जयन्तीका दिन पर्साको ठोरी रामजन्मभूमि हो भनेर प्रधानमन्त्रीले रामवाण किन हाने ?
हुनसक्छ, राम जन्मभूमि ठोरी नै होला । वाल्मिकी आश्रम पनि यतै छ । लवकुसको जन्मस्थान पनि नेपाल नै होला, यसको निदान अनुसन्धानबाट हुने हो । इतिहासको खोज इतिहासकारहरुले गर्ने हो, यो तातो हतारो समस्या होइन, हतारो समस्या देशको अखण्डताको हो । भूभागको हो । भारतसँग चिस्सिएका सम्बन्ध सुधारको हो । ल्हासा जाने कुतीको बाटो, प्रधानमन्त्रीले राम जन्मभूमिको कुरा उठाइदिए ।
नेपाल भारतवीच चिस्सिएको सम्बन्ध झन चिसो भयो ।
‘काम कुरो कालापानीतिर छ, सरकार प्रमुख कुम्लो बोकी अयोध्यातिर’ लागेका छन् । यो जवाफदेहीता होइन । राजनीतिक र कूटनीतिक गैरजिम्मेवारीको पराकाष्ठा नै हो ।
प्रमाणका आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग हो । भारत आफ्नो भन्छ, यसमा प्रमाण पछारेरभूभाग फिर्ता लिने तरिका भनेको संवाद नै हो । संवादमा बार हाल्नेगरी प्रधानमन्त्रीले बोल्नु अराष्ट्रिय कार्य हो । भारतलाई संवाद युद्धमा प्रमाणले परास्त गरेर भूमि फिर्ता ल्याउन नेकपा पंक्ति पनि पछाडि परेको छ । दुई तिहाइको नेकपा कति गैरजिम्मेवार छ, सरकारको चालाले प्रष्ट पारिरहेको देखिन्छ । भारत नेपालविरुद्ध विष बमन गरिरहेको छ, नेकपा पंक्ति सुनिरहेको छ, नेकपाको योभन्दा गैरजिम्मेवारी अरु के हुनसक्छ ?
कुन बेलामा के बोल्ने भन्ने विवेकसमेत नेकपाले गुमाएको छ । नेपालले मर्यादाको सीमा नाघ्नु देशप्रति धोका हो ।


