काठमाडौं । नेकपाभित्रको भाले भीडन्त । प्रचण्डलाई साइजमा राख्न र मरीच चाउरिएझैं चाउरिन बाध्य पारिरहेका अध्यक्ष केपी ओलीले सरकार र पार्टीमा मेरै हुकुम चल्छ भन्ने देखाउँदै आएका छन् । प्रचण्डले जतिसुकै गोर्खे लौरी लगाएर धपाउन खोजेको प्रतिकूलतालाई आफ्नो पक्षमा पार्न सिपालु ओली मन्त्रिमण्डल पुनर्गठन गरेर मन्त्री रहेका र पार्टीमा प्रभावशाली भएका दुबैथरि प्रचण्डका भनिएकाहरुलाई उता कलमी गर्ने र आफ्नो पक्षमा सार्ने प्रयत्न हुनै लागेको अनुमान विश्लेषकहरुले गर्न थालेका छन् । यसकारण हुनै लागेको मन्त्रिमण्डल पुनर्गठनबाट प्रधानमन्त्री र अध्यक्षका रुपमा केपी ओली झन बलियो हुने वातावरण बन्दैछ ।
त्यसै पनि ओली सरकार राजनीतिक अपराधिकरण र कमिशनतन्त्रमा चुर्लुम्मै डुबेको थियो, स्वास्थ्य सामग्री खरिददेखि जनताको गाँसबास, आवतजावत, उपचार प्रवन्ध सम्बन्धमा चुक्यो र एमसीसी पास गर्ने कि नगर्ने भन्ने अनिर्णयको बन्दी बन्न पुगेपछि प्रधानमन्त्री केपी ओलीमाथि बालुवाटारमा गुटबाजी गर्न मिल्छ ? भन्ने गम्भीर आरोप समेत लागेको छ । पार्टीभित्र नै अलोकप्रिय बन्दै गएपछि अन्तिम ब्रम्हास्त्रको रुपमा मन्त्रिमण्डाल पुनर्गठन गरेर आफ्नो पक्ष बलियो पार्ने रणनीतिको तैयारमा लागेका संकेतहरु देखिएका छन् ।
५ वर्षको जनबल पाएको र झण्डै दुई तिहाइको समर्थन समेत भएको ओली सरकार क्षमताका दृष्टिले, सुशासन कायम गर्न असफल हुनुका अनेक कारण छन् । राष्ट्रिय मुद्दामा एकढिक्का भएको अवस्थामा समेत एजेण्डाका दृष्टिमा पार्टीलाई एकमत राख्न सकेनन् ।
यता प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठहरुको गुट बलियो बन्दै गएपछि पदबाटै राजीनामा दिनुपर्ने स्थितिसम्म आएको थियो । धन्न चिनियाँ राष्ट्रपतिले नेपालका राष्ट्रपतिसँग वार्ता गरेपछि र चिनियाँ राजदूत हाउ याँकीले प्रधानमन्त्री, प्रचण्ड, माधव नेपाललगायतका नेताहरुसँग भेटेर पद बचाइदिए पनि एमसीसी पास गर्नैपर्ने कडा खड्गो सिर्जना भइसकेको छ । एकातिर पार्टीभित्रै अल्पमतमा परेर राजीनामा माँग भइरहेको र प्रतिपक्षी पनि कडा रुपमा प्रस्तुत हुनथालेको, अर्कोतिर भारतले वार्ताको वातावरण नेपालले बनाओस् भनेर घुर्की देखाइदिनु, आफ्नो लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका अतिक्रमित भूमि हकभोगमा ल्याउनका लागि सरकारका कुनै संयन्त्रले वार्ताको वातावरण बनाउन नसक्नु, चीन–भारत सीमा द्वन्द्वमा भारतले नेपाल चीनको गोदीमा बसेर आँखा देखाएको आरोप लगाउनु, नेपालको कूटनीतिक क्षमता नराम्ररी फेल हुनुले राजीनामा दिएर सत्ता छाड्नैपर्ने रेडजोनमा परेका केपी ओली अन्तिम अस्त्र मन्त्रिमण्डल पुनर्गठनको कसरतमा लागेको अनुभव गरिदैछ ।
गतहप्ताको सोमवार राष्ट्रपति विद्या भण्डारीले प्रचण्ड र ओलीसँग वार्ता गरेर असन्तुष्टिलाई सुलह गराउने प्रयत्न फेल भएपछि नेकपाभित्र ज्वालामुखी फुट्ने खतरा पनि छ ।
प्रचण्डका भनिए पनि गृह र वनमन्त्री रामवहादुर थापा र शक्ति बस्नेत चुपचाप छन् । स्वास्थ्य, शिक्षामन्त्रीमात्र होइन, मन्त्री वर्षमान पुन ओलीतिरै भए पनि अन्य थुप्रै मन्त्रीसँगै फालिनेछन् भने वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई सरकारमा भित्र्याएर भाले भिडन्तमा प्रचण्ड र माधव नेपाललाई परास्त गर्ने प्रधानमन्त्रीको मूड देखिदैछ ।
सवाल मन्त्रिमण्डल पुनर्गठन वा ओलीको राजीनामा होइन, सवाल हो, बनेको नेपाली एकता खण्डित गर्ने साजिस त भइरहेको छैन ?


