Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

हैसियत देखियो क्षमता वार्तामा देखियोस्

०१ सोमबार , असार २०७७६ बर्ष अगाडि

काठमाडौं । नेपालका कुनै पनि निर्णय नेपाली गर्न सक्षम छन् भन्ने हैसियता देखाउन संसद सफल भयो ।
अतिक्रमित लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमात्र होइन, सुस्तालगायतका ७१ स्थानमा मिचिएका ६० हजार हेक्टरभन्दा बढी नेपाली भूभाग समेटेर नेपालको नक्सा जारी भयो, निसान छापमा समावेश गर्न संविधानको संशोधन भयो । नेपालले पक्ष विपक्ष, बादी प्रतिवादी सबै एक भएर संविधान संशोधन गरे । नेपालले देखाएको यो हैसियतले केपी ओलीको सरकारलाई ऐतिहासिक हैसियतवाला भन्न सकिने अवस्था बनेकै हो ।
अव क्षमता देखाउनु पर्छ । राजनीतिक र कूटनीतिक क्षमता, वार्ताको टेबुलमा । सरकारसँग प्रमाण छन्, अझ बढी प्रमाण खोज्न ९ सदस्यीय कार्यदल खटिएको छ । छिटोभन्दा छिटो होमवर्क सम्पन्न होस्, मुसा मार्न बाघको सर्जाम तैयार गर्ने नेपाली उखान ध्यानमा राखेर वार्ताको तैयारी हुनुपर्छ ।
अतिक्रमित भूमि नेपालको नक्सामा समेटेर अध्यावधिक मात्र गरिएको हो । अहिले भारतले ७७ देशमा आफ्ना दूत खटाएर नेपालले भारतीय भूमिमा दावी गर्दै नक्सा जारी गरेको लविङ गरिरहेको छ । त्यो लविङबारे सरकार जानकार छ तर राम्रो बोल्ने परराष्ट्रमन्त्रीले विदेशमा नेपाली प्रतिनिधिका रुपमा रहेका राजदूतहरुलाई नेपालको नक्साबारे लविङ गर्न खटाएको छैन, राजदूतहरुले सधैं देशका लागि खटिनुपर्छ, यो बेलामा त झन बढी खटिएर भारतले फैलाएको गलत सूचनालाई खण्डन गर्दै यथार्थ नेपालको धारणा बढीभन्दा बढी प्रचार गर्नुपर्ने बेला थियो । तर राजदूतहरु चाहिनेजति सक्रिय भएको भनक पाउन सकिएको छैन । राजदूत, वाणिज्यदूत वा अन्य प्रतिनिधिहरुले देशका लागि जवाफदेहीता लिने र जिम्मेवारी निभाउने बेला यही हो ।
भारतले सिमाना अतिक्रमणमात्र होइन, नागरिकमाथि, सुरक्षाकर्मीमाथि ज्यादतिको मात्रा बढाएको छ । भारतले आफ्नो सैनिक शक्तिको अतिप्रचार गरेर नेपाल भारतका सामु कति समय टिक्न सक्छ भन्ने खालको मानसिक युद्ध छेकिसकेको अवस्था छ । नेपालमाथि यति धेरै दुस्प्रचार गर्न थालेको छ भारतले कि नेपालका लागि जोखिम र चुनौति बढेका छन् । भारतीय मिडिया त नेपालसँग वार्ताको सम्भाबना नरहेको भनिरहेको छ ।
यसकारण हैसियत देखाइदिएपछि अव शालीनताका साथ भारतलाई वार्ताको टेबुलमा आउन आग्रह गर्नुपर्छ । नेपालले नेपाली भूमि नक्सामा अध्यावधिक गरेको मात्र हो, सिमानाका सबै समस्या सधैंका लागि समाप्त पारौं भनेर भारतलाई राजनीतिक, कूटनीतिक र अन्य सबै उपायहरु गरेर वार्तामा बसाल्नैपर्छ, यतिबेला नेपालले देखाउने क्षमता यही नै हो । नेपाल कूटनीतिमा कमजोर छैन । नेपालका मित्रहरु पनि विश्वभरि छरिएका छन् । नेपालले कुनै विदेशीको कार्ड खेल्न जरुरी छैन । नेपालले आफ्ना प्रमाणहरु पछारेर भारतसँग कूल कूल वार्ताबाटै सीमासमस्या समाधान गर्नुपर्छ र नेपाल र भारतवीच खुला सिमानाका कारणले रहेको सम्बन्धलाई के कसरी समानताका आधारमा नियमित गर्न सकिन्छ,  आधार तैयार पार्ने अवसर यही हो ।