काठमाडौं । संविधानको गाइडलाइन र सरकारको निर्णयमा जस्तोसुकै परिस्थितिमा जुनसुकै जिम्मेवारी पनि निर्वाह गर्दै आएको नेपाली सेनाले पहिलोपल्ट चित्त दुःखाएको छ ।
सरकार बिबादमा फसेको अवस्थामा नेपाली सेनालाई कोरोनाको स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी दिइएको हो र सेनाले आफूले पाएको जिम्मेवारी पूरा पनि गरेको छ । तर सेनालाई नै बदनाम गर्ने, भ्रष्टाचारी भनेर दोष लगाउने प्रचार प्रसार भएपछि सेनाले स्वास्थ्य सामग्री खरिदको दायित्व आगामी दिनमा नलिने निर्णय गरेर सरकारलाई जानकारी गराएको खबर छ । नेपाली सेनाको दुःखेसो छ– राष्ट्रिय हितलाई सर्वोपरी ठानेर हदैसम्मको पारदर्शी रुपमा काम गर्दा पनि नियतबस अनियमितताको आरोपसहित विवादमा मुछ्ने सिलसिला जारी रहेकोले आगामी दिनमा यस्ता सामग्रीको खरिदको जिम्मेवारी नलिने निर्णयमा पुग्नु परेको हो ।
सेनाले स्पष्ट पारेको छ– राष्ट्रिय संकटका बेला आइपर्ने वैधानिक दायित्व निर्वाहमा भने सदैव तम्तैयार रहने सूचना सरकारलाई दिएको स्रोतले दावी गरेको छ । हुन पनि कुनै पनि मुलुकमा सेनाका बारेमा यसरी हल्लागिल्ला गरिदैन । सेनालाई नैतिक समर्थन र बल प्रदान गरिन्छ । नेपालमात्र त्यस्तो देश हो, जहाँ राजनीतिबाट पर र आफ्नो व्यवसायिकतामा रहेको सेनाका बारेमा राजनीति गर्ने गरिन्छ ।
अव राज्यले सेनालाई व्यापार, ठेकेदारीमा लगाउने नलगाउने विषयमा पनि सोच्नुपर्छ । सरकार कोभिड १९ का स्वास्थ्य सामग्री खरिदमा ओम्नी ग्रुपसँग भ्रष्टाचारमा मुछिएपछि यो जिम्मेवारी सेनालाई दिइएको थियो, सेनाले पारदर्शी रुपमा स्वास्थ्य सामग्री ल्याएको थियो । अन्तिम खेप सामान आउने क्रमसँगै अव सेनाले स्वास्थ्य सामग्रीको खरिदमा आफूलाई संलग्न नगराउने जनाउ दिएको हो ।
नेपाली सेना बाढीपहिरो, भूकम्पमा जस्तै कोरोना परीक्षण, क्वारेन्टाइन, आइसोलेसन, स्वाद परीक्षणलगायतका महाविपतसँग फ्रन्टलाइनमा काम गरिरहेको छ । सेनाका सुरक्षा र स्वास्थयकर्मीहरु अहोरात्र खटिएर जनताको सेवा गरिरहेका छन् ।
सेनाले आफूले खरिद गरेका मूल्यसूची जारी गरेको छ । ती मूल्यसूची ओम्नी ग्रुपले ल्याएको कमसल सामानको सूचीभन्दा महगो भएको भनेर अनियमितता भयो भनिएको छ । ओम्नीले व्यापारीबाट र सेनाले जीटुजी माध्यमबाट गुणस्तरीय सामान ल्याएको बारे नियतका खोटाहरु मौन छन्
स्मरणीय छ, सरकारले गठन गरेको उच्चस्तरीय संयन्त्र खारेज गरेर कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) लाई अझ सक्रिय पारेको छ । यही संयन्त्रमा रहेर नेपाली सेनाले नेतृत्वदायी भूमिका निर्वाह गर्न खोज्दा भ्रष्ट मनस्थिति पाल्नेहरुमा छटपटी र असन्तुष्टी बढेको छ ।
कोरोनाको कहर अझै बढ्ने सेनाको ठहरका साथै कोरोनालाई नियन्त्रण गर्न सेनाले आफ्नो क्षेत्रबाट कुनै कसर नछाड्ने, कर्तव्य पूरा गर्ने बताएको छ ।


