Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राष्ट्रको सवाल, पार्टीहरुको बबाल

२६ सोमबार , जेठ २०७७६ बर्ष अगाडि

काठमाडौं । संसदमा अध्यावधिक नेपालको नक्सा निशान छापमा कायम गर्नका लागि संविधान संशोधनको प्रस्ताव गर्नासाथ नेपाली कांग्रेस, जसपादेखि राष्ट्रिय जनमोर्चासम्मले आ–आफ्ना मान्यताहरु पनि प्याकेजमै संशोधन हुनुपर्ने प्रस्ताव गरेका छन् । राष्ट्रको सवालभन्दा महत्वपूर्ण पार्टीका सवाल हुनसक्दैन, हुनुहुन्न । राष्ट्र पहिले, राष्ट्रभित्र पार्टी हुनुपर्छ ।
नेपालको नक्सा राष्ट्रिय सवाल हो । नेपालको सवालमा कुनै पनि पार्टीवीच मतभिन्नता हुनु भनेको अराष्ट्रिय कर्म हो । जब राष्ट्रको सवाल आउँछ, त्यतिबेला हिमाल, पहाड, तराई एक भएर एकता प्रदर्शन गर्नुपर्छ । बिखण्डन र बिभाजनका सानोभन्दा सानो आवाज पनि उठ्नुहुन्न ।
यसकारण सरकारले संसदमा पेश गरेको नेपालको अध्यावधिक नक्सा निसान छापमा राख्न संविधान संशोधनको प्रस्तावमा कुनै पनि दलले मत बझाउन, विमति राख्न मिल्दै मिल्दैन । यहाँसम्म कि किनारा लागेको राजतन्त्र र भूमिगत राजनीति गरिरहेका विप्लव वा अन्य राजनीतिक शक्तिहरुले पनि बिमति राख्नु हुन्न । संविधान मान्नु नमान्नु आफ्नो ठाउँमा छ, देश मान्नुपर्छ, देशवादी हुनैपर्छ । राजनीति देशभित्र गर्ने हो । सिमानाभित्र गर्ने हो । राष्ट्रलाई साबुत राखौं, राजनीतिक झगडा जति गरे पनि हुन्छ । न्याय अन्याय, भेद विभेद, समानता असमानताका झगडा जत्ति गर्दा पनि हुन्छ, मुख्य सवाल सग्लो नेपाल र एकढिक्को नेपालत्व हो ।
राष्ट्रका मुद्दा संविधानमा संशोधन हुँदा कुनै दल, कुनै नेतालाई पेटपोल्नु भनेको राष्ट्रिय धर्म होइन । राष्ट्रका मुद्दामा पार्टीका, नेताका मुद्दा मिसाउनु भनेकै राजनीतिक अधर्म हो । जसले जुनसुकै सिद्धान्त बोकेको भए पनि नेपाल राष्ट्रको सार्वभौमिकता, स्वाधीनता बिपरित हतियारको रुपमा प्रयोग गर्ने जो कोही हुन्, तिनीहरु माफीका लायक पनि हुनेछैनन् । देशको अखण्डता राजनीतिको पहिलो शर्त हो । नेपाल छ र हामी नेपाली छौं, सबै राजनीतिक दलले यत्ति यत्ति पनि नबुझ्ने र राष्ट्रिय अखण्डताका विषयमा मत बझाउने हो भने देश झन कमजोर हुनसक्छ, विदेशीले झन हेप्न थाल्छन् । नेपाली एकता र राष्ट्रियता नेपालको गौरव र शक्ति हुनुपर्छ, यही नै राजनीति हुनुपर्छ ।