काठमाडौं । नेपालले आफ्नो पूर्ण नक्सा सार्वजनिक गरेपछि भारत पाखाको माछो छटपटिएझैं छटपटिन पुगेको छ । आकारले ठूलो भारतले नेपाली नागरिकलाई भारतबाट धमाधम नेपालतिर खेद्न थालेको छ भने सीमाअतिक्रमण र सीमामा आवतजावत गर्ने, सीमाक्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई थप दमन गर्न थालेका खबर आइरहेका छन् ।
नेपाल वार्ता वार्ता भनिरहेको छ र प्रमाणका आधारमा सीमा निर्धारण खोजरहेको छ, भारत वार्ता गर्न बल्ल इच्छा व्यक्त गर्न थालेको देखिदैछ । व्यवहारले दमन गर्ने र मुखले वार्ता गर्ने भारतले गोर्खा सैनिकको समेत अपमान गर्नथालेको देखिदैछ । यति नै बेला चीन र पाकिस्तानसँग सीमा समस्या बढेकाले पनि भारत त्यो रिस नेपालर नेपालीमाथि पोख्दैछ ।
यता नेपालमा भने मधेश केन्द्रीत दलहरुले निशान छाप संशोधन भएका बेला प्याकेजमै मधेशका ९ बुँदे माँगहरु पनि संशोधन होस् भनेर कसरत गरिरहेका छन् । जेठ ९ गते दर्ता भएको यो प्रस्ताव जेठ १८ गते संसदमा संशोधन प्रक्रिया सुरु भएको छ र सार्वजनिक जानकारीका लागि जारी पनि गरिएको छ । नेपाली कांग्रेसले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र समेटिएको नक्सा दुई तिहाइले पास हुनेमा अव कुनै शंका छैन । मधेश केन्द्रीत दलहरुले मतदान नगर्न सक्छन् ।
संविधान जारी भएपछि संविधानमा आगो लगाउने र संविधानअनुसार नै निर्वाचनमा पनि सहभागी हुने र संविधानअनुसार लाभ लिने काम मधेश केन्द्रीत दलहरुले गरिरहेका छन् । अझै पनि मधेश केन्द्रीत दलहरुले मधेशका माँगहरु संशोधनमा सामेल गराउन प्रयास गरिरहेका छन् । राजेन्द्र महतो, महन्थ ठाकुर र लक्ष्मणलाल कर्णहरु एकैपल्ट मधेशका ९ बुँदे माँगहरु संविधानमा संशोधन होस् भन्दै दबाबको पारो चढाइरहेका छन् ।
नक्सा सार्वजनिक भएपछि भारतले संविधान संशोधनलाई रोक्न पूर्वराजदूत श्यामशरणमार्फत निकै जोडबल लगाइरहेको छ । तर राष्ट्रियताको मामिलामा चुक हुन गए भोलि जनताले दण्ड दिनसक्ने भयका कारणले पनि संशोधन हुनेछ ।
नेपालको अपूर्ण नक्सा संशोधन पछि नक्सा अध्यावधिक हुनेछ ।
जेठ २६ गतेपछि संघीय संसदमा यो प्रस्ताव छलफलमा आउनेछ र मतदानद्वारा दुई तिहाइले पारित हुनेछ । यसैगरी राष्ट्रियसभामा पनि दुई तिहाइले पारित भएपछि र सभामुखले प्रमाणिकरण गरेर राष्ट्रपति कार्यालय पठाउने र राष्ट्रपतिले लालमोहर लगाउनुहुनेछ र संविधान संशोधनको प्रकृया सम्पन्न हुनेछ । नेपालको जारी नक्सा र निशान छापको प्रक्रिया त्यसपछि पूर्ण हुनेछ । यही काम भारतलाई अपच भएको छ ।


