Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

सुशीलदाको समेत पित्ले भुँडी

२५ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

सत्तामा रहेर भूकम्पपीडितलाई राहत र उद्धारमा हारेका प्रधानमन्त्री सुशील कोइरालाले बृद्धावस्थामा फुटबल खेल्ने रहर त गरे तर ३ गोल खाएर हारे। सुशील कोइरालाको राजनीति र खेलकुद दुबैतिरको खेलजीवन सकिएजस्तो छ। राष्ट्रपतिले फूटबल सुशील कोइरालाको हातमा हालिदिएपछि सुरु भएको २५ मिनेट सुशील कोइराला मैदानमा उत्रिए। जम्मा जम्मी ३ पटक बल छोए, सुट हान्न सकेनन्। हुन त सुशील कोइराला कोठे नेता हुन्। सार्वजनिक रुपमा सवाल जवाफ गर्ने ताकत छैन उनमा। उनको गुणात्मक पक्ष भनेकै अँध्यारो कोठामा गुट बलियो पार्नु र गुटबाजी राजनीति गर्नु हो। कांग्रेसमा अहिले पनि मानसिक रुपमा एकता नहुनुमा सुशील कोइराला नै जिम्मेवार छन्। आज पनि शेरबहादुर देउवा ६०–४० को सिद्धान्तअनुसार एकीकरण नभएको र आसन्न अधिवेशनमा सुशील पक्षले जिल्ला जिल्लामा झेल गरेर सक्रिय सदस्यता बितरण गरेको आरोप लगाइरहेको छ। सत्तामा बसेरै पार्टीको अधिवेशन हुने हो भने सुशील कोइरालाले जित्ने अनुमान गरिरहेका देउवा अधिवेशन अघि नै सत्ता परिवर्तन होस् भन्ने चाहिरहेका छन्।
जेहोस्, सत्ता परिवर्तन अघिको अन्तिम खेल खेलेको दावी गरिदैछ राजनीतिमा। भूकम्पको विपत्ति सामना गर्न एक भएर लाग्न नसकेका नेताहरुले फूटबल खेलमार्फत एक रहेको फोटोसम्म खिचाए। तर भित्रभित्रै प्रचण्ड केपी अेालीलाई प्रधानमन्त्री बनाउने गोप्य खेल खेलिरहेका छन् भने ओली प्रम सुशीललाई राजीनामा दिन दबाब सिर्जना गरिरहेका छन्। भूकम्पको विपत्ति सामना गर्न कतै पनि यी नेताहरु एक भएर लागेका छैनन्। यिनको 'अर्जुनदृष्टि' सत्तामा छ, सत्ता परिवर्तनमा छ, सत्ताको भागशान्तिमा छ। यिनीहरु जनताप्रति होइन, सत्ताप्रति जिम्मेवार देखिएका छन्। यो दृश्य गैरजिम्मेवारीको पराकाष्ठा हो। जब यी नेताहरु घरवासविहीन जनताको पूनर्स्थापना र नवनिर्माणको योजना बनाउन लाग्नुपर्थ्यो, भुँडी हल्लाएर समय खेर फालिरहेका छन्।