काठमाडौं । नेपाली सेनाको मोरल डाउन हुनेगरी हिन्दुस्तान टाइम्स र टीएफआई पोष्ट डटकमले अनेक कुप्रचार गरिरहेपछि नेपाली सेनाले मुख खोलेको छ– दुई भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र हो । नेपालले भारतलाई कालापानी अतिक्रमणको विरोध जनाइसकेको स्थिति र कालापानी क्षेत्र नेपालको नक्सामा सामेल गराइसकेपछि आक्रोसित भारतले राजनीतिक र कूटनीतिक माध्यम त्यागेर तर्साउने मनसायले सेनाध्यक्ष मनोज मुकुन्द नरभानेलाई लिपुलेकमा कुनै समस्या नभएको र सीमासम्बन्धी यो मुद्दा नेपालले कसैको इसारामा उठाएको दाबी गरेर बोल्न लगाएको थियो । उनको स्पष्ट इसारा चीनतिर थियो । यही सवालमा भारतीय सञ्चार माध्यमले अनुमानको भरमा प्रधानमन्त्री केपी ओलीले बोल्न भनेकोमा प्रधानसेनापति पूर्णचन्द्र थापाले बोल्न अस्वीकार गरेको प्रचार गरेको थियो । संविधानअनुसार चल्ने र व्यवसायिक नेपाली सेनामाथि भारतको दुरासयपूर्ण यो प्रापोगण्डा नभए के हो ?
नेपाली सेनाले भनेको छ– ‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पु¥याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।’ राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले यस प्रकारको अफवाह फैलाइएको निष्मर्षसमेत नेपाली सेनाले निकालेको छ ।
भारत वा कसैलाई पनि नेपाली सेनाबारे कुनै पनि द्विविधा बाँकी नरहोस् भनेर स्पष्ट पारेको छ– ‘नेपाली सेना नेपालको संविधान अनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहेको पनि जानकारी गराउन चाहन्छौं ।’ नेपाली सेनाले भावी दिनमा पनि यस प्रकारको अफवाह फैलाउने प्रयास हुनसक्ने बताएको छ ।


