Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

संसद र संविधान दुर्घटनाग्रस्त

२२ सोमबार , असार २०७७६ बर्ष अगाडि

काठमाडौं । पार्टी विचार र सिद्धान्तले चल्नुपर्ने हो । सत्तारुढ नेकपा यतिखेर सत्ता तानातानमा लागेको छ । प्रचण्ड बहुमतको पार्टीभित्रै सत्ता इतर र भितरको पक्ष विपक्ष भिडन्त गरिरहेका छन् । यो भिडन्त कुनै विचार वा सिद्धान्तको लडाइँ होइन, सत्ता खोसाखोसको झगडामात्र हो ।
यही झगडामा सरकारमा रहेको केपी ओली पक्षले अचानक चलिरहेको संसद अधिवेशनको अन्त्य गराएर पार्टी फुटाउन सक्ने अर्को अध्यादेशको संकेत दिइसकेको छ भने इमर्जेन्सी लगाउने सम्भाबना पनि देखिन्छ । यतिले पनि नेकपाभित्रको शक्ति संघर्षमा बल लगाउनुपर्ने अवस्था आयो भने प्रधानमन्त्रीले विशेषाधिकारको उपयोग गरेर मध्यावधि चुनावमा जानसक्नेसम्मको हिम्मतिलो अडान देखाइसकेका छन् ।
नेकपाको स्थिति प्रचण्ड गुट र ओली गुटमा विभाजित छ । पार्टी फुटाउनकै लागि प्रचण्ड चलाख भएर २२ सदस्यीय नेकपा माओवादी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् भने ओलीले पनि नेकपा एमाले झापाकी सन्ध्या तिवारी अघि सारेर दर्ताका लागि निवेदन दिइसकेका छन् । मानसिक रुपमा २०७५ साल जेठ ३ गते एकीकरण भएको एमाले र माओवादी केन्द्रवीचको एकताले गठन भएको नेकपा फुटिसकेको छ भन्दा फरक पर्दैन । प्रधानमन्त्रीले प्रचण्डलाई सिधै भनेका छन्– पार्टी फुट्यो भन्नुहुन्छ, ठिकै हो, भिन्नै बैठक गर्नुहुन्छ । गुटका निर्णयलाई पार्टि निर्णय भन्नुहुन्छ । अव मलाई निकाल्नोस्, त्यसपछि आ–आफ्नोबाटो लागौंला ।
यतिमात्र होइन, आफ्ना मन्त्रीहरुलाई समेत बोलाएर प्रधानमन्त्रीले भनिदिएका छन्– को प्रचण्ड–माधवतिर लाग्ने हो, लाग्नोस् । नेकपा कित्ता कित्तामा विभाजित भएको छ, देश अस्तव्यस्त छ । केही नेकपा नेताहरु अझै मिलाउने प्रयास गर्दै अनसन समेत बसेका छन् ।
नेकपा यतिखेर बालुवाटार, धुम्बाराही, सातदोवाटो, भैँसेपाटीतिर बैठकपछि बैठक गरिरहेका छन् । प्रचण्डकित्ता भन्छ– सचिवालय, स्थायी कमिटीमा ओली अल्पमतमा परिसके । तर यो कित्ता संसदीय बैठक र केन्द्रीय समितिबाट प्रधानमन्त्री ओलीलाई परास्त गर्न सक्दैन । किन ? आश्चर्य छ । अधिवेशनबाट अध्यक्ष बनेका ओलीलाई अध्यक्षबाटसमेत राजीनामा किन माँगियो ? त्यो हैसियत कहाँबाट आयो ? रहस्यपूर्ण छ ।
कार्यकर्ता भन्छन्– नेकपा भुङ्ग्रोमा प¥यो, एकता अगेनामा । पद, पैसा र पावरको प्रतिस्पर्धाले लोकतन्त्र र संविधान नै गाईजात्रा बन्नपुग्यो । नेकपा त्यसै पनि बृद्धाश्रमजस्तो छ, बृद्धहरुले नेकपालाई ध्वस्त पारेर छाड्ने भए । संविधान र संसदले सरकार चलाउनु पर्ने हो, सिद्धान्त र विचारले पार्टी । पार्टी नीतिले नचल्दा सरकारले संसद र संविधान चलाउन पुग्यो । मुख छँदा छँदै नाकले पानी खाएपछि जे हुन्छ, नेपाली राजनीतिलाई लोकतन्त्र सर्केको अवस्था छ, अकल्पनीय परिणाम आउन पनि सक्छ ।
चिनिया राजदूतको सक्रियता
आइतवारदेखि चिनियाँ राजदूत हाउ याकीले माधव नेपालको घरै पुगेर भेटवार्ता आरम्भ गर्नुभएको छ । नेपालमा राजनीतिक बिस्फोटको संघारमा पुगेका बेलामा चिनियाँ राजदूतको सक्रियता अर्थपूर्ण छ ।
यता भारतीय मिसन, उता राजदूतको सक्रियता, लाग्छ नेपालको कम्युनिष्ट राजनीति अव भारत र चीनवीचको लद्दाख युद्धको खतरनाक तनावसँग जोडिदैछ । भारतले ओली सरकार गिराउन र चीनका लागि टिकाउनु शक्तिको प्रतिस्पर्धा हुनपुगेको छ । यो प्रतिस्पर्धामा अमेरिका र इयु पनि गाँसिएको छ । यस्तो स्थितिमा नेकपाका नेताहरु एकता बिथोल्न र सत्ताका लागि जो जतिसुकै र जस्तोसुकै अहितकारी कदम चाल्न तैयार हुनु भनेको आत्मघाती निर्णय हो । स्थिति अरु बिग्रियो भने नयाँ ध्रुविकरण र संलग्नताले नेपाल वल्लो किनार न पल्लो तीरको अवस्थामा पनि पुग्न सक्ने विश्लेषण गरिदैछ ।