काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग दुई चरणको गोप्य वार्ता गरेका ओलीसँग प्रचण्ड–माधव–झलनाथ कित्ता नराम्ररी तर्सेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट निकाल्न खोजे जुनसुकै हदसम्म जाने तैयारी प्रम ओलीले गरेकोमा अब शंका छैन । कांग्रेस सभापति देउवाले पनि सत्ता साझेदारीका विषयमा असार १७ पछि दुईपल्ट प्रम ओलीसँग, सुवास नेम्वाङसँग र प्रचण्ड–माधव नेपाल गुटसँग पनि कुरा भएको खुलासा गरेपछि राजनीतिक पहिरो जाने र यो पहिरोले नेकपाको दुई तिहाइमात्र होइन, धेरै नेताको चुरीफुरीको हैसियत देखिने गर्मी बढ्दै गएको छ ।
यही खतरा टार्नका लागि प्रचण्ड, माधव र झलनाथ खनालले राष्ट्रपतिलाई भेटेर महाभियोग ल्याउन लागेको होइन भन्ने प्रष्टिकरण दिँदा पनि ओलीसँगको वार्ता मिलेन । उनीहरु ओलीको अध्यक्ष वा प्रधानमन्त्रीबाट राजीनामामा झर्दा पनि ओली टसको मस नभएको खबर छ । बिमार ओली हिम्मतिला देखिएका छन् ।
केपी ओली पार्टी फुटाउन परे पनि तैयार, कांग्रेस, मधेशी दल र स्वतन्त्रसँग मिलेर सरकार बनाउन पनि तैयार, आपातकाल लगाउन वा मध्यावधिमा जान पनि तैयार भएको बुझेपछि प्रचण्ड कित्तालाई भात खाउँ कि थाल खाउँको अवस्था छ । एमाले र माओवादी केन्द्रको एकता अव जोखिममा प¥यो । प्रचण्ड पक्षको निष्कर्ष छ– ‘ओलीजी पार्टी एकता बचाउनुपर्छ भन्नेमा हुनुहुन्न, फुटाउनेमा हुनुहुन्छ । काँग्रेससँग मिलेर सरकार बनाउने गृहकार्यमा हुनुहुन्छ ।’
पार्टीभित्रको बिबाद मिलाउन ओलीका तर्फबाट विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल र प्रचण्ड–माधवको तर्फबाट वर्षमान पुन र जनार्दन शर्माको समिति बनाइएको छ । यो समितिले मंसिरमा ओलीले प्रचण्डका लागि राजीनामा दिनुपर्ने धारणा अघि सारेको छ, जुन ओलीले सुरुमै अस्वीकार गरिसकेका छन् ।
नेकपाभित्र प्रचण्ड दुवै पद छाड्न दबाब दिइरहेका छन्, केपी ओली आ–आफ्नो बाटो लागौं भनिरहेका छन् । सहमति र एकता अव समाप्तीमा देखिन्छ ।
कार्यकर्ता पंक्तिलाई आश्वस्त पार्न ओली, प्रचण्ड दुवैपक्ष अहिलेको बिबाद थप नचर्काउन सहमत भएको प्रवक्ता नारायणकाजीले बताएका छन् ।
प्रधानमन्त्री निवास भित्रको बैठक हलमा लगाउन दिएको निलो जुत्ता बाहिर लगाएर उभिएका प्रचण्ड, माधव, झलनाथ समूह केपी ओलीबाट कसरी सत्ता हातपार्ने भन्ने चिन्तामा देखिन्छन् ।
कोरोना कसरी नियन्त्रण गर्ने, भोका जनतालाई कसरी खाना दिने, राष्ट्रिय एकता कसरी बलियो पार्ने, राष्ट्रिय संकट कसरी टार्ने, विदेशी अतिक्रमण र हस्तक्षेप कसरी रोक्ने भन्ने चिन्ता यी ठूला नेताहरुमा देखिदैन । सत्ता, शक्तिको लोभले यी बृद्धहरुलाई छाडेन भन्दैछन् वर्तमान पुस्ता ।


